
जनकपुरधाम : सप्तरीमा लागुऔषधसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर २ फत्तेपुरका ३५ वर्षीय ब्रिटिस थापा मगर र सप्तकोशी नगरपालिका वडा नम्बर १ का ३० वर्षीय भूमीराज थापालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो।
भारतबाट लागुऔषध ल्याउँदै गरेको अवस्थामा हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ स्थित रम्पुरा मल्हनियाँबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए। पक्राउ परेका दुवै जनाको साथबाट उनीहरु सवार स ८ प ९०९५ नम्बरको मोटरसाइकल, डाइजील्याब ५० एम्पुल, फेनारगन ५० एम्पुल र लुपिजेसिक ५० एम्पुल बरामद भएको प्रबक्ता साहले जानकारी दिए।
उनीहरुको साथबाट ७० हजार रुपैयाँ नगद समेत बरामद भएको साहले बताए। पक्राउ परेका दुवै जनाविरुद्व लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।