
जनकपुरधाम : प्रदेश २ मा बिहीवार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गौर अस्पताल रौतहट, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र बर्दिबास कोभिड १९ प्रयोगशाला, महोत्तरीमा गरिएको परीक्षणमा १३ महिला र ३३ पुरुष गरी ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का जनस्वास्थ्य अधिकृत विपिन यादवले जानकारी दिए।
बिहीवार प्रदेशको धनुषा जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। धनुषामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, पर्सामा ७ जना, सप्तरी, सर्लाही र महोत्तरीमा ६/६ जना, रौतहटमा ५ जना, सिरहामा ४ जना, बारामा १ जना र अन्य प्रदेशका २ जनामा कोरोना संक्रमण पुष्टि भएको यादवले जानकारी दिए।
यस्तै बिहीवार प्रदेशमा १० महिला र ३८ पुरुष गरी कुल ४८ जना कोरोना संक्रमितहरु निको भई घर फर्केका छन्। योसँगै प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या १५ हजार ९७ पुगेको छ।
यस्तै, प्रदेशमा हालसम्म कोभिड १९ संक्रमणबाट १ सय ८३ जनाको मृत्यु भएको छ।