PahiloPost

Jul 4, 2025 | २० असार २०८२

के माउथ वासले कोरोना भाइरस मार्छ?



के माउथ वासले कोरोना भाइरस मार्छ?
फोटो : Getty Images

कोरोना भाइरसको संक्रमण देखिएको १ वर्ष भइसक्दा पनि हालसम्म यो भाइरसविरुद्ध भ्याक्सिन बन्न सकेको छैन। अमेरिका, चीन, भारत, बेलायत लगायतका राष्ट्रहरु भ्याक्सिन परीक्षणको अन्तिम चरणमा छन्। सम्भवत सन् २०२० को अन्त्यसम्ममा भाइरसविरुद्ध इम्युनिटी बढाउन सक्ने भ्याक्सिन प्रमाणित भएर आउने विश्वास गरिएको छ। यद्यपि, भ्याक्सिन सबैका लागि उपलब्ध हुने सम्भावना कम छ।

त्यसैले भ्याक्सिन आए पनि पर्याप्त मात्रामा उत्पादन नभएसम्म मानिसहरु सतर्क हुनुबाहेकको अन्य विकल्प नरहेको विज्ञ बताउँछन्।

विकल्प भन्नु नै स्वास्थ्य मापदण्ड पालना गर्नु हो। किन भने भाइरसको औषधि अहिलेसम्म बनेको छैन। तातोपानी पिउनु, बेसार पानी वा अन्य आयुर्वेदिक औषधिहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउने हो। त्यसले कोरोना भाइरसलाई परास्त भने गर्ने प्रमाणित भइसकेको छैन।

कोरोना संक्रमण सुरुवाती चरणमा रहेको बेला स्यानिटाइजरको माग ह्वात्तै बढेको थियो। स्यानिटाइजरले कोरोनालाई मार्ने त होइन तर हातमा रहेका किटानुहरु सफा गर्न भूमिका खेल्ने हो। अहिले संक्रमणको अवस्था उच्चविन्दुमा रहँदा ‘माउथवास’ ले कोरोना भाइरसबाट बचाउन सक्ने बारेमा चर्चा भइरहेको छ।

के हो वास्तविकता?

कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरुले माउथवासको प्रयोगले कोरोना भाइरस नष्ट गर्न प्रभावकारी हुन सक्ने अध्ययनको क्रमको देखिएको बताएका छन्। दाँतमा किरा लाग्ने रोगविरुद्ध र मुख सफा गर्न प्रयोग हुने माउथवासको प्रयोगले ३० सेकेन्डभित्रै कोरोना भाइरस नष्ट हुने आशाजनक संकेत देखिएको वैज्ञानिकहरुले बताएका हुन्।

युनिभर्सिटी हस्पिटल अफ वेल्समा रहेका कोभिड १९ संक्रमितहरुको क्लिनिकल ट्रायलको क्रममा यस्तो नतिजा देखिएको वैज्ञानिकहरुले बताएको बीबीसीले उल्लेख गरेको छ। डा निक क्लेडनका अनुसार उक्त अध्ययनबाट प्राप्त नतिजाले माउथवास मानिसहरुको दैनिकीको हिस्सा बन्ने सक्ने आधारहरु देखिएका छन्।

तर, यो अध्ययनको वैज्ञानिक पुष्टि हुन अझै बांकी रहेको छ। यो क्लिनकल ट्रायलमा गरिएको अध्ययनबाट देखिएको नतिजामात्रै भएक विज्ञहरुले बताएका छन्। अध्ययनबाट माउथवासले स्लाइभामा रहने भाइरस मार्न सक्ने देखिएपनि श्वास्प्रश्वासको नली र फोक्सोसम्म पुग्न नसक्ने भएकाले कोरोना भाइरसको उपचारको लागि प्रयोगमा आउने सम्भावना निकै कम रहेको विज्ञहरु बताउँछन्।

विश्वविद्यालयका अनुसार ल्याबमा गरिएको परीक्षणका क्रममा ०.०७ प्रतिशत साइटोपिरिडिनियम क्लोराइड सिपिसि भएका माउथवासहरुको प्रयोगमा सकारात्मक नतिजा देखिएको हो। उक्त सकारत्मक नतिजाको थप वैज्ञानिक पुष्टि हुन बाँकी छ।

सीएनएनका अनुसार भाइरसलाई माउथवाससँगै धेरै कुराले मार्न सक्ने भए पनि त्यसले भाइरसको स्रोतलाई रोक्न सक्दैन।

‘हो। केही डाटाहरु बाहिरिएका छन्। म त्यसलाई महान् डाटा भनेर भन्दिनँ। हाल चर्चामा रहेका वस्तुले भाइरसलाई निष्कृयमात्र बनाउने हो’ युनिभर्सिटी अफ पिट्सबर्ग स्कुल अफ मेडिसिनका डा ग्रहाम स्नाइडरले भने।

मदिरा, क्लोहेक्सीडाइन, हाइड्रोजन पेरोक्साइडलगायतका कम्पाउन्डहरुले भाइरसलाई कन्ट्याक्ट भएकै बेला त्यसको केही समयपछि मार्न सक्छ। तर कुनै पनि अध्ययनले तिनीहरुले भाइरसबाट संक्रमित हुन वा सर्न रोक्न भनेर प्रमाणित नभएको साइन्डर बताउँछन्।

भाइरसको स्रोत नाक, फोक्सो, श्वास्प्रश्वासको नली र भोकल कर्डमा रहने गरेको युनिभर्सिटी अफ म्यारील्यान्डका डा डोनाल्ड मिल्टन बताउँछन्।

साइन्डर भन्छन्, ‘मुख सफा गर्न माउथवासको प्रयोग गर्न सकिन्छ। तर त्यति गर्नैमा रोग लाग्दै भन्ने हुँदैन। यी वस्तुहरुको प्रयोगबाट कुनै रोगलाई रोक्न सकिँदैन। भाइरसले त्यहाँ आक्रमण गर्न सक्छ नै।’

त्यसलै माउथवासले भाइरसलाई मार्छ भनेर बिना थप वैज्ञानिक प्रमाणबाट पुष्टि नगरी भन्न नहुने विज्ञहरुको सुझाव छ। जर्ज वासिङटन युनिर्भसिटी अफ स्कुल अफ पब्लिक हेल्थकी डा लिना वेन माउथवास लगायत अन्य डिस्इन्फेक्टन्टले भाइरस निल्नबाट भने रक्षा गर्न सक्ने बताउँछिन्।  

माउथवासको बारेमा बहस भइरहँदा कार्डिफको अनुसन्धानमा रहेका डा रिचर्ड स्टनटोन भन्छन्, ‘यो प्राज्ञिक अनुसन्धान हो। यसलाई सामान्य रुपमा लिनुपर्छ। यो अध्ययनको वैज्ञानिक परीक्षण भएको छैन।’

उनले हालसम्म माउथवासको प्रयोगले भाइरस मार्ने प्रमाणित भइनसकेको भन्दै मानिसहरुलाई भौतिक दूरी कायम राख्न र हात मुख धुन आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell