PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भाइटीकामा भाइ नहुँदाको पीडा : भैली टोलीबाट आशिष मिलेपछि बल्ल…



भाइटीकामा भाइ नहुँदाको पीडा : भैली टोलीबाट आशिष मिलेपछि बल्ल…

  • कृपा अधिकारी-

जन्मनु मेरा लागि जीवनको सबैभन्दा पहिलो र सुन्दर उपहार हो। मलाई सम्झना भएदेखि मैले चाहेको दोस्रो सुन्दर उपहार आफूभन्दा सानो भाइ हो। म निकै सानी थिएँ जब मलाई आफूसँगै खेल्ने भाइको रहर लाग्न थाल्यो।

हरेक रात आमाको पेटमा सुम्सुमाउँदै सोध्थें – हजुरको पेटमा भाइ छ नि है? छिट्टो जन्माउनुस् न।

मेरो अवोध प्रश्न सुनेर आमा मुसुमुसु हाँस्नु हुन्थ्यो। भन्नुहुन्थ्यो – भाइ जन्माउँदा गाह्रो हुन्छ। अलि पछि है?

कहिले काहीं आमालाई बेस्सरी पेट दुख्थ्यो। दुई हात जोडले पेटमा दबाउँदै रुनु हुन्थ्यो। आमालाई गाह्रो हुन्थ्यो। म जोडजोडले चिच्याउँदै सबैलाई बोलाउथें। भन्थें – आमाले भाइ पाउन लाग्नु भयो। छिट्टै आउनुस्।

आत्तिदै आएका सबै मुसुमुसु हाँस्थे। आमा खुब लजाउनु हुन्थ्यो। आमाले सहनु परेको त्यो पीडा महिनावारीले दिएको पीडा रहेछ भन्ने बुझ्न मलाई वर्षौ लाग्यो। जब भोगें तब न बुझें।

आमाको त्यो दुखाई केही दिन रहन्थ्यो। सकिन्थ्यो। मेरो भाइ खेलाउने रहर भने अँह कहिल्यै कम भएन। म जन्मँदै नजन्मेको भाइको लागि खुत्रुकेमा पैसा जम्मा गर्थें। हरेक पटक स्कूल जानुअघि आमा समक्ष उही फर्माइस् गर्थें – भरे आउँदा भाइ जन्माइ राख्नुस् न है। दिनभर कल्पना गर्थें – आमाले कत्रो भाइ जन्माउनु होला? भोलि मसँगै मेरो औंला समातेर स्कूल आउन सक्ला नसक्ला, मेरो साथीको भाइजस्तै।

एकपटक नेपाली पढाउने मिसले गृहकार्यमा आफ्नो परिवारका सदस्यको नाम लेख्न दिनु भएको थियो। सबै प्रश्नको जवाफ लेखें। तर, तिम्रो भाइको नाम के हो? भन्ने प्रश्नको जवाफ मसँग थिएन। केहीबेर टोलाएँ। र लेखें – मेरो भाइ आमाको पेटमै छ। उ जन्मिएपछि मात्र म नाम लेख्छु। मलाई बस् उत्तर लेख्नु थियो।  

भाइ जन्मिएपछि के के गर्ने त? म कल्पन्थें : म उसलाई आफूसँगै सुताउँछु। एकछिन पनि भुइँमा राख्दिनँ।

म हुर्कँदै गएँ। तर भाइ जन्मिएन। हरेक वर्ष तिहारको चहलपहल सुरु हुँदा ममा भाइको रहर हर्लक्कै हुन्थ्यो। फक्रँदै गरेको मखमलीले मेरा लागि केही अर्थ राख्दैन भन्ने कुराले दुखाउथ्यो। हरेक वर्ष फूल्ने सयपत्री टिप्दै गर्दा म ती फूलमा पनि भाइलाई नै कल्पन्थें। डालाभरी खेल्ने मखमलीमा म कहिल्यै नदेखेको हार हाँसीरहेको देख्थें। तर, अँह मेरो भाइटीका त्यति सजिलै आएन। त्यसैले त मखमलीलाई सियोको बाटो हुँदै धागोमा छिराउँदा मेरो मन चसक्क बिझ्थ्यो।

हरेक तिहारमा पाक्ने रोटीहरू कसैले नखाँदै म थाली भरी राखेर भगवानलाई चढाउथें। र, प्रार्थना गर्थें - अर्को वर्ष त रोटी खाने भाइको जन्म होस्।

गाई पुज्दै गर्दा पनि म भाइटीकामा चाहिं कसलाई टीका लगाउने? भन्ने कल्पिएर निराश हुन्थें। नर्के फाल्ने दिन सबेरै उठ्नु पर्थ्यो। नर्के केटाको मात्र फालिन्छ भन्ने थाहा थियो। तर, मेरा रहरले त्यस्ता नियमहरू तोड्दै थियो। म मेरा दुई साना बहिनीहरूको नर्के फाल्थें, कसैले नदेख्नेरी। त्यसैमा खुशी पाएँ। खुशी त भाइ हुनुमा होइन। आफूसँग भएकालाई प्रेम गर्नुमा मिल्दो रहेछ। त्यो अनुभूति भएकै दिनदेखि हो मैले भाइ नजन्मँदासम्म आफ्नै बहिनीको निधारमा सप्तरङ्गी टीका लर्काउने निधो गरेको।

मैले हरेक वर्ष आफ्ना बहिनीहरूको दु:ख कष्ट ओखरमा फोरेकी छु। देख्दै नदेखेको यमराजलाई ढोकैबाट पर भगाएकी छु। बहिनीकै लागि बिमिरो पूजा गरेर बाटोमा फालेकी छु, ताकी मेरी बहिनीहरू हिड्ने बाटोले उनीहरू खुशीको गन्तव्यसम्म पुर्‍याओस्।

एक वर्ष तिहारमा भैली टोली आएको थियो। उनीहरूले खुशीखुशी आशिष दिँदा ती आशिर्वाद लाग्छ भन्ने महसुस भयो। मुखै फोरेर भनें – अर्को वर्ष हाम्रो घरमा पनि भाइ होस् भन्ने आशिष दिनुस् न।

त्यो आशिष लाग्यो। हाम्रो घरमा भाइ जन्मियो। तिहारमा बलेका बत्तीहरूले भन्दा बढी उज्यालो बनायो उसको आगमनले हाम्रो घर। मेरो मुहार नउज्यालिने कुरै भएन। त्यसपछि जुन बहिनीहरूको लागि हरेक तिहारमा पूजा गरें, उनीहरूसँगै तछाडमछाड हुन थाल्यो – भाइ बोक्नका लागि। कसले पहिला टीका लगाउने? भन्नका लागि।

मभन्दा १५ वर्ष कान्छो छ मेरो भाइ। कान्छी बहिनीभन्दा १० वर्ष कान्छो। जे होस् उ जन्मिएपछि हाम्रो आँगनमा मखमली बढी फूल्न थाल्यो। घरमा रौनक छायो। मैले हरेक वर्ष उसलाई आशिर्वाद दिएँ - जहाँ पाइला टेक्छौ त्यो बाटो नै सहज बनिदियोस्।  हरेक दिनलाई उत्सव बनोस्। तिम्रा आखाँले हरेक मानिस र वस्तुलाई स्नेहले देखोस्। तिम्रो जीवन सप्तरङ्गी टीकाजस्तै रङ्गियोस्। तिम्रो सत्कर्मको उज्यालोले तिमीलाई छाया बनि साथ दियोस्।

तिहारको बत्ती, टीका, तेल, जौतिलले तिमीलाई दिर्घायु बनाइदियोस्। तिम्रो शीरको त्यो ढाका टोपीले सदैव शिखरमा चढ्न प्रेरित गरोस्।

आज आफूले चाहेजस्तै गरी काखमै हुर्कदै छ भाइ। उ बल्ल ८ वर्षको भयो। मलाई उबाट टाढा हुनुपर्ने सम्भावनाहरूसँग पनि डर लाग्छ। कसरी मन बुझाउँछन् होला परदेशिएर वा कारण बस् टाढा भएका दिदीभाइ वा दाजु बहिनीले।

धेरै वर्षअघि यमराजले दाजुलाई लिन आउँदा बहिनी रुँदै ‘टीका लगाएसी मात्र लैजानुस’ भन्ने बिन्ती बिताएकी थिइन् रे। दाजुबहिनीबीचको प्रगाढ माया देख्दा यमराज दाजुलाई नलिइ फर्किन बाध्य भए रे।

तर, आज छ त त्यो प्रगाढ माया?

धेरैलाई परदेशिनु वा अन्य कारण छुटाएको छ। भलै उनीहरूलाई माया र सम्झनाले सधैं बाँधी राख्छ। तर, उस्तै गरी टाढिएका छन्  पैसा र सम्पत्तिका कारण छुट्टिएकाहरू। उनीहरूलाई त केहीले पनिव जोड्न सक्दैन। हरेक तिहार निधार खाली राख्छन् तर रीस र घमण्ड त्याग्न तयार हुँदैनन्। मान्छेलाई नाता भन्दा पनि अहम् र स्वार्थले थिचेको छ।

दिदी भाइको सम्बन्ध त संगीत र शब्दको जस्तो होस न। हामी दिदी बहिनी एकअर्का र भाइसँगको सम्बन्धलाई त्यस्तै बनाउन खोज्दैछौं। किनकि हामीलाई बल्ल तिहार अर्थपुर्ण लाग्दैछ। भाइको जन्मपछि।

भाइ अहिले त सानै छ। तर, बुझ्ने भएपछि भन्न चाहन्छु - भाइ तिमीलाई तेलको धाराले छेक्दा नै तिम्रा दु:ख पनि छेक्ने प्रण गरेकी छु। सुक्दैन हाम्रो यो मीठो नाता मखमली नसुकुन्जेल। हाम्रो सम्बन्ध आत्मीय छ यो धर्ती रहुन्जेल। म मरेरै गएपनि हाम्रो यो नातालाई हरेक तिहारले ताजा गराउने छ भाइ। म मरेरै गएपनी पीर नमान्नु, तिम्रो जन्म अगावै मैले कयौं ओखर दैलोमा राखी तिम्रो दुःख कष्ट लाई फोरेकी छु। तिम्रो दिर्घायुको कामना गरेकी छु।

तिम्रो लागि हरेक खुसीको कामना गरेका छौं। तिमीले पनि हामीलाई कहिल्यै पर नसोच्नु। बाबुआमाको दु:खमा आफ्नो सफलताको किरण छर्ने प्रयास गर्नु। तिम्रा लागि दु:ख गर्दा खिएका ती बुढा औंलामा मीठो बोलिको मल्हम सधैं भरी लगाउनु। कर्तव्यबाट पर नहट्नु है।

म सम्झन्छु तिमीलाई ताते… गर्दै डोहोर्‍याएको। म चाहन्छु म वृद्ध हुँदा तिम्रा औंलाको साथ। मेरा कापेका औंलाले तिम्रो निधारमा सधैंभरी सप्तरङ्गी टीका लगाउन पाउँ। मेरो अब त सियोको बाटो हुँदै धागोमा मखमली उन्दा मुटु दुख्न छाडेको छ।

मन दुख्नुको कारण - तिहारमा सबैजना सँगै बसेर माला उन्दै गर्दा हामीलाई पर राखिन्थ्यो। किनकि हामी तीन दिदी बहिनी थियौं। हाम्रा दाजुभाइ थिएनन्। कसैगरी अरुको माला छोइए अशुभ हुने बताइन्थ्यो। भनिन्थ्यो – अलि परै बस।

आज उनीहरूलाई बोलाएर, सुकुल ओछ्याएर सँगै टीका लगाऔं है भन्न मन छ।

आफ्नो भाइ नजन्मिँदा नजिकै को आफन्त कहाँ टीका लगाउन भनेर गयौं। भाइ नभएपनि भाइटीका लगाउने आशमा पुगेका थियौं। तर हाम्रो पालो आएन। भनेका थिए – आफ्नै आमालाई पाउन भन न।

हामी तीन दिदी बहिनी आँखाभरी आँशु लिएर फर्किएका थियौं। त्यस्ता अपमानका कारण पनि भाइको मोह कहिल्यै घटेन। अब त अवस्था त्यस्तो रहेन।  तर, दाजुभाइ नभएका दिदी बहिनीका लागि कामना गरेकी छु अनेक खुशीको। म चाहन्छु उहाँहरूले अरुको दाजुभाइलाई बिन्ती बिसाएर टीका लगाउन नपरोस्। बरु दिदीबहिनीले नै एकअर्कालाई रीत पुर्‍याएर टीका लगाउने वातावरण बनोस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell