PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

डिभोर्स एक मोड जहाँ चरित्रको प्रश्नभन्दा माथि बन्छ स्वतन्त्रता



स्वेच्छा राउत

डिभोर्स एक मोड जहाँ चरित्रको प्रश्नभन्दा माथि बन्छ स्वतन्त्रता

डोनाल्ड ट्रम्प हारे। उनी हार्नुपर्ने कारणबारे विश्लेषण छापिए। विश्वका ठूला मिडियादेखि सामाजिक सञ्जालहरूमा, ट्रम्प प्रवृत्तीको समर्थन कम, विरोध ज्‍यादा देखियो।

विरोध गर्नेहरूमध्ये एक थिए साझा पार्टी संयोजक रवीन्द्र मिश्र। उनले ट्रम्प र वाइडेनबीच कडा प्रतिस्पर्धा हुनुलाई 'अचम्म'को संज्ञा दिए। ट्रम्प वाइडेन बराबर नहुनुपर्ने कारणहरूको सूची ट्वीट गरे। जसमध्य एक थियो – ट्रम्पकोदुई महिलासँग डिभोर्स हुनु।

उक्त ट्वीट पढेपछि विश्वास गर्न गाह्रो भयो। तर, पनि प्यारोडी अकाउन्ट पो हो कि? भन्ने शंकामा प्रोफाइल खोलेँ। होइन,रवीन्द्र मिश्रकै अकाउन्ट रहेछ।

मानभवनस्थित एउटा क्याफेमा थिएँ त्यतिखेर। टाइमलाइन स्क्रोल गर्दैगर्दा मिश्रको ट्वीट पढिसकेपछि दिमागमा प्रश्न खेल्यो, ओठमा हाँसो।

सँगै थिइन् आकांक्षा गुरुङ।

सोधिन्,'किन हाँसेको?'

उनलाई कारण बताइँन। डिभोर्सकै कारण भारतबाट नेपाल आएकी उनलाई भन्न सकिँन –हाम्रो देशका राजनीतिज्ञ महाअभियोग, यौन दुर्व्यवहारको आरोप र डिभोर्सलाई एउटै तखतामा राखेर हेर्छन्। मिश्रहरू त्यो कलंकरहित समाज निर्माणको भाषण गर्दैछन् जहाँ उनीजस्ता आकांक्षाहरू सम्बन्ध विच्छेद पछि पनि सम्मानित जीवन जिउन पाउनेछन्।

उनलाई आफू हाँस्नुको कारण ढाटेँ– एकजना नेताले ट्‍वीट गरेका रहेछन्। तथ्याङ्कको स्रोत 'द न्यूयोर्कर' हुनुपर्नेमा'न्यूयोर्क टाइम्स' लेखेछन्।

आकांक्षा मसँगै हाँसिन्। उनी रवीन्द्र मिश्र चिन्दिनन्। उनले के लेखे त्यो पनि थाहा छैन। तर,उनी स-साना कुराहरूमा रमाउन सिक्दैछिन्। सम्बन्ध विच्छेदपछि खुशीछिन् उनी।

‌‌+++

आकांक्षा गुरुङ नेपाली भाषी भारतीय हुन्। हिन्दु धर्म र परम्परा अंगालेको परिवारमा हुर्किएकी उनी भारतकै मुस्लिम केटासँग प्रेममा परिन्। ती युवा उमेरले आकांक्षा भन्दा ६ वर्ष कान्छा थिए। उनीहरूले जात, धर्म, भाषा र उमेरका बारेमा सोचेनन्। सम्बन्धमा रहे।

त्यो सम्बन्ध दुवैको परिवारका लागि सहजै स्वीकार्य थिएन। दश वर्ष लाग्यो विवाहका लागि मनाउन। त्यतिन्जेल आकांक्षा जिल्ला अदालतमा वकालत गर्ने भइसकेकी थिइन्। उनका प्रेमी व्यवसायी।

आत्मनिर्भर छोरीको जिन्दगी सधैं आफ्नो नियन्त्रणमा नहुने बुझे उनका आमाबुबाले। धुमधामसँग विवाह गराए। कुरा काट्नेहरूका बारेमा सोचेनन्। गोर्खाली परम्परा नासेको आरोप लगाउनेहरूलाई जवाफ दिन पनि उचित ठानेनन्।

दुवैले प्रेमका लागि गरेको संघर्ष, त्याग र पर्खाइको तारिफ गर्नेहरू पनि थिए। आकांक्षा र उनको श्रीमान खुशी थिए।

विवाह भएको ठीक दुई महिनापछि आकांक्षामाथि उनका श्रीमानले पहिलो पटक हात उठाए। त्यसलाई क्षणिक आवेग मानिन्। त्यसपछि आवेगको श्रृङ्खला टुंगिएन। हरेक महिना, हरेक साता अनि हरेक दिन झनझन् बढ्यो। सक्दो रोकिन्‍, छेकिन्, सहिन्। जे भोग्दै थिइन् त्यसलाई दैलोभन्दा बाहिर कहिल्यै निकालिनन्।

उनलाई समाजको डर थिएन। डर हुन्थ्यो भने विवाह नै गर्दिन थिइन्।

तर, आफ्नै खुशीका लागि बुबाआमाको कुरा काटिन्। अब आफ्नै कारण बुबाआमालाई खिसीटिउरी गर्नेहरूको भय थियो। आफू त प्रश्नहरूको सामना गर्न सक्थिन्। उमेर ढल्केका आमाबुबालाई तनाव दिन चाहिनन्। त्यसैले चुपचाप अघि बढिन्।

दिनभर अदालतमा सम्बन्ध बिग्रेर आएकाहरूको कुरा सुन्थिन्। सल्लाह-सुझाव दिन्थिन्। धेरैको मेलमिलाप गराइन्। कतिका लागि न्याय र अधिकार दिलाउन लडिन्।

अन्तत: घर फर्किएपछि उनलाई ठूलो स्वरमा बोल्न निषेध। कहिले काहीँ चर्को स्वरमा आफ्नो कुरा राख्दा सहनु पर्ने शारीरिक यातना! उनको प्रेमी विवाहपछि श्रीमान होइन पीडकमा परिणत भए। जात, धर्म, भाषा र उमेरले फरक उनीहरूको योजना र उद्देश्यहरू पनि फरक बन्यो। एउटै घरमा बसे तर कोठा एउटै रहेन। उनीहरू भावनात्मक, शारीरिक र मानसिक रुपमा त्यो जोडी रहेनन् जसले प्रेमका लागि समाज र परम्पराको अघिल्तिर घुँडा टेकेनन्।

श्रीमानको बिहेइतर सम्बन्धबारे थाहा पाउँदापाउँदै चुप रहिन् उनी। सुरुवाती वर्षहरूमा बुबाआमाको बारेमा सोचिन्। बिस्तारै ठीक होला भन्ने आशा राखिन्। पर्खिइन्। तर उल्टै उनलाई पो पहरेदारीमा राख्न थालियो। साथीभाइ र माइती भेट्नु, रमाउनु परको कुरा, फोनमार्फत् समेत सम्पर्क राख्न समेत दिइएन।

घुमफिरमा रोक्। सामाजिक सञ्जालमा नियन्त्रण। नेपाली भाषा बोल्नसमेत प्रतिबन्ध।

दवावै दवावका बीच ९ वर्ष बिताइन्। गत जनवरीको एकदिन उनको घाँटी न्याकियो। यातनका कारण खोज्न छाडिसकेकी थिइन् उनले। त्यसदिन समस्याहरूको गुजुल्टो फुकाउनतिर लागिनन्। आफ्नो सामान लिएर प्रहरीकहाँ पुगिन्। घरेलु हिंसाको उजुरी दिइन् र हान्निइन् नेपाल – बाँच्नका लागि।

नेपाल आएपछि यतैबाट डिभोर्सको प्रक्रिया अघि बढाइन्।

यहाँ जीवनलाई जराबाट सुरु गरेकी छिन् आकांक्षाले। नाम चलेको निर्माण कम्पनीमा काम सुरु गरेकी छिन्। यहाँ उनलाई खुशी भएर बाँच्ने छुट छ। साथीभाइ र परिवारसँग बोल्ने छुट छ। घुम्न, रमाउन स्वतन्त्र छिन्‍।

तर, नौ वर्ष उनले जुन तनाव झेलिन्। त्यसको असर कहाँ टुंगिनु?

‘कहाँ गइस्? के गर्दै छस्? कोसँग छस्? कतिखेर फर्कन्छस्? भन्ने मान्छे नहुँदा त डर लाग्ने रैछ। यो स्वतन्त्रतालाई कसरी प्रयोग गर्ने नै थाहा पाइनँ मैले त। कसरी बाहिर निस्कुँ यो 'ट्रमा'बाट?’

आकांक्षाले एकै सासमा सुनाएको कुराले हो मलाई झस्काएको अनि पटकपटक उनीसम्म पुर्‍याएको। केही नसकेपनि सँगै भइदिन सक्छु। कुरा सुनिदिन सक्छु। बिरानो ठाउँमा उनका लागि कोही भइदिन सक्छु।

अहिले उनलाई कसैसँग बोल्न, समय बिताउन रोक्ने कोही छैन। तर, उनी स्वयं कुराकानी दुई मिनेटभन्दा बढी लम्ब्याउनै सक्दिनन्। श्रीमानसँग सम्बन्ध तोड्नुले राहत त दिएको छ तर त्यो विच्छेदको कारण सोध्नेहरू, 'डिभोर्सी' भनेपछि आउने प्रतिक्रिया र फेरिने व्यवहारले उनलाई गाह्रो बनाउँछ।

सोच्छु – केही अघि नै उनले हिंस्रक पतिलाई त्यागेको भए सायद उनको 'ट्रमा' कम हुने थियो।

अनि तमाम समस्याहरूसँग एक्लै लडिरहेकी आकांक्षालाई रवीन्द्र मिश्रको ट्वीट देखाउने साहस कसरी राखुँ?

'देशमा सम्वृद्धि ल्याउन। व्यक्ति बन्ने तर देश नबन्ने स्थितिको अन्त्य गर्न' राजनीतिमा होमिएका एक वजनदार व्यक्तिको त्यति हल्का टिप्पणी।

म आफै अन्यौलमा परेँ।

डिभोर्सलाई अपराध सरह मान्ने व्यक्तिलाई,'बंगलादेशमा नेपाली छात्राले पढाईको प्रमाणपत्रको सट्टा आफैलाई बेच्नुपर्छ रे!' भन्दै सार्वजनिक मन्तव्य दिने शेरबहादुर तामाङ लगायत नेताहरूको विकल्प कसरी मान्नु?

‌‌‌+++

यहाँ रवीन्द्र मिश्रको दृष्टिकोण उदाहरण मात्र हो। यो उदाहरणले व्यक्‍ति होइन प्रवृत्ती झल्काउँछ। जसले यस्तो अभिव्यक्ति जानेर या अन्जानमै प्रवाह गरिरहेको हुन्छ। त्यो प्रवृत्ती वैवाहिक सम्बन्धलाई 'सात जन्मको बन्धन' मान्छ। आगो साक्षी राखेर जोडेको सम्बन्ध टुट्नु हुँदैन भन्छ। भलै वैवाहिक जीवन जतिसुकै अस्वस्थ र कष्टकर किन नहोस्?

त्याग गर्नु,सहनु, दु:खी हुनु तर डिभोर्स नगर्नु किनकि विवाह भनेकै सम्झौता हो भन्ने बुझाइ राख्छ यस्ता प्रवृत्तीले। जग्गाको कित्ता नमिल्दा दाजुभाइ छुट्टिनु ठीक। समय नमिलेकै कारण उमेर ढल्केका बाआमाको भान्सा अलग्गाइ दिँदा पनि ठीक। तर, जस्तो सुकै परिस्थितिमा पनि श्रीमान श्रीमती चाहिँ सँगै हुनुपर्‍यो। उनीहरू एकअर्कासँग नबोले पनि हुने। सम्बन्धमा आइरहेको दरार, त्यसले परिवारमा पारेको असरबारे छलफल नगर्दा पनि ठीकै छ। एकअर्काले देख्दैमा रीस उठे, बरुहेर्दै नहेर्ने। सम्मान, साथ, सहयोग गर्न नसके ढाँट्ने अनिछल्ने। बिहेइतर सम्बन्धलाई समेत सामान्यकरण गर्दै'बन्धन' जोगाउन सुझाउँछ समाज।

यिनै कारणबस् कोही छुट्टिए इज्जत बाँकी रहँदैन भन्ने सोच जकडिएको छ। सम्बन्ध विच्छेद गर्ने व्यक्‍तिको चरित्रमा प्रश्न गरिन्‍छ। यहाँ चरित्रको परिभाषा त्यस व्यक्तिको जीवन कुन विचार सहित अघि बढेको छ, उ के काम गर्छ वा समाजमा कस्तो योगदान पुर्‍याएको छ, उसले संसारलाई हेर्ने दृष्टिकोण कस्तो छ भन्ने होइन। चरित्रलाई यौन र यौनिकतासँग जोडिन्छ। प्रश्न गरिन्छ।ती प्रश्नको जवाफदेहिता महिलामा मात्र खोजिन्छ।

डोनाल्ड ट्रप्पको दुई जनासँग डिभोर्स भएकै कारण उनी राष्ट्रपति बन्न अयोग्य ठान्ने समाजमा महिलालाई झन् कसरी हेरिएला? जवाफ प्रष्ट छ – त्यसको चरित्रै ठीक थिएन। आखिर विवाह, सम्बन्ध, परिवारसँग जोडिएका अनेक मूल्य मान्‍यताहरू पुरुष सत्ता जोगाउन केन्द्रित छन्। ती मान्यताहरूले महिलाले सम्बन्ध विच्छेदका लागि अग्रसरता देखाउँदा कसरी स्वीकार्न सकोस्?

प्रश्न गर्नेहरू बुझ्दैनन् – जहाँ रहेर आफ्नो मानसिक स्वास्थ्य, खुशी, रहर र भविष्य जोगाउन सकिँदैन त्यसलाई घर कसरी मान्ने? कसका लागि जोगाउने? दम्पत्ती बीचको मतभेद, महत्ताहीन सम्बन्ध, भावनात्मक दुरीबीच सिर्जित वातावरणले त हुर्कँदै गरेका छोराछोरीमा समेत राम्रो प्रभाव पार्दैन।

समाज बुझ्दैन – डिभोर्स क्षणिक आवेगको नजिता होइन। यो प्रक्रियागत् निर्णय हो। जुन निर्णय लिनुअघि डिभोर्समा संलग्न दुवै वा एक व्यक्तिले आफ्नो र सम्बन्धको विश्लेषण गरेको हुन्छ।

विवाहका लागि मानिसले सजिलै निर्णय लिँदैन। तर, जस्तो सोचेको हुन्छ त्यस्तो भएन भने? नहुनुका कारण के? कति खुशी हुनसकेँ? रहरहरू कति दबाउनु पर्‍यो? केके त्याग्नु पर्‍यो? भन्नेबारे सोचेको हुन्छ। कति पाएँ, कति गुमाएँ हिसाब गर्छ। सकेसम्म सम्बन्धलाई स्वस्थ बनाउन कोसिस गर्छ। कोसिस गर्दागर्दै कुरा नमिल्नुले त्यहाँ पुर्‍याउँछ जहाँ पुगेर मानिस आफ्नो खुशी र समाजको प्रश्नमध्ये एउटा बाटो रोज्छ।

जसले खुशी रोज्छ उसका लागि सम्बन्ध विच्छेद नै विकल्‍प बन्छ। उसका लागि चरित्रमाथिको प्रश्नभन्दा माथि बन्छ स्वतन्त्रता।

समाजसँग डराउनेहरू चुप बस्छन्। सहनशीलको तक्मा भिर्छन्। घर गरिखाएकोमा तारिफ पाउँछन्। त्यो अवस्थामा सायदै कोही रमाएको हुन्छ।

+++

श्रीमती गीता ढकालको हत्या गरेका पूर्व डीआइजी रञ्जन कोइराला जेलमुक्त भए। सर्वोच्च अदालतले उनको कैद सजाय घटाएपछि करिब ९ वर्षअघिको उक्त घटना पुन: बहसको विषय बन्यो।

पीडित परिवारले भोगेको अन्यायविरुद्ध मानिस बोले। कोइरालाको पद र पैसामा न्याय बिकेको आरोप चर्कियो।

गीता ढकालका बुबा हरेराम र आमा हरिप्रिया ढकालको भने घाउ बल्झियो। न्यायप्रणाली माथिको विश्वास बाँकी नरहेपछि हरिप्रियाले भनेकी थिइन् – 'बरु बेलैमा डिभोर्स गरेको भए आज मेरी छोरी जिउँदै हुन्थी।'

गीता ढकाल पढेकी थिइन्। आत्मनिर्भर पनि। भारतबाट कस्मेटिक सामान ल्याइ काठमाडौंमा व्यापार गर्थिन्। कमाउँथिन्। रञ्जन कोइरालासँग खटपट सुरु भएपछि अलग्गै बस्न थालेकी पनि हुन्। उनलाई श्रीमानको बिहेइतरको सम्बन्धबारे समेत थाहा थियो। तर, सम्बन्ध विच्छेदसँग तर्सिइन्। सम्झौतामा जीवन अघि बढाइरहिन्। जसको नतिजाले उनलाई मृत्युसम्मै डोहोर्‍यायो।

'अरुले के भन्लान् भन्दाभन्दै मारिदियो,' हरिप्रियाले भनेकी थिइन्, 'डिभोर्स नै गरेको भएपनि एक्लो हुने थिइन। हामी थियौं नि उसका लागि।'

सबैको परिवारले वा आफन्तले 'हामी थियौं' भन्नुपूर्व 'हामी छौं' भन्नसके? सायदै कुनै अस्वस्थ वैवाहिक जोडीको सम्बन्ध मृत्युमा पुगेर टुंगिन्थ्यो। इज्जत जोगाउन खोज्दाखोज्दै जीवन गुमाउनु पर्दैनथ्यो। सम्बन्ध विच्छेदलाई सामान्य सामाजिक/कानूनी प्रक्रियाका रुपमा स्वीकारिन्थ्यो।

तर, सम्बन्ध विच्छेदले मानिसलाई एक्लो बनाउँछ भन्ने विश्वास स्थापित छ। त्यो अवस्थामा परिवार, आफन्त समेत 'म छु' वा 'हामी छौं' भन्दैनन्। सोधिन्छ 'एक्लिएर के गर्छस्?' 'कसरी जीवन चलाउँछस्?'

भनिँदैन – डिभोर्स सम्बन्धको एउटा चरणको मात्र अन्त्य हो। त्यो अन्त्य दु:खद् वा तनावग्रस्तै हुनुपर्छ भन्ने छैन।

कुनै सम्बन्धमा रहँदा व्यक्ति विशेषलाई आफूमा कुनै किसिमको विकास नभएको, आड, भरोसा नमिलेको महसुस हुनसक्छ। समयसँगै एक्लो जिम्मेवारी बढ्दा बाँधिएको महसुस गर्नसक्छ। मानसिक सुख र शान्तिको अभाव महसुस हुन्छ। तर, सम्बन्ध विच्छेदबारे सोच्न किन दिइँदैन?

तनावग्रस्त सम्बन्धमा सम्झौता वा क्षणिक मेलमिलाप मात्र हुने हो भने सुझावको साटो सम्बन्ध विच्छेदका लागि सहायता पाउनुपर्छ।

अमेरिकी समाजशास्त्री पीपर स्याकवर्जका अनुसार अस्वस्थ सम्बन्धमा सम्झौता गर्नेहरूको तुलनामा सम्बन्ध विच्‍छेद गर्नेहरू बढी खुशी हुन्छन्। मानिस खुशी हुन चाहन्छ भने त्यो खुशीको बाटो रोज्न पाउनु पर्ने होइन? समाजसँग कहिलेसम्म डराउने?

+++

सम्बन्ध विच्छेदका सामाजिक, आर्थिक, सांस्कृतिक लगायत पाटोहरूबारे बहस, विश्लेषण भइरहन्‍छ।

महिला पुरुष दुवैका लागि तुलनात्मक हिसाबमा कानून केही सहज बनेकोपनि छ। तर, सम्बन्ध विच्छेद पछि आवश्यक भावनात्मक एवं मनोवैज्ञानिक सहायताबारे कमै चर्चा हुन्छ। छलफल परको कुरा सम्बन्ध विच्छेद वा त्यसो गरेकाहरू बारे आम मानिसले जनाउने प्रतिक्रिया समेत अस्वभाविक हुन्छ।

कसैको विवाह बारे सुन्दा खुशी हुन्छौं, दुईजना सँगै हुने खबरले। सँगै रहँदा खुशी हुन सकेनन्, सहमतिमै छुट्टिने निर्णय गरे। यस पटक उनीहरूको खुशीका लागि खुशी भइदिउँ न। व्यक्तिगत निर्णयको सम्मान गरिदिउँ।

सम्बन्ध विच्छेदलाई हाम्रो पुरातन सोचले भन्छ 'घर बिग्रियो।' बिग्रिँदा बिग्रिँदैको घरबाट निस्किएपछि हुने सुरक्षा र नयाँ घर बनाउने अवसरबारे सोचौं जहाँ एक महिला एक पुरुष अलग्गिएर खुशी हुन सक्छन्।

यस्तोमा हामी निर्णायक नबनिदिउँ।

सम्बन्धविच्छेदलाई लिएर जरामा गडेको सोच सम्हाल्दा सम्हाल्दै कहाँ कतिखेर भुक्लुक्क उम्लन्छ थाहा हुँदैन। कहिले ट्वीटमा, कहिले फेसबुक पोस्टको कमेन्टमा वा कहिले काहीँ समाचारको शीर्षकमा पनि। त्यसका लागि पनि केही संयमित बन्न आवश्यक छ। डिभोर्सपछि ओइरिने प्रश्न र प्रतिक्रियासँग जुँध्न बेग्लै मानसिक संघर्ष गरिरहेकाहरूका आघातमा नथप्न पनि हामी संयमित बन्नै पर्छ।

+++

सँगै पढ्ने एकजना साथीको नङ पाल्ने सौख थियो। ती नङलाई जोगाउन हर सम्भव कोसिस गर्थिन् उनी।

२०७५ को अन्त्यतिरउनको विवाह भयो। विवाहमा उनले आफ्ना नङलाई पनि श्रृङ्गारेकी थिइन्।

घरमा छँदा निकै जोगाएको ती नङले श्रीमानको घरमा गएपछि 'एक्स्ट्रा केयर' पाएन। छोरीबाट बुहारी हुनुको जिम्मेवारीसँगै उसको नङको रङ फेरियो। तर काटेर फालिनन्। जोगाइरहिन्।

एकपटक बसको ढोकामा उनको चोरी औंला च्यापिएछ। नङमा रगत जम्यो। निकै दुखेको गुनासो गर्थिन् उनी। तर, काट्न मान्थिनन्। दैनिक घरधन्दा र खेतबारीको कामले उनको नङको घाउ बल्झाइ रह्यो।

केही पछि मैले उनलाई जिस्काउँदै मेसेज लेखें : नङ ठीक भयो कि भाडा माझ्दैछौ?

जवाफमा लेखिन् – मलाई भेट्न आउ न।

मैले 'हस्' भनेँ। तर, झट्टैसमय दिन सकिँन। उनले निरन्तर लेखिरहिन् – कहिले आउँछौ? भोलि? कता छौ? यतातिर आउने काम छैन?

उनले एकदिन 'मलाई तिम्रो सहयोग चाहिएको छ' नलेखेसम्म मैले टारिरहेँ।

जुनदिन पुगेँ र उनको कुरा सुनेँ। थाहा पाएँ, विवाहले उसको नङमाभन्दा ठूलो घाउ मनमा र दिमागमा लगाइदिएको रहेछ।

उनको परिवार बहिनीलाई सक्षम देख्छन्। यातना सहेर बस्नु पर्ने कारण देख्दैनन्। छुट्टिएर जीवनमा केही असर नपर्ने भन्दै सम्झाएका छन्। तर उनलाई भने – त्यसपछि के? अरुले के भन्लान्? लगायत प्रश्नले पिरोलिरह्यो।

त्यो भेटमा मैले उनलाई आकांक्षा गुरुङको कथा सुनाएँ।

त्यसको केही दिनपछि उनको फोन आयो।

'स्वेच्छा मैले दुखाउने नङ काटेर फालेँ नि। अब म दुखाउने सम्बन्ध पनि फाल्न तयार छु।'

उनको श्रीमानको परिवार तिहारपछि कुरा गर्न आउने भएछन्। मलाई यतिखेर भित्रैदेखि लागिरहेको छ – त्यो सल्लाह मेलमिलापमा पुगेर नटुंगियोस्। किनकि यस अवधिभर उनले जति मानसिक तनाव झेलिन् त्यसलाई मैले नजिकबाट देखेकी छु। त्यसको भर्पाइ आइन्दा बोलिने दुईचारवटा मीठा शब्दले गर्नै सक्दैन।

लागिरहेछ – कसैले गर्ने एउटा ट्वीट वा प्रश्न वा आलोचनाले नफेरियोस् मेरी साथीको साहसिक निर्णय।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell