PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

प्रदेश २ कोरोना अपडेट : थपिए ४६ संक्रमित, ९८ जना डिस्चार्ज, १ जनाको मृत्यु



सुमित मिश्र

प्रदेश २ कोरोना अपडेट : थपिए ४६ संक्रमित, ९८ जना डिस्चार्ज, १ जनाको मृत्यु

जनकपुरधाम : प्रदेश २ मा सोमवार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, गौर अस्पताल रौतहट र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा ९ महिला र ३७ पुरुष गरी ४६ जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का जनुस्वास्थ्य अधिकृत विपिन कुमार यादवले जानकारी दिए।

सोमवार प्रदेशको सप्तरी जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। सप्तरीमा ६ महिला र ८ पुरुष गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै धनुषामा १ महिला र ८ पुरुष गरी ९ जना, सिरहामा १ महिला र ६ पुरुष गरी ७ जना, पर्सामा १ महिला र ५ पुरुष गरी ६ जना, महोत्तरीमा ३ जना पुरुष, बारा र सर्लाहीमा २/२ जना पुरुष, रौतहटमा १ जना पुरुष र अन्य प्रदेशका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि यादवले जानकारी दिए।

यस्तै, सोमवार प्रदेशमा १७ जना महिला र ८१ जना पुरुष गरी कुल ९८ जना कोभिड १९ संक्रमणबाट निको भएर घर फर्केका छन्। योसँगै प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या १४ हजार ९सय ८ पुगेको छ।

थप एक जनाको मृत्यु

प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। सोमवार सिरहाको मिरचैया नगरपालिका वडा नम्बर १ मा घर भएका ६५ वर्षीय पुरुषको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यससँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८१ पुगेको छ। हालसम्म सबैभन्दा बढी प्रदेशको पर्सा जिल्लाका ५० जनाको केभिड १९ संक्रमणका कारण मृत्यु भएको छ।

यस्तै, सप्तरीमा ३१ जना, सिरहामा २१ जना, बारा र धनुषामा १९/१९ जना, महोत्तरीमा १७ जना, सर्लाहीमा १३ जना, रौतहटमा १० जना र १ जना भारतीय नागरिकको कोरोनाको कारण ज्यान गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell