PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरोना संक्रमणमुक्त भए पनि असहज आँखाहरूले छोडेन



कोरोना संक्रमणमुक्त भए पनि असहज आँखाहरूले छोडेन
Illustration : BBC

  • सलिना उप्रेती

अहिले विश्वका अधिकांश देश ‘न्यू नर्मल’मा छन्। कोरोना भाइरसको संक्रमणका कारण नाक छोपिने गरिने मास्क लगाउनु बाध्यता बनेको छ। मानिसहरूसँग दूरी बनाएर बस्नुपर्ने अवस्था आएको छ। भ्याक्सिन पत्ता नलागेसम्म कोरोनासँग सतर्कता अपनाउँदै काममा फर्किनुबाहेक केही विकल्प छैन।

नेपालमा अहिले नै संक्रमण नियन्त्रणमा आउने सम्भावना छैन। त्यसैले म पनि न्यू नर्मलमा फर्किएँ। सुरक्षा सतर्कता अपनाउँदै घरदेखि कार्यालय जान आउन थालेँ। सुरक्षित भएर हिँड्ने सबै प्रयास गर्दागर्दै केही हप्ताअघि कोरोना भाइरसबाट संक्रमित भए म।

हरेक ठाउँमा निकै नै सतर्कता अपनाउँदा अपनाउँदै कसरी संक्रमणले छोयो थाहा छैन। मध्यम लक्षण देखिएपछि मैले कोरोना परीक्षणका लागि स्वाब दिएँ। रिर्पोट पोजिटभ आउँदा पत्याउनै सकिनँ। बेला-बेलामा हात धुने, छुट्टै रुमालको प्रयोग गर्ने, मास्क लगाई राख्ने इत्यादि सावधानी अपनाएकै हो। कसैसँग धेरै घुलमिल पनि थिएन। त्यसैले पहिलो रिपोर्ट प्रति मैले विश्वास गर्न सकिनँ। त्यसैले रिपोर्ट आएको दोस्रो दिन बुवालाई लिएर पाटन अस्पताल गएर फेरि परीक्षण गराएँ। कोरोना भाइरस शरीरभित्र पसेपछि विस्तारै हाम्रो बास्ना र स्वाद हराउँछ भन्ने सुनेको थिएँ। त्यसैले बास्ना आउने फूल सुँघ्ने प्रयास गरेँ। तर बास्ना आएन। छिटो-छिटो घर पुगेर पर्फ्यूम खोजेर सुघेँ। मैले पर्फ्यूमको बास्ना थाहा पाउन सकिनँ। रिपोर्ट पोजेटिभ आएको नतिजा स्विकार्न केही असहज भइरहेको बेला बास्ना थाहा नपाउने हुँदा मलाई कोरोना नै भयो भन्ने झैँ लाग्यो। पाटनमा गरेको परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै देखियो। केहीबेर आँसु थाम्न सकिनँ। डर कोरोनाको त थियो नै। त्योभन्दा ठूलो डर समाजको थियो।

भर्खर बिहे गरेकी म माइत आएकी थिएँ। संक्रमण पुष्टि भएपछि घर, परिवार र समाजमा कोरोना निको भएर फर्किँदा मलाई पहिला जस्तै अपनाउला कि अर्कै व्यवहार गर्ला भन्ने डर मनमा उब्जियो। अर्कोतिर उमेर ढल्किएको बुबालाई कतै यो रोग सार्छु कि भन्ने डर नि थियो। मलाई संक्रमण देखिएको केही दिनपछि बुवा र दाइले पनि परीक्षण गराउनु भयो। उहाँहरूको रिपोर्ट नेगेटिभ आउँदा मन ढुक्क भयो। हालसम्म मेरो परिवार र साथीभाइमा कोरोना संक्रमण लागेको कसैलाई थाहा थिएन। मलाई नै भाइरसले पहिलो सिकार बनाउँदा परिवार आत्तिनु स्वाभाविक नै थियो।

कोरोना लागेर घरमै आइसोलेसनमा बस्दा निडर भएर बुबाले नै स्याहार्नु भयो। नजिकै भए पनि अलि टाढा बस्नुपर्ने बाध्यता। त्यसैले मलाई एक्लोपन महसुस हुन नदिन बुवा धेरै समय म आइसोलेट भएर बसेको कोठाबाहिर उभिएर बोल्नुहुन्थ्यो। बुवाको ढाडसले मलाई निकै सहज बनायो।

कोरोना संक्रमण पुष्टि भएको केही दिनपछि श्वास फेर्न केही गाह्रो भएको जस्तै भयो। कसलाई भन्ने? डाक्टरहरू कोही सम्पर्कमा थिएनन्। वडाले दिएको डाक्टरको नम्बर सधैँ स्विच अफ। मेरो अवस्था देखेर बुबाले मलाई लसुनको पोटी दिएर मुखमा राख्न र घोप्टे परेर सुत्न भन्नुभयो। एकछिनपछि निकै सहज भयो। तर मन त हो। डर लाग्ने नै भयो। कहिलेकाहीँ त मर्छु नै होला भन्ने सोच समेत आयो। श्रीमानले मलाई हौसला दिइरहनुभयो। सञ्चो हुन्छौ केही हुन्न भनेर सम्झाउने प्रयास गरिरहनुभयो।

श्वास फेर्न गाह्रो भएको थाहा पाएपछि भोलिपल्ट उहाँले अक्सिजन सिलिन्डरको ग्यास बोकेर घर ल्याइदिनुभयो। टाढै बसेर केहीबेर कुरा गरेर उहाँ फर्किनुभयो। केही दिन गाह्रो भएको समयमा अक्सिजन लगाएँ। खाना, तातो पानी पिएँ। विस्तारै परिवारको साथ र आफ्नोपनले कोरोना जित्न सक्छु भनेर आत्मबल बढ्यो। होम आइसोलेसनमा १४ दिन यसै बित्यो।

१४ दिन पछि परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आउँछ भन्नेमा विश्वस्त थिएँ। हल्का खोकी र थकान बाँकी थियो। तर रिपोर्ट फेरि पोजेटिभ नै आयो।

बिहानसम्म फुर्तिलो भएकी म बेलुका रिपोर्ट पोजेटिभ आएपछि फेरि आत्तिएँ। सिटी भ्यालु अझै कम थियो। त्यसैले स्वास्थ्यमा थप ध्यान दिनु भनेर साथीहरूले सल्लाह दिए।

दशैँ नजिकिँदै थियो। म भने होम आइसोलेसनमा। यसपटक दशैँमा परिवारसँगै बस्न रमाउन नपाउने हो कि भन्ने लागिरह्यो। तेस्रोपटक फेरि पीसीआर परीक्षण गराएँ। नवमीको दिन रिपोर्ट नेगेटिभ आयो। मैले राहतको श्वास फेरेँ। २३ दिनपछि घरबाहिर निस्किन्छु भनेर मनमनै खुसी भएँ। त्यस दिन बुवासँगै बैठक कोठामा बसेर कुरा गरेँ।

बुवाले त सँगै राखेर बोल्नुभयो। तर बाहिर निस्कँदा समाजले मलाई कस्तो नजरले हेर्ला भन्ने प्रश्न मनमा खेलिनै रह्यो। किनभने संक्रमण मुक्त भएर ठिक भएका व्यक्तिलाई पनि नकारात्मक दृष्टिकोणले हेर्नेबारे सुनेको थिएँ।

संक्रमणमुक्त भएर घरबाट बाहिरिएपछि पनि म ७ दिनसम्म परिवारसँग धेरै घुलमिल भइन। विजया दशमीको दिन भने परिवारसँगै बसेर टीका लगाएँ। घर, माइती, मामाघर सबै ठाउँमा सतर्कताका साथ टीका लगाउन गयौँ। करिब १ महिनापछि जीवनमा केही रमाइलो भयो।

कोरोना संक्रमण मुक्त भएपछि पनि केही लक्षण अझै बाँकी थियो। खोकी र थकानले केही दिनसम्म गाह्रो बनाइरह्यो। मनमा प्रश्न खेल्न बन्द भएन। घरमा पनि सिलिन्डर मगाए। त्यसो गर्दा भने बुवाको गाली खाएँ।

‘आफूलाई गाह्रो हुने काम आफैँ गर्छेस्, सञ्चो नभएको भए नगाको भए पनि हुन्थ्यो’ भन्ने वाक्यले मलाई निकै छोयो। बुवाको माया। तर फर्किनु त थियो नै। न्यू नमर्लमा फर्किएर काममा अघि त बढ्नु थियो नै।

++

अहिले कोरोनाले काठमाडौँलाई ढपक्क ढाकेको छ। संक्रमित दिनप्रतिदिन बढ्दै छन्। संक्रमणसँगै समाजको प्रश्न पनि बढ्दो छ। केहीले त अवहेलना नै खेप्नु परेको छ। कोरोना संक्रमण भएको समयमा संक्रमित आफैँसँगै शारीरिक र मानसिक द्वन्द्व खेलिरहेको हुन्छ। कसैको सानो साथ भए संक्रमणलाई जित्न सकिन्छ भनेर मनोबल बढाउन सकिन्छ। तर यहाँ भने अझै संक्रमणमुक्त भएर बाहिरिँदा पनि घुरेर हेर्ने प्रवृत्ति छ। संक्रमितकै नजरले हेर्छ। जसले मेरो परिवारलाई असर गरेको हुन सक्ने मैले महसुस गरेको छु।

घरमा सबैको प्रेम पाएकै छु। तर उनीहरुको आँखामा अझै केही असहजता भने मैले देखेको छु। असहजता समाजको, कसले के भन्लान् भन्ने को। संक्रमण फैलिन सक्छ भन्ने समाजको भ्रमको।

म आइसोलेसनमा बसेको बेला आत्मबल बढाउनुपर्छ, नकारात्मक सोच आउन दिन हुँदैन भनेर भन्नेहरु नै अहिले मेरो अघि आउन नचाहेको मैले महसुस गरेको छु। आइसोलेसनमा भएको बेला म आफैँसँग लड्दै बसेँ। मेरो अघि त केही बोल्दैनन्। तर उनीहरूको हाउभाउले मलाई निकै असहज महसुस गराइरहेको हुन्छ।

हरिवंश आचार्यलाई त कोरोनामुक्त भएर किनमेलका लागि मार्ट जाँदा मानिसहरूले शंकाको नजरले हेरेर असहज भएको भन्ने लेख पढ्दा मलाई मसँग भइरहेको यस्तो भेदभाव कुनै नौलो  लागेन। तर कोरोनाले दिएको पीडाभन्दा मानिसहरूले महसुस गराएको असहजताले निकै मानसिक तनाव थपिँदो रहेछ।

यो समय फलानो र ढिस्कानोलाई कोरोना लाग्यो भनेर ‘छि छि दूर दूर’गर्ने होइन। संक्रमितलाई शंकाको दृष्टिले हेर्ने बेला नि होइन। किनभने अहिले कोरोना हामीबीच नै छ। जो कसैलाई पनि कोरोना लागेको हुनसक्छ। आउने दिनमा लाग्न सक्छ। प्रश्न गर्नेहरूलाई नै कोरोना लाग्न सक्छ। त्यसैले कोरोना पोजेटिभ भए पनि नेगेटिभ भए पनि संक्रमितहरुलाई हेर्ने नजर सकारात्मक हुनुपर्छ। संक्रमितहरुलाई दोषी नजरले हेर्नुभन्दा कसरी आफू संक्रमणबाट जोगिन सकिन्छ भन्ने कुरामा समाजको ध्यान जानु आवश्यक छ।

आज म संक्रमित भएँ। भोलि तपाईँ पनि हुन सक्नुहुन्छ। त्यसैले कसैलाई पनि असहजता महसुस हुने व्यवहार नगर्न म अनुरोध गर्छु। डराउनु राम्रो हो। तर मान्छेसँग डराउने होइन। मसँग नि डराउने होइन। कोरोनासँग डराउनुस्। आफू र आफ्नो परिवारलाई संक्रमित हुनबाट जोगाउनुस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell