PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

कोरोनाविरुद्ध तेस्रो चरणको तयारीमा प्रदेश २ सरकार, भ्याक्सिन व्यवस्थापन समिति गठन



सुमित मिश्र

कोरोनाविरुद्ध तेस्रो चरणको तयारीमा प्रदेश २ सरकार, भ्याक्सिन व्यवस्थापन समिति गठन
फोटो : मुख्यमन्त्रीको कार्यालय।

जनकपुरधाम : कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले तेस्रो चरणको तयारी थालेको छ।

कोरोना महामारीको वर्तमान अवस्था, विगतमा भए गरेका कामकाजको समीक्षा र आगामी रणनीति बारे छलफल गर्न बिहीवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थापन समिति (पीसीसीएमसी)को बैठकले कोरोना महामारीविरुद्ध तेस्रो चरणको तयारीमा पुगिसकेको निष्कर्ष निकालेको छ।

महामारीविरुद्धको तेस्रो चरणको तयारी स्वरुप पचास हजार भीटीएम र रिएजेन्ट खरिद गरी सकेको, पीसीआर ल्याब सञ्चालन गर्न बाँकी रहेका चार जिल्लामा यसै सातादेखि ल्याब सञ्चालनमा ल्याउन सम्पूर्ण तयारी पूरा भइसकेको सामाजिक विकास मन्त्रालय आपूर्ति महाशाखाका निर्देशक डा प्रमोद यादवले जानकारी दिए।

तेस्रो चरणको लागि महत्वपूर्ण रहेको अस्पतालमा आधारित उपचार प्रणालीलाई थप सुदृढ बनाउन प्रदेश भरिका ६ वटा अस्पतालमा २५ बेडका दरले जम्मा १५० बेडको उच्च निर्भरता कक्ष (एचडीयू) निर्माण गर्ने निर्णय समेत गरेको छ।

यसका साथै प्रदेश सरकारको आर्थिक सहयोगमा विभिन्न अस्पतालहरुले खरिद गरेको भेन्टिलेटरहरुलाई अतिशिघ्र सञ्चालनमा ल्याउन आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ।

भ्याक्सिन व्यवस्थापन समिति गठन

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न बैठकले निकट भविष्यमा आउन लागेको कोरोनाविरुद्धको भ्याक्सिनलाई व्यवस्थापन गर्न तीन सदस्यीय भ्याक्सिन व्यवस्थापन समिति गठन समेत गरेको छ।

संक्रामक रोग विशेषज्ञ एवं विज्ञ समूहका सदस्य डा गरिब नाथ ठाकुरको संयोजकत्वमा गठित उक्त समितिमा आपूर्ति महाशाखाका निर्देशक डा प्रमोद यादव र स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झालाई राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell