PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

उत्कर्षमा नेकपाको विवादः ओली पक्ष रक्षात्मक बन्दा प्रचण्ड–नेपाल समूह आक्रामक, मध्यस्थतामा राष्ट्रपति भण्डारी



उत्कर्षमा नेकपाको विवादः ओली पक्ष रक्षात्मक बन्दा प्रचण्ड–नेपाल समूह आक्रामक, मध्यस्थतामा राष्ट्रपति भण्डारी

काठमाडौं : आरोप प्रत्यारोपको पत्राचार विवादमा पुगिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद पार्टीमा 'पोजिसन सेक्युर' गर्ने रुपमा परिणत भएको छ। सुरुमा पत्रबारे माफी माग्नुपर्ने अडानमा रहेको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली समूह मंगलबारसम्म आइपुग्दा रक्षात्मक अवस्थामा पुगेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल गठबन्धन आक्रामक बन्दा ओली समूहले बुधबारका लागि बोलाइएको सचिवालय बैठक रोक्ने प्रयत्नमा छ। ओलीको प्रस्तावलाई प्रचण्ड–नेपाल खेमाले अस्वीकार गरेको छ। यद्यपि सहमतिमा बैठक रोक्ने प्रयत्नमा दुबै तर्फका केही नेताहरु लागेका छन्।

विवाद उत्कर्षमा पुगेका बेला बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक रोक्ने वा नराख्नेमा दुई खेमाबीच रस्साकस्सी जारी छ। कुनै नयाँ घटनाक्रम नभएमा प्रचण्ड–नेपाल समूह बैठक राख्ने तयारीमा नै रहेको निकट स्रोतहरु बताउँछन्।

पछिल्लो स्थायी समिति बैठकपछि भएका राजनीतिक नियुक्ति, कर्णाली प्रदेशको विवादलगायतले नेकपाभित्र शक्ति संघर्षको ताण्डव छ। विवादले पछिल्लो समय लिखित आरोप प्रत्यारोपको मोड लिएको छ। घर झगडा उत्कर्षमा पुग्दा संवैधानिक रुपमा तटस्थ भूमिकामा रहेको शीतल निवासले पुनः एकपटक चासो देखाएको छ।

विवाद जारी रहँदा गत शुक्रबारको बैठकमा प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै १९ पुष्ठ लामो दस्तावेज सचिवालयमा बाँडेका थिए। निकै आलोचनात्मक रुपमा पेस भएको दस्तावेजलाई ओली पक्षले ‘आरोपपत्र’ भनेको छ। उक्त दस्तावेज फिर्ता नभएसम्म बैठक नबस्ने अडानमा ओली छन्।

प्रचण्डको दस्तावेजलाई खण्डन गर्दै ओलीका तर्फबाट पनि १६ पृष्ठको दस्तावेज सार्वजनिक भएको थियो। जसमा प्रचण्डले लगाएका आरोपको खण्डन गरिएको छ। ओलीले प्रचण्डको दस्तावेजलाई 'झुट' भनेका छन्। नेतृत्वमा रहेका दुई व्यक्तिबीच आरोप प्रत्यारोपको मौखिकपछि लिखित श्रृङ्खला जारी छ।

नेताहरुको दौडधुप र गुटको परामर्श जारी

नेतृत्वमा चरम विवाद भएपछि पार्टी फुटको संघारमा रहेको अभिव्यक्ति दिएका महासचिव विष्णु पौडेल यसबीच निकै दौडधुपमा छन्। कोरोनाले थलिएको अर्थतन्त्र उकास्ने भूमिका रहेका पौडेललाई गुटको दौडमा सामेल हुनुपर्ने बाध्यताले गाँजेको छ।

मंगलबार बिहानै पौडेल अध्यक्ष ओलीको सन्देश लिएर खुमलटार पुगेका थिए। बुधबारका लागि बोलाइएको सचिवालय बैठक रोक्ने ओलीको प्रस्ताव लिएर पुगेका पौडेललाई प्रचण्डले निराश बनाएपछि पुनः बालुवाटार गुटको छलफलमा व्यस्त भयो। सुरुमा प्रचण्डको दस्तावेज फिर्ताको अडानमा रहेको ओली समूह सचिवालयमा स्पष्ट अल्पमतमा परेपछि बैठक रोक्ने प्रयत्नमा छ। प्रचण्ड नेपाल समूह भने बुधबारको बैठक तोकिएकै समयमा राख्ने अडानमा छ।

बैठक नरोकिने जवाफ पाएपछि पौडेलसमेत संलग्न रहेर बालुवाटारमा अध्यक्ष ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच लामो छलफल भएको स्रोत बताउँछ। बैठक रोक्न नमानेको अवस्थामा कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन छलफल भएको हो।

पौडेलसँगै ओली पक्षबाट नेताहरु सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ तथा प्रदीप ज्ञवालीलगायत पनि विवादलाई पर धकेल्न प्रयासरत छन्। बुधबारको बैठक स्थगित गरेर केही दिन अध्यक्षबीच छलफल हुनुपर्ने सूत्र लिएर नेताहरु चरणवद्ध छलफलमा छन्।

‘दुई अध्यक्षले कुलिङ पिरियडका रुपमा छलफल अघि बढाउनु उपयुक्त हुन्छ। आरोप प्रत्यारोपको श्रृङ्खला अन्त्यका लागि पनि बुधबारको बैठक स्थगन हुनुपर्छ। अन्यथा विस्फोट हुन्छ। एक पक्षले रोकौँ भनेर प्रस्ताव गरिरहँदा बैठक राख्नु विधान र पूर्व समझदारी समेत विपरीत हुन्छ। बैठकका लागि अवस्था परिपक्व बनिसकेको छैन’, ओली पक्षीय एक स्थायी समिति सदस्यले भने।

तर, प्रचण्ड निकट नेताहरु भने भोलिको बैठक नरोकिने बताउँछन्। भोलिको बैठकले अध्यक्ष ओलीसँगको भावी व्यवहार तय गर्ने समेत ती नेताको दावी छ।

‘बैठक त स्थगन हुन्न। स्थगित हुन कुनै चमात्कार नै हुनुपर्छ। हामीले चरणवद्ध रुपमा दुवै अध्यक्षसँग कुरा गरिसकेका छौं। कार्यकारी अध्यक्षमाथि कुनै नयाँ दबाब आएमा बैठक बसेर निर्णय केही नहुनेसम्मको अवस्था भने बन्न सक्छ’, प्रचण्ड निकट एक स्थायी समिति सदस्यले भने।

दोस्रो पुस्ता सक्रिय

विवादबीच प्रचण्ड नेपाल पक्षीय नेताहरु बैठक नरोक्ने पक्षमा छन्। ओली समूह तत्कालका लागि बैठक रोकेर सहमतिको प्रयत्नमा छ।

यसबीच विवाद बढेपछि दोस्रो तहका नेकपा नेताले शीर्ष नेतासँग सहमतिको विन्दु खोज्न आग्रहसहित मंगलबार छलफल गरेका छन्। निकट गुटमा आवद्ध नेताहरुले अध्यक्षद्वयसँग छलफल गरेका हुन्।

बिहान खुमलटारबाट फर्किएपछि प्रधानमन्त्रीसँग महासचिव पौडेल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवालीलगायतले छलफल गरेका छन्।

यस्तै कार्यकारी अध्यक्ष प्रचण्डले पनि परामर्श जारी राखेका छन्। उनले हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेललगायतलाई खुमलटार बोलाएर छलफल गरेका छन्।

पूर्वमाओवादी खेमाका रायमाझी र पौडेलले सोमबार राति प्रधानमन्त्री ओलीसँग पनि भेट गरेका थिए। उनीहरुले ओलीलाई पनि दुवै अध्यक्ष मिलेर अघि बढ्न आग्रह गरेका थिए।

दाहाल पुगे शीतलनिवास

विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष दाहाल भने शीतलनिवास पुगे। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो नै प्रचण्डलाई बोलाए पनि छलफलका कारण प्रचण्ड साँझमात्र शीतलनिवास पुगेका थिए। राष्ट्रपति भण्डारी र प्रचण्डबीच शीतल निवासमा करिब दुई घण्टा छलफल भयो। उक्त भेटमा समसामयिक विषयमा छलफल भएकाे बताइएको छ। छलफलका अन्य एजेन्डाबारे भने केही बताइएको छैन।

यसअघि आइतबार भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बालुवाटार बोलाएकी थिइन्। ओलीले भण्डारीसँग एक घन्टाभन्दा बढी छलफल गरेका थिए।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला भण्डारीको सक्रिया बढ्ने गरेको छ। संवैधानिक भूमिकाकी राष्ट्रपतिको सक्रियतालाई धेरैले निकोमा मानेका छैनन्। तर, नेकपा विवादमा धेरैपटक राष्ट्रपति भवनबाटै निर्णायक सहमति जुटिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell