PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

सडकमा भेटिएका कुकुर स्याहार्ने परिवारको कथा : फेसबुकमा फोटो राखे जति सहज छैन



स्वेच्छा राउत

सडकमा भेटिएका कुकुर स्याहार्ने परिवारको कथा : फेसबुकमा फोटो राखे जति सहज छैन

जिम्मेवारीले घिन हटाउँछ हो?

गंगा भुजेलले गुन्द्रीमा टाँसिएका सेता अनि मसिना भुत्लाहरू टक्टकाइन्। छतको नभिजेको पाटो छानिन् र ओच्छ्याइन्। त्यसपछि जवाफ दिइन् :

‘होइन मायाले। मायाले घिन, डर सबै बिर्साउँदो रहेछ।‘

गंगाले ओच्छ्याएको गुन्द्रीमा उनीभन्दा पहिले पालैपालो आएर बसे : फुपू, लुसी, टिटु, सोया र काले।

’यहाँ आएर दिकमिक मान्नेहरू मसँग घिनाएजस्तो लाग्छ। पाहुनाले नाकमुख खुम्चाएको देख्दा खिन्न त हुन्छ नै। तर त्यो उहाँहरूकै समस्या हो’, उनले काखैमा आएर लुटपुटिएको सोयालाई सुम्सुम्याउँदै भनिन्,’ मेरा लागि त यी आफ्नै बच्चा सरह हुन्।‘

सन्तान सरह माया हुँदैनथ्यो भने किन झन्झट् उठाउँथिन् – सडकमा भेटिएका कुकुरहरूलाई उठाएर ल्याउने। पाल्ने। त्यो पनि एउटा होइन १५ वटा।

उनको बिहान तिनैलाई उठाएर सुरु हुन्छ। दैनिकीको अन्त्य तिनैले गरेको फोहोर सफा गरेर हुन्छ। पूरा दिन कुकुरहरूकै लागि खटेरै बित्छ।

गंगामात्र होइन उनका श्रीमान दीपक भुजेल र छोरी सुनिताको पनि यी कुकुरहरूसँग बेग्लै लगाव छ। त्यसैले त यो परिवारको दैनिकी असाधारण छ।

***

दश वर्षअघि। काठमाडौं महानगरपालिकाको कार्यालयमा एउटा कुकुर बियायो। एउटा छाउरोमात्र जन्मियो। सुत्केरी कुकुर खाना खोज्दै यताउती गर्दा छाउरो प्राय एक्लै हुन्थ्यो। जाडोको मौसम थियो। त्यहीं कार्यरत् दीपकले हरेक पटक काममा जाँदा कुकुरको बच्चा कापिरहेको हेर्न सकेनन्। सँगै काम गर्ने श्रीमतीसँग सल्लाह गरे। घर फर्कदा आफूसँगै लिएर हिँडे।

खैरो रङको सानो छाउरो देख्दा उनीहरूकी छोरी खुब रमाइन्। त्योसँगै खेलिन्। कचौरामा राखेर दुध र भात दिइन्। नाम दिइन् – पप।

देख्नेहरू भन्थे – कस्तो माया लाग्दो कुकुरको बच्चा।

पेटभरी खाना र न्यानो पाएर पप फेरिँदै गयो। शरीर बढ्यो। सानो छँदा दिसा, पिसाब सफा गर्न खासै झन्झट हुन्थेन। हुर्किँदै जाँदा फोहोर र दुर्गन्ध बढ्यो।

एकदिन पपले हिँड्ने बाटोमै दिसा गरेछ। कतै निस्कन लागेका दीपकको खुट्टा त्यहीं गाडियो। रिसले आँखा देखेनन्। छाउरोलाई उठाए र मिल्काए।

हतारमा निस्किएका उनले घर फर्किएपछि मात्र थाहा पाए – पप त उठ्न नसक्ने भएछ।

‘त्यस्तै मायालाग्दो अवस्थामा बसेको थियो जस्तो मैले कार्यालय बाहिर चिसोमा देखेको थिएँ। चोट छाउरोलाई लागेको थियो। दुखाई गंगाको आँखामा देखें’, उनले श्रीमतीतर्फ हेर्दै बोले। भने, ’मलाई रिस सम्हाल्न नसक्नुको पछुतो भयो।‘

पपको करङको हड्डी भाँचिएको रहेछ। चल्न नसक्ने भयो। चर्को आवाज निकालेर दुखेको संकेत दिन्थ्यो।

भेट्नरी लगे। थाहा पाए, कुकुरको पनि मान्छेको जस्तै उपचार सम्भव हुन्छ। पपको करङमापाता राखे। आवश्यक खोप लगाए। घर फर्काए। तर, पप घाइते हुनुअघिको रौनकता फर्किएन। त्यसका लागि समय लाग्यो। परिवारका सबैले पहिलेभन्दा बढी ख्याल राखे। माया गरे।

उ बिस्तारै उठ्न, हिँड्न थाल्यो। भोक लाग्दा कराउन थाल्यो। दिसापिसाब लाग्दा फरक संकेत दिन थाल्यो। त्यसो हुँदा परिवारको कोही एकले उसलाई दिसा गर्ने ठाउँसम्म पुर्‍याउन थाले। घरभित्र फोहोर र दुर्गन्ध हुन छाड्यो।

दीपकले बुझे – कुकुरले मान्छेको भाषा बुझ्दैन। प्रेमको भाषा बुझ्छ।

त्यो बुझाइसँगै फराकिलो बन्दै गयो उनीहरूको परिवार। बुवा, आमा र छोरीले सडक पेटीमा भेटिएका छाउराछाउरीलाई त्यसै छाडेनन्। उठाउँदै घरसम्म ल्याए। कुकुरहरू सदस्य बने। जोरपाटी नयाँबस्तीस्थित घर भूईं तलाको मात्र हुँदा त पपसहित दुईवटा मात्र पालेका थिए। डेढ तला थपे। ठाउँ बढ्यो। अनि एक, दुई, तीन गर्दै १५ पुगे।

हाल कोही उनीहरूको घरबाहिर पुगेको छनक मिल्दा सबै कुकुर फरक तलाको फरक झ्याल वा बरन्डाबाट टाउको पुलुक्क निकालेर हेर्छन्। नौलो मान्छे कोही देखे एकसाथ भुक्छन् – जोडजोडले।

ती सबैको मनपर्ने खानेकुरा, मनपर्ने मान्छेलगायत अन्य स्वभाव र संकेतलाई बुझेका छन् भुजेल परिवारले। कुनले कसरी कराउँदा के संकेत गर्‍यो पनि थाहा पाउछन्। उनीहरूको उमेर, भेटिएको ठाउँ, केहीलाई जन्माउने आमा कुकुरसमेत कण्ठै छ उनीहरूलाई।

‘कुनैलाई झोलामा पोको पारेको अवस्थामा भेट्यौं। कुनैलाई खोलाको किनारमा फालेको। देख्नेको मन कटक्क खान्छ। त्यसरी मार्न खोज्नेको मुटु त ढुङ्गाको हुनुपर्छ’, गंगा भन्छिन्।

गंगा काठमाडौं महानगरपालिकाकी सफाइ कर्मचारी हुन्। सबेरै कार्यालयले तोकिदिएको ठाउँ सफा गर्दै आएको २२ वर्ष भयो उनले। पहिलेपहिले सफा गर्दै जाँदा फोहोरको थुप्रोमा पालुवा कुकुरको मृत शरीर फालेको देख्थिन्। सोच्थिन् – मरेपछि व्यवस्थापन गर्न नसक्नेले बाँचुन्जेल किन घर ढुकाउनु?

केही वर्षअघिसम्म सडकमा विष खुवाएर मारिएका भुस्याह कुकुरहरू हुन्थे। त्यस्ता विभत्स दृश्य देख्दा उनलाई लाग्थ्यो – खान दिनु परेको छैन। सुत्न दिनु परेको छैन। किन मार्नु?

त्यसबेलादेखि नै हो उनमा कुकुरप्रति स्नेह जागेको। कुकुर पाल्ने र आफू सरह खान दिने मन भएको। तर, त्यस समय उनको परिवार कोठा भाडामा लिएर बस्थ्यो। दुई कोठा भाडामा लिएर बस्नेलाई घरबेटीले कहाँ दिन्थे र कुकुर पाल्ने ठाउँ?

***

अहिले आफ्नै घर छ। घरको हरेक तलामा कुकुर छन्। १५ मध्ये ४ कुकुर दिसापिसाबका लागि बाहिर निस्कन्छन्। बाँकी सबै घरमै। किनकि वरपरका सबै मानिस कुकुरप्रेमी छैनन्। समाजमा रहनु पर्दा समाजको अरुचिलाई घरभित्रै राख्न चाहन्छन् उनीहरू।

बिहान ३ बज्छ :

त्यसपछि सुरु हुन्छ भुजेल परिवारको दिन। गंगा आफू र दीपकसँगै निदाएका ८ वटा कुकुरलाई उठाउँछिन्। त्यसपछि पालो तल्लो तलामा सुतेका ३ कुकुरलाई बिउँझाउने। अन्तिममा छोरीसँग निदाएका ४ कुकुरलाई बोलाउन पुग्छिन्। अन्तिममा जाँदा छोरी केहीबेर बढी निदाउन पाउँछिन् भन्ने लोभ छ उनमा।

कुकुरहरू छतमा उक्लन्छन्। त्यहाँ उनीहरूको आ-आफ्नै दिसापिसाब गर्ने ठाउँ छ। उनीहरूले गरेको फोहोर उठाउने, पानी हालेर सफा गर्ने काम दीपकले गर्छन्।

गंगा कोठा सफा गर्छिन्। चिया बनाउँछिन्। दुबै मिली पिउँछन् र काममा निस्कन्छन्। श्रीमती सफाइ कर्मचारी। श्रीमान सफाइ कर्मचारीहरूको इन्चार्ज। उनीहरू काममा छँदा छोरी घरमा हुन्छिन्। बिहान ९ बजे उनीहरू फर्कदा छोरीको काममा निस्कने समय हुन्छ। उनी बैंकमा काम गर्छिन्।

गंगाले जानुअघि बसालेको चामल, मासु, कुखुराको टाउको वा खुट्टालगायत कुरेर बसेका हुन्छन् कुकुरहरू। उनी आएको चाल पाउनासाथ सल्बलाउन थाल्छन्।

करिव साढे १० सम्ममा : कुकुरहरूलाई बिहानको खाना दिन्छन् गंगा र दीपक मिलेर। आफ्नो पालो त्यसपछि। भान्साको धन्दा सक्दा नसक्दै उनीहरूलाई घाम ताप्न वा डुल्न छोड्ने समय हुन्छ। कुकुरहरूलाई उनीहरूकै मात्र भरमा छाड्न सक्दैनन्, घरभित्रै भए पनि। सँगसँगै तलमाथि गर्छिन्। फोहोर भइरहन्छ। सफा गरिरहन्छिन्।

दिउँसोको ३ बजेपछि : खाजाको तयारी। जसमा बिस्कुट, पेडिग्रीलगायत पन्ध्र भाग लगाउँछिन्। हरेक पटक कुकुरको खाना/ खाजा पछि आफूहरूको पालो।

बेलुकीको खाजा भने ७ बजेपछि। खाइसकेपछि कुकुरहरू केनलमा फर्कदैनन्। उनीहरूलाई थाहा छ को गंगा र दीपकको कोठामा पस्ने? को सुनिताको कोठामा?

यो परिवार घरमा भएको कुकुरहरूका लागि मात्र मरी मेट्दैनन्। सडकमा देखिने हरेक कुकुर प्यारा छन् उनीहरूका लागि। विशेषगरी नयाँबस्ती आसपासका कुकुरहरू बिहान गंगा र दीपक काममा जाँदा बाटो ढुकेर बसेका हुन्छन्।

दीपक भन्छन्,’बिस्कुट बोक्नै पर्छ। खाली हात त जानै हुन्न। केही नलगेको दिन बाटो छल्छौं।‘

उनी बोले लगत्तै गंगा थप्छिन्, ’नयाँ बस्तीदेखि बौद्धसम्म कुन टोलमा कति कुकुर छन् सबै थाहा छ।‘ ती क्षेत्रका कुकुरका लागि उनीहरू एकदिन बिराएर भात र कुखुराको टाउको र खुट्टा पकाउँछन्। बाटोबाटो खुवाउँदै हिँड्छन्।

त्यस्तै साताको दुई दिन पालो बाग्मती किनारदेखि गोठाटार- पेप्सिकोला हुँदै जडिबुटी, एयरपोर्ट र पशुपति क्षेत्रका कुकुरहरू खुवाउने। लकडाउनको समयमा हरेक साता तीन दिन पुगे ती क्षेत्र।

‘पालेको भए पनि नपालेको भए पनि शरीर तिनीहरूको पनि हो। भोक तिनीहरूलाई पनि लाग्छ। त्यसैले सक्दो गर्छौं’, गंगा बोलिन्।

तर, कुकुरका लागि गर्दागर्दै गाली, आरोप, अपजस भोग्नु परेको थुप्रै अनुभवहरू छन् यो परिवारसँग। कहिले छिमेकीले कुकुर कराएको निहुँमा अनुहारको रङ फेर्छन्। कहिले सडकमा खानेकुरा दिएर फोहोर बनाएको आरोप। कतिले त पैसाका लागि ‘खुवाएजस्तो गरेको’ समेत भन्न भ्याए।

‘मैले सडक सफा गरेर कमाएको पैसाले कुकुर पालेकी हुँ। उल्टै सडक फोहोर गरेको दोष कसरी सहनु? हामीमा खाना दिएको भाडा, प्लास्टिक टिप्नुपर्छ भन्ने चेत हुँदैन त?’, उनी प्रश्न गर्छिन्। हालसम्म आफूहरूले कुकुरको नाममा कोही कसैसँग एक रुपैयाँ पनि नलिएको बताउँछिन् उनी। बरु केही समयअघि मात्र गोदावरीमा सामूदायिक कुकुरका लागि बन्दै गरेको सेल्टर छाउन उनले व्यक्तिगत सहयोग गरेकी थिइन् गंगाले।

यी दुवैको मासिक तलब कुकुरकै लागि खर्च हुन्छ। रासन पानी घरभाडा र छोरीको तलबले पुर्‍याउँछन्।

गंगा चुपचाप कुकुरहरूसँग रमाउन चाहन्छिन्। उनलाई लोभ एउटै कुराको छ, त्यो हो सन्तुष्टि। ‘अहिलेसम्म पाएको पनि त्यही हो। शान्ति र सन्तुष्टि’, सुनाउँछिन्, ’कुकुरसँग रमाउन थालेदेखि म मन्दिर धाएको छैन। मन यसै चङ्गा छ।‘

कुकुरहरूलाई खुवाउने बाहेक आफ्नो र वरपरका टोलका कुकुरहरूको बन्ध्याकरणसमेत गराएकी छिन् उनले। कहिले निजी भेटहरूको सहयोगमा त कहिले सरकारी योजनाका कर्मचारीहरूसँग आग्रह गरेर।

***

गंगाकहाँ मानिसहरू आउँछन्। आफू कुकुर पालेर थाकेको बताउँछन्। उनीहरूले वर्षौ राखेको कुकुरको जिम्मेवारी लिइदिन आग्रह गर्छन्। कोही भर्खर जन्मिएका छाउराछाउरी फालिदिन्छन्। माउ लिएर आउँछन्। कोही माउ राख्छन् छाउराछाउरी बोकेर आउँछन्। कसैको आग्रह बिरामी कुकुर स्याहारिदिने हुन्छ।

गंगा ती आग्रह स्वीकार्दिनन्। किनकि स्वार्थ पूरा भएपछि वा उनीहरू प्रतिको जिम्मेवारी बढेपछि कुनै पनि प्राणी त्याग्ने, फाल्ने वा छाड्नेहरू उनलाई विवेकशील लाग्दैनन्। सम्मान र स्नेहमा विश्वास राख्छिन् उनी। र, जनावरप्रतिको त्यो स्नेह देखावटी हुनु हुँदैन भन्ने मान्यता हो।

‘चिटिक्क बनाएर फेसबुकमा फोटो राख्नजस्तो सजिलो कहाँ हुन्छ र?’

कुकुरलाई वार्षिक अनिवार्य ३ वटा खोप लगाउनुपर्छ। त्यसबाहेक नियमित जाँच। बिरामी हुँदा औषधि उपचार, सुत्केरी हुँदा विशेष ख्याल। मान्छे बोल्छ। आफ्नो दु:ख, सुख सुनाउन सक्छ। तर कुकुरले सक्दैन। त्यसैले मान्छे पाल्नभन्दा बढी गाह्रो हुने बताउँछिन् गंगा।

मान्छेको तुलनामा कुकुर बफादार र निस्वार्थ हुने महसुस गरेकी छिन् उनले। मान्छे कुकुरको भुत्ला, दिसापिसाब वा र्‍यालसँग घिनाउँछ। घिन लाग्दा कुट्छ, तातो पानी खन्याउँछ, लखेट्छ। कुकुरका स-साना छाउराहरूलाई बोरामा राखेर बगाउन पनि पछि पर्दैनन्। तर, कुकुर आफूलाई जोगाउनुपर्ने अवस्थामाबाहेक आक्रमणमा उत्रदैन।

मान्छे सबैभन्दा छिटो गुण बिर्सने प्राणी हो भन्ने लाग्छ गंगालाई। उनको तर्कमा दीपक पनि सहमतिको मुन्टो हल्लाउँछन्। कुकुरले भने वर्षौअघि आफूलाई एउटा बिस्कुट खुवाउने मान्छेसमेत सम्झन्छ।

कहिले काही कुनै एकले कोठाभित्रै पिसाब फेर्दा वा जुत्ता चपाउँदा गंगा रिसाउँछिन्। कराउँछिन्। चर्को स्वरमा बोल्दै गर्दा सबै कुकुर चुप बस्छन्। जसले बिगार गरेको हो उ अगाडि आउँछ। कुटाई खान।

उनी पिट्छिन् पनि। ‘तर पिटेपछि आफैलाई माया लाग्छ। उनीहरू पनि केहीबेरमा मेरै गाला चाट्न आइपुग्छन्’, कुकुर गल्ती स्वीकार्न पछि नपर्ने बताउँछिन्।

उनीहरूको एउटा कुकुरको नाम फुपू हो। फुपूलाई उनीहरूले ४ वर्षअघि बागमती किनारबाट उद्धार गरेका हुन्। उसलाई बोकेर ल्याउँदा उसकी आमा पनि पछिपछि आएकी थिइ। घरसम्मै। तर, केहीबेर अनुहार निन्याउरो बनाएर फर्किइ।

त्यसदिन फर्किए पनि त्यो कुकुरले आजसम्म आफ्नी छोरी बसेको घर बिर्सिएकी छैन। हरेक ३ महिनामा उ टुप्लुक्क गंगाको घर बाहिर आइपुग्छे। कराउँछे। उसको आवाज सुन्दा फुपू जर्‍याकजुरुक उठ्छे र बरन्डाबाट टाउको निकालेर कराउँछे। माथि आउने संकेत दिन्छे।

एकपटक आउँदा दुई तीन दिन बसेर फर्किन्छे।

फुपूको माउलाई पनि नुहाइदिन कोसिस गरेका थिए भुजेल दम्पतीले। मानिन। उसलाई थुनिन मन पर्दैन भन्ने थाहा पाए जब उ आफ्नो छतबाट छिमेकहरूको छतमा कुद्न थाली। त्यसैले उसलाई थुनेर राखेनन्। तर, हरेक पटक आउँदा खुशी खुशी स्वागत गर्छन्।

दीपक भन्छन्, ’हामीले यत्रो वर्षमा बुझेको कुकुरको मनोविज्ञान न हो।‘

***

हरेक वर्ष कुकुर तिहारका दिन भुजेल परिवारको घरमा रौनक छाउँछ। किनकि यो परिवारले पूजाअर्चनामा सबैभन्दा धेरै समय बिताउने दिन हो यो। अंगालोभरी माला लिएर आउँछन्। फरक जात, आकार र उमेरका कुकुरहरू सयपत्रीको मालामा सजिन्छन्। टीका लगाइदिन्छन्।

यस दिन सडकका कुकुरलाई खुवाउन निस्कदैनन् उनीहरू।

‘धर्म कमाउनका लागि भए पनि यो एकदिन त मान्छेले सडकको कुकुरलाई पनि खुवाउँछन्’, गंगा भन्छिन्,’कुकुर तिहार मान्छे र कुकुरलाई नजिक बनाउनका लागि। एकअर्काबीचको दूरी कम गर्ने पर्व हो जस्तो लाग्छ। तर मान्छे परबाटै मासुभात दिन्छन्। भोलिपल्ट त्यही आशमा कुकुर पुग्छ अनि लखेट्न थाल्छन्।‘

मानिसको यस्तै व्यवहारका कारण उनी एकदिनको पूजा उत्सवलाई पर्याप्त मान्दिनन्।

त्यसैले यो वर्ष कुकुर तिहारको अघिल्लो दिन नै छाडिएका कुकुरहरूलाई खुवाउन हिँडे। सधैं उनीहरूले कुकुरहरूलाई बोलाएर खुवाएको नियालेका रहेछन् एयरपोर्टमा खटेका एक प्रहरीले। उनले दीपक र गंगालाई भने, ’लकडाउनमा खान नपाएर मर्न लागेका कुकुरहरूलाई खुवाएर बचाउनु भयो। अब भोलि सबैले पूजा गर्न पाउँछिन्। धन्यवाद यहाँहरूलाई।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell