PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कोरोना संक्रमितलाई प्लाज्मा पाउनै गाह्रो, किन संक्रमणमुक्त भएका सबैले प्लाज्मा दान गर्न पाउँदैनन्?



स्वेच्छा राउत

कोरोना संक्रमितलाई प्लाज्मा पाउनै गाह्रो, किन संक्रमणमुक्त भएका सबैले प्लाज्मा दान गर्न पाउँदैनन्?
Photo : Mikhail Tereshchenko / TASS via Getty Images

'यो प्लाज्मा एप 'नौटङ्की' जस्तो लाग्यो।'

गत मंगलवार बलराम नेपालले आक्रोशित हुँदै 'प्लाज्मा' बैंक नेपाल फेसबुक ग्रुपमा पोस्ट गरे। लेखे - 'मेरी आमाको लागि प्लाज्मा दाता खोजेको २ दिन भयो। तर, कतैबाट मिलेको छैन।'

उनले सम्भावित सबै दातालाई सम्पर्क गरेको तर कोही तयार नभएको बताए।

'कोही बाहिर छु भन्छन्, कोही कमजोर छु भन्छन्, कोही बेला भएको छैन भन्छन्। मान्छेलाई आश मात्र किन देखाउनु?'

उनले प्लाज्मा दिन नखोज्नेले एप वा फेसबुक पेजहरूमा विवरण दिनु उचित नभएको ठहर गरे।

प्लाज्मा थेरापी अर्थात् कुनै पनि रोगविरुद्ध प्रतिरोधी क्षमता ‘एन्टी बडी’ विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाउने उपचार पद्दती। प्लाज्मा मानिसको रगतमा हुने तरल पदार्थ हो जसले शरीरमा प्रोटिन पुर्‍याउँछ।

नेपालमा पहिलो पटक, साउन दोस्रो साता त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापीको सफल प्रयोग भयो। विराट नर्सिङ होमका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीको यस पद्दतीमार्फत् उपचार गरिएको थियो। उनी जटिल स्वास्थ्य स्थितिबाट निस्किए। त्यसपछि संक्रमणका कारण जटिल स्थितिमा पुगेका बिरामीको उपचारका क्रममा प्लाज्मा थेरापीलाई विकल्प मानियो।

नेपालमा कोभिड-१९ संक्रमण दर बढेसँगै सामाजिक सञ्जालमा प्लाज्मा थेरापीका लागि संक्रमण मुक्त भएकाको खोजी गर्नेहरू बढेका छन्।

सोही ग्रुपमा सामाखुशीकी भिन्तुना श्रेष्ठले सहयोग आह्वान गरिन्। उनका ७७ वर्षीय बुबा संक्रमणका कारण थलिएका थिए। उनले प्लाज्मा थेरापी गराउनका लागि ए पोजेटिभ रगत समूह भएको संक्रमण मुक्त दाताको खोजी गरेकी थिइन्।

पेजमार्फत् नै भिन्तुनाको सम्पर्कमा आइन् स्वेता राई (नाम परिवर्तन)। उनको कोभिड-१९ को एन्टीबडी लेभल जाँच भयो। डाक्टरले प्लाज्मा दान गर्न योग्य भएको बताए। भोलिपल्ट सोल्टीमोडस्‍थित नेपाल रेडक्रसमा रगत दिन पुगिन् उनी। त्यहाँ उनको तौल गरिँदा देखायो ५२ किलो। तौल अनुसार उनले रगत दान गर्नु जोखिमपूर्ण हुने बताइयो।

प्लाज्मा थेरापीका लागि ४ सय एमएल रगत निकाल्‍नु पर्ने भएकाले ५५ किलोभन्दा कम तौल भएका महिला दाताको रगत नलिने बताइयो।

दाता भेटिएकाले खुशी भिन्तुना निराश भइन्। उनका बुबा चिरायु अस्पतालमा उपचारत् थिए। तर दातालाई नै जोखिममा राखी रगत ननिकाल्ने निर्णय सुनाइन्। भिन्तुना पुन: नयाँ दाताको खोजीमा जुटिन्।

रक्तसञ्चार विशेषज्ञ डाक्टर विपिन नेपाल भने ५० किलोग्रामभन्दा बढी तौल भएका सबैले प्लाज्मा थेरापीका लागि रक्‍तदान गर्न मिल्ने बताउँछन्। उनका अनुसार १८ वर्षभन्दा माथि र ६५ वर्षभन्दा मुनिका जो कोहीले रगत दिन सक्छन्। तर, दातालाई सुगर वा मुटुको समस्या हुनु हुँदैन। त्यस्तै नियमित औषधी सेवन गरिरहेकाहरूले पनि प्लाज्मा थेरापीका लागि रगत दिन मिल्दैन।

डाक्टर विपिन भन्छन्, 'स्वास्थ्य समस्या भएका व्यक्तिले रगत दिँदा लिनेलाई होइन दातालाई नै अप्ठ्यारो पर्ने डर हुन्छ।'

त्यस्तै, सन्तान जन्माइ सकेका महिलाले पनि प्लाज्मा थेरापीका लागि रगत दिन सक्दैनन्।  

बुधवार रोशन श्रेष्ठले फेसबुक स्टाटस लेखे - 'आजबाट कोरोना संक्रमणबाट मुक्त भएँ। अब म प्लाज्मा थेरापीका लागि रगत दान गर्न तयार छु।'

डाक्टर विपिनका अनुसार संक्रमण मुक्त भएको कम्तिमा दुई सातापछि मात्र रगत दान गर्नु उपयुक्त हुन्छ। त्यसका लागि संक्रमणमुक्त भएकाको एन्टीबडी लेभलको समेत जाँच गरिनुपर्छ।

'एन्टीबडी लेभल चाहिँ जाँच गर्ने मेसिन अनुसार फरक देखाउँछ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एन्टीबडी लेभल १४ देखि माथि भएका प्लाज्मा थेरापीका लागि उचित हुन्छ', उनले भने।

संक्रमणमुक्त भएको ९० दिनसम्ममा प्लाज्मा थेरापीका लागि रगत दान गर्न सकिने उनले बताए।  

उनका अनुसार नेपालमा हालसम्म चार सयदेखि पाँच सयजना कोभिड-१९ संक्रमितको प्लाज्मा थेरापी गरिएको छ। यस पद्दतीले बिरामीहरूलाई कोभिड-१९ विरुद्ध लड्न निकै मद्दत पुर्‍याएको छ। 'बिरामी कोरोनाविरुद्ध लड्न सक्ने हुँदा अन्य रोगको उपचार पनि केही सहज बन्छ', उनले भने।

तर, मानिसहरू रगत दानका लागि डराउँछन्।

संक्रमणमुक्त भएकी उपमा भण्डारी भन्छिन्, 'आफै यति कमजोर भएको अवस्थामा कसरी दिनु रगत? भोलि फेरि स्वास्थ्यमा अर्को समस्या देखिए?'

डाक्टर विपिनका अनुसार मापदण्ड पूरा भए यस प्रक्रियामा कुनै किसिमको जटिलता हुँदैन।

प्लाज्मा थेरापीका लागि दिइएको रगत ल्याबमा 'ट्रान्सफ्यूज' गरी त्यसबाट एन्टीबडी छुट्याइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell