PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पछिल्लो हप्ता कोरोना संक्रमितको मृत्यु बढ्दो : दशैंपछिमात्रै २४६ जनाको ज्यान गयो, संक्रमित संख्या दुई लाख नजिक



पछिल्लो हप्ता कोरोना संक्रमितको मृत्यु बढ्दो : दशैंपछिमात्रै २४६ जनाको ज्यान गयो, संक्रमित संख्या दुई लाख नजिक
फोटो : रासस

काठमाडौं : कोभिड-१९ संक्रमणका कारण पछिल्लो दिनमा मृत्यु हुनेको संख्या उकालोतिर लागेको छ। दशैंलगत्तैको पछिल्ला १३ दिनमा २४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ।

यो संगै नेपालमा कोभिड-१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार १०८ पुगेको छ।

आइतवार २१ जना कोरोना संक्रमितको मृत्यु भयो भने शनिवार १७ जना र शुक्रवार १८ जनाको मृत्यु भयो।

कात्तिक ११ गते १४ जनाको मृत्यु भएको थियो। १२ गते ११ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। त्यसयता भने दैनिक मृत्यु संख्या उकालो लागेको देखिन्छ।

कात्तिक १३ गते १७ जना कोरोना संक्रमितको मृत्यु भएको देखिन्छ। त्यसैगरी कात्तिक १४ गते १६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।

कोभिड संक्रमणले पछिल्लो एक हप्तामा मात्र १४८ जनाको मृत्यु भयो। १९ गते बुधवार एकै दिन ३० जनाको मृत्यु भयो। संक्रमणबाट मृत्यु हुने ग्राफ पछिल्लो समय बढ्दो छ। समुदायस्तरमा कोरोना संक्रमण फैलानु, संक्रमित नखुल्नु, व्यवस्थित आइसोलेसन नहुनाले पनि मृत्युदर बढिरहेको बताइन्छ।

हाल देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित रहेका छन्। एक लाख ९४ हजार ४५३ जनालाई कोभिड-१९ संक्रमण हुँदा एक लाख ५७ हजार ९२६ भने संक्रमण मुक्त भइसकेका छन्।

आइतवार दुई हजार ८१७ जना नयाँ संक्रमित पहिचान भएको थियो। स्वास्थ्य मन्त्रालयले हाल ३५ हजार ४१९ जना आइसोलेसनमा भएको जनाएको छ भने ११५९ जना क्वारेन्टाइनमा रहेको जनाएको छ।

बढी सक्रिय संक्रमित काठमाडौंमा

सबैभन्दा बढी सक्रिय संक्रमित काठमाडौंमा रहेका छन्। मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा पछिल्लो अपडेटअनुसार १५ हजार ५२२ जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म काठमाडौं जिल्लामा संक्रमणका कारण २७२ जनाको मृत्यु भएको छ। यता भक्तपुरमा ११२९ जना सक्रिय संक्रमित रहेका छन्। यहाँ कोरोना संक्रमणका कारण ७१ जनाको मृत्यु भइसकेको छ।

ललितपुरमा २२०५ जना सक्रिय संक्रमित रहेका छन्। कोरोना संक्रमणका कारण ललितपुरमा ६७ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell