
जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।
जसपा निकटका युवा संघले मंगलवार जनकपुरधाममा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले नेपालको संविधानले अपरिवर्तनीय रुपमा राखेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सरकारले चुनौैती दिने चेष्टा गरेको भन्दै संघीयता र गणतन्त्र समाप्त पार्ने वर्तमान सरकारले षड्यन्त्र गरिरहेको आरोप लगाए।
मुलुकले कोरोना महामारीको संकट झेलिरहेको समयमा सरकारको मुख्य कर्तव्य जनताको ज्यानको सुरक्षा हुनु पर्नेमा सरकार त्यसबाट विमुख भई अन्य चलखेलमा लाग्नु मुलुकको लागि दुर्भाग्य रहेको यादवले बताए।
जनताको जिउ धनको सुरक्षा गर्न नसक्ने सरकारको आवश्यकता नरहेको भन्दै उनले आफूहरु सरकारविरुद्ध सबै मोर्चामा लड्ने उल्लेख गरे।
‘आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै विभेदरहित समृद्ध मुलुकको निर्माणका लागि वैकल्पिक शक्तिको रुपमा जसपाको गठन भएको छ’, यादवले भने, ‘अब देशमा शिक्षित र सक्षम युवाहरुले नेतृत्व गर्ने समय आइसकेको छ।’
विश्वको हरेक परिवर्तनको नेतृत्व युवाहरुले नै गरेकोले मुलुकको विकास र समृद्धिको लागि शिक्षित र सक्षम युवाहरुलाई अगाडि बढ्न यादवले आग्रह समेत गरे।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी जसपाको नगर युवाध्यक्ष अक्षय कुमार यादवको नेतृत्वमा ३ सय भन्दा बढी युवाहरुले जसपामा प्रवेश गरेका थिए।