जनकपुरधाम : कात्तिक शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ चल्ने छठपर्व बुधवारबाट विधिवत रुपमा शुरु भएको छ। सूर्यको उपासना गरिने यो पर्वमा पहिलो दिन बुधवार ‘नहाय-खाय’ मनाइँदै छ। चौथी तिथिका दिन बर्तालुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखो खाएर व्रत संकल्प गर्दछन्। यसलाई मिथिलामा ‘नहाय-खाय’ भनिन्छ।
धनुषासहित मिथिलाञ्चलका अन्य जिल्लाहरुलाई दिपावली, भातृद्वितियासहितका पर्व सम्पन्न भएलगत्तै अहिले आस्थाको महापर्व छठको रौनकताले छोएको छ। मिथिलाञ्चलवासीहरुका लागि प्रमुख पर्वहरुमध्ये यो पनि एक मानिन्छ। जसरी दियोको पर्व दिपावलीको तयारी १५ दिनअघि देखि शुरु हुने गर्दछ त्यसरी नै छठ पर्वको तयारी पनि ५/७ दिन पहिलेदेखि नै शुरु हुने गर्दछ।
कात्तिक शुक्ल चतुर्थीेको दिनदेखि शुरु हुने यो पर्व कात्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ। यो पर्वमा खास गरी सूर्यदेवको उपासना गरिन्छ। हिन्दु धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै रहँदै आएको मानिन्छ। त्यसले गर्दा समेत यस पर्वको परम्परालाई उक्त रुपले नै देखिन्छ।
गरिब, धनी, ब्राह्मण, दलित, उचनिचको ख्याल नगरी यो पर्व एकै साथ मिलेर मनाइन्छ। जसले गर्दा समाजमा रहेका छुवाछुत जस्ता विकृति हटाउन सहायक शिद्ध हुने संस्कृतिविद् डा रेवतीरमण लाल बताउँछन्।
बुधवारबाट विधिवत रुपमा शुरु भएको छठको पहिलो दिन नहाय-खाय विधि मनाइन्छ। त्यस्तै, दोस्रो अर्थात पञ्चमी तिथिका दिन बर्तालुले दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खाने गर्छन्। दोस्रो दिनको यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ।
पर्वको मुख्य दिन षष्ठी तिथिका दिन बर्तालुले निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ्य दिन्छन्। यस पर्वमा सप्तमी युक्त षष्ठी तिथिमा व्रत बस्ने परम्परा रहेको छ। सूर्य देवतालाई पहिलो दिनको अर्घ्य उक्त दिन नै अर्पण गरिन्छ जसलाई मैथिली भाषामा ‘सझुँका अर्घ्य’ भनिन्छ।
सूर्य देवतालाई खास गरी उक्त दिन अर्घ्य दिइने गरिन्छ जुन दिन उदयकालमा केही बेरका लागि भएपनि षष्ठी तिथि परेको होस् ठिक त्यसै अनुरुप उदयकालमा दिइने अर्घ्यका लागि समेत त्यही विधि अपनाईन्छ र उक्त दिन पनि सप्तमी तिथि नै रहेको बेला ‘भोरका अर्घ्य’ दिईन्छ।
छठ पूजामा जुन सामाग्री साँझको समयमा सूर्य देवतालाई प्रसादको रुपमा अर्पण गरिन्छ उक्त प्रसाद नै पुनः बिहानको समयमा अर्थात् ‘भोरका अर्घ्य’ मा दिइने परम्परा रहेको छ। हुनत सूर्य देवतालाई अर्पण गरिएको प्रसादहरु साँझदेखि बिहानसम्म जलाशयमा बनाइएको घाटमा नै राखिन्छ तर केही स्थानमा जस्तै कि नदीहरुमा अचानक आउने बाढी, जनावर वा असुरक्षाका कारण घाटबाट प्रसादहरु घर लगिन्छ र भोलि बिहान सूर्य उदाउनुभन्दा अगावै पुनः त्यो प्रसाद घाटमा ल्याइने व्रती जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ की मधु झा बताउँछिन्।
छठ पूजाको तयारी अन्तिम चरणमा
जनकपुरधामसहित तराई मधेशमा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ। कोरोना महामारीका बीच पहिलो पटक हुन लागेको छठ पर्वको तयारीमा भने कुनै कमी आएको छैन।
जनकपुरधामको छठ पर्व नेपालमै सबैभन्दा प्रसिद्ध रहेकोले यहाँ हप्तौँ पहिले देखि तयारी शुरु गरिन्छ। तर, यस पटक भने केहि दिन बाँकी रहेको समय पोखरीहरुलाई सजावट गर्ने काम थालिएको छ। जनकपुरधामको ऐतिहासिक पोखरी गंगा सागर, अरगजासर, दशरथ तलाउ, नोचा पोखरी लगायतका सरोवरहरुमा सजावटको काम शुरु भएको छ।