
जनकपुरधाम : मिथिलाञ्चलको लोक आस्थाको पर्व छठको दोस्रो दिन आज खरना विधि मनाइँदै छ। छठ पर्व गरेका व्रतालुहरुले आज बेलुका इष्टदेवलाइ पूजा अराधना गरी खरना विधि सम्पन्न गर्ने छन्।
खरना विधिमा माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलको खीर पकाइन्छ। खरनामा नैवेद्य चढाउने बेलामा जतिवटा अर्घदान गरिने हो, त्यति स्थानमा केराको पातमाथि नैवेद्य चढाउने परम्परा रहेको छ।
यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, अदुवा पान र सुपारी आदि राखिन्छन्। नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ नैवेद्यलाई उत्सर्ग गरिसकेपछि ब्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्ने प्रचलनलाई खरना भन्ने गरिन्छ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चारदिन मनाइने यो पर्वमा सम्पूर्ण शक्तिको स्रोत सुर्यको उपासना गर्ने गरिन्छ। यो महापर्वको पहिलो दिन नुहाएर चोखो भई खाने जसलाइ मैथिली भाषामा (नह्या खाय)विधि मनाइन्छ, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउदो र चौथो दिन उदाउँदो सुर्यलाई अर्घ दिएपछि विधिवत रुपमा सम्पन्न हुने गर्दछ।
छठको तयारी पुरा
मिथिलाञ्चलमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि जनकपुरधामलगायत मिथिलाका विभिन्न स्थानमा तयारी भईरहेको छ। यसका लागि पोखरीका डीलहरुलाई सरसफाई गरिएको छ भने पोखरीको डिलमा पण्डाल लगाइ भव्य रुपमा सिंगारिएको छ। पोखरी नै पोखरीको शहरको रुपमा समेत परिचित जनकपुरधामका प्रमुख पोखरी गंगासागर, अंगराजसर लगायतका अन्य पोखरीहरुमा छठ पूजाक लागि पण्डाल लगाइँ भव्यरुपमा सिंगारिएको छ।
शुक्रवार हुने छठ पर्वका लागि जनकरपुरधाममा कोरोना संक्रमणको भय कायमै रहेकोले सावधानी अपनाएरै पूजापाठ गर्ने व्यवस्था मिलाइदैछ।
कोरोना संक्रमणको त्रास रहेपनि सावधानी अपनाएर यस पटक गंगासागरमा पूजा आयोजन हुने जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३का वडाध्यक्ष दीपेन्द्र साहले बताए। ‘स्थानीय प्रशासनको आग्रह र ब्रतालुको आस्था दुवैलाई ध्यानमा राखेर छठ पर्व व्यवस्थापन गर्न स्थानीय पूजा समितिलाई आग्रह गरिएको उनले बताए।
जनकपुरधामको गंगासागर पोखरीमा छठ पर्वको प्रमुख आकर्षण हुन्छ र यहाँ छठ पर्व गर्न आउनेहरुको भीड पनि बढी हुन्छ। यस पोखरीमा गंगासागर छठ पूजा समिति, जनक युवा क्लब र बजरंग युवा कमिटीले छठ पूजाका लागि व्यस्थापन गर्दै आई रहेको छ।
गंगासागर पोखरीमा छठ पर्व मनाउन आउनेहरुको परिवारका एक सदस्य र साथमा छठका लागि अन्य दुई जनालाई मात्र प्रवेशको व्यवस्था मिलाइएको गंगासागर छठ पूजा समितिका संयोजक सोनु निधिले जानकारी दिए।
जनकपुरधामको गंगासागर पोखरीका अतिरिक्त धनुषसागर, अंगराज सर, दशरथ तलाउ, जानकी सरोवरलाई स्थानीय युवा क्लबहरूले सजाइरहेका छन्। धनुषसागरमा गणेश युवा कमिटी र राम युवा कमिटी, अंगराज सरमा मिथिला सेवा समाज र जानकी युवा कमिटीले छठ पूजा व्यवस्थापन गरिरहेका छन्।
स्थानीय प्रशासनले छठ पूजा गर्दा सावधानी अपनाएर, सामाजिक दूरी कायम गरेर पोखरी र पानीमा प्रवेश नगरी पर्व मनाउन विज्ञप्ति नै जारी गरि सकेको छ। यद्यपि यसको प्रभाव नदेखिएको सहजै देख्न सकिन्छ।
प्रशासन भन्छ : कसैले टेर्दैनन्
स्थानीय प्रशासनले पोखरीमा प्रवेश नगर्न आग्रह गरे पनि पोखरीका डिलहरुलाई छठ पर्वका लागि तयार गरिएको छ भने श्रद्धालुहरु छठ पर्वको अन्तिम तयारीमा लागेका छन्। केही दिन अघि एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले खोला, नदी तथा पोखरीहरु भित्र पसी छठ पर्व नमनाउन आग्रह गरेका थिए। यद्यपि प्रशाासनका आग्रहका बाबजुद छठका लागि श्रद्धालुहरु पोखरीका डिलहरुलाइ भव्य रुपमा सजाएका छन्। यता धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले आफुहरुले गरेको आग्रह कसैले नटेरेको बताए। उनले भने, ‘हामीले आग्रह गरेका थियौं। यहाँको मान्छेले टेरेन के गर्ने? यद्यपि हामीहरु भिडभाड हुन दिँदैनौ, अनुगमन गर्छौ।’