
जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका छन्। अमेरिकी राष्ट्रपतिका लागि ५९ औं पटक भएको निर्वाचनमा बाइडेनले रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पलाई पराजित गरी चार वर्षका लागि ह्वाइट हाउसको यात्रा तय गरेका हुन्। बाइडेनले राष्ट्रपतिमा निर्वाचित हुनका लागि आवश्यक २७० इलेक्ट्रोल मत कटाउँदै आफ्नो जित सुनिश्चित गरेका हुन्। जनवरी २०, २०२१ मा उनले अमेरिकी राष्ट्रपतिको पदको शपथ लिनेछन्।
पार्टीमै पाका
नोभेम्बर २०, १९४२ मा अमेरिकाको पेन्सलभानियामा जन्मेका बाइडेन केही दिनमै आफ्नो ७८ औं जन्मदिन मनाउँदैछन्। अमेरिकी मिडियाहरुमा प्रकाशित रिपोर्टलाई मान्ने हो भने बाइडेन अहिलेसम्मकै पाका उमेरका व्यक्ति हुन् जो अमेरिकी राष्ट्रपति बन्दैछन्। यसो त यसपटक बाइडेनलाई युवाहरुको मत अधिक खसेको बताइन्छ।
डेमोक्रेट्स पार्टीमा रहेर वर्षौ काम गरेका बाइडेनले यसअघि राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति भएर काम गरेका थिए। पार्टीमा पाका भएकाले उनलाई सबैले 'अंकल जो' भनी सम्बोधन गर्ने गरेको भ्वाइस् अफ अमेरिकाले उल्लेख गरेको छ।
उनको पुरा नाम जोसेफ रोबिनेट बाइडेन जुनियर हो। धर्मले क्याथोलिक उनी अमेरिकी इतिहासमा दोस्रो क्याथोलिक राष्ट्रपति बन्दैछन्। जोले मात्र हैन उनीसँगै उपराष्ट्रपति पदका लागि खडा भएकी कमला ह्यारिसको जितले पनि इतिहास रचेको छ। अश्वेत र दक्षिण एसियाली महिला अमेरिकाको शक्तिशाली पदमा निर्वाचित भएको यो पहिलोपटक हो।
तीन पटकको प्रयासमा राष्ट्रपति
पार्टीमा पाका व्यक्ति भए पनि राष्ट्रपतिको नोमिनी बन्न बाइडेनले पटकपटक पापड बेल्नु परेको थियो। डेलावेयरबाट ६ पटक सिनेटर बनेका उनले सन् १९८७ देखि नै राष्ट्रपति पदमा आफ्नो दाबी गर्दै आएका थिए। तर, पार्टीको दबावमा उनले पहिलो दाबी फिर्ता लिन बाध्य भए। यसो त उनलाई साहित्यिक चोरीको आरोप लागेकोले पनि पछि हट्न बाध्य भएको बताइन्छ। त्यतिबेला उनलाई बेलायती राजनीतिज्ञ नील किनकको भाषण चोरेको आरोप लागेको थियो।
त्यसैगरी उनले सन् २००८ मा पनि राष्ट्रपतिको नोमिन बन्नका लागि प्रयास गरेका थिए। त्यतिबेला उनले बाराक ओबामालाई समर्थन गर्दै आफ्नो दौड रोके। त्यसपछि उनी दुई कार्यकाल अमेरिकी उपराष्ट्रपति बने। २०१६ मा भने हिलारी क्लिन्टनको पक्षमा उनले राष्ट्रपतिको नोमिनी दाबी गरेनन्।
पारिवारिक पृष्ठभूमि
बाइडेन वकिल र शिक्षकसमेत रहे। सन् १९७२ मा सिनेटरमा चुनिएको केही हप्तामै पहिलो उनकी श्रीमती नेलिया र छोरी नाओमीको कार दुर्घटनामा मृत्यु भयो भने दुई छोरा बो र हन्टर घाइते भए।
सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्कमा ट्यूमरका कारण उनका छोरा बो बाइडेनको मृत्यु भयो। उनका अर्का छोरा हन्टर वकिल भए पनि भ्रष्टाचारको आरोप भने खेपिरहेका छन्।
उनको दोस्रो श्रीमती जिल हुन्। जिलले बाइडेनसँगै पहिलो महिलाको रुपमा ह्वाइट हाउस प्रवेश गर्दैछिन्। जिलबाट उनीहरुको एक छोरी रहेका छन्।
बाइडेनलाई लाग्ने आरोप
जो बाइडेन प्रखरवक्ता हुन्। मतदातालाई आकर्षण गर्न सक्छन्। अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि पनि उनले आफ्ना विपक्षीलाई शत्रुका रुपमा नहेर्न आग्रह गरेका छन्। उनले सबैलाई एकले अर्कोको कुरा सुन्ने बेला भएकोले सबै एक ढिक्का हुनुपर्ने बताएका हुन्। बेलाबेला उनी भाषणमा चिप्लिन्छन् पनि। तर, अबका दिनमा आफूले यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता उनले जाहेर गरेका छन्।
यसो त गतवर्षमात्र उनलाई केही महिलाहरुले यौन दुर्व्यवहारको आरोप लगाएका थिए। आठ महिलाले उनलाई अनुचित तवरले स्पर्श गरेको आरोप लगाए पनि बाइडेनले ती आरोप अस्वीकार गर्दै आएका छन्। तारा रिड नामकी महिलाले भने आफूलाई बाइडेनले धेरै पटक दुर्व्यवहार गर्ने गरेको आरोप लगाएकी छिन्।