PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

घुन्सामा प्रधानमन्त्री ओलीको तीन घण्टा, हेलिकप्टरबाट पुगेर देखाए सडक सपना

घुन्सामा प्रधानमन्त्री ओलीको तीन घण्टा, हेलिकप्टरबाट पुगेर देखाए सडक सपना


काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) भित्र शक्ति संघर्ष उत्कर्षमा पुगेको बेला ‘कुलिङ पिरियड’ मा प्रधानमन्त्री केपी शर्मा ओली सोमबार ताप्लेजुङ पुगे। श्रीमती राधिका शाक्य, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, पर्यटनमन्त्री योगेश भट्टराईसहित ओली बिहानै ताप्लेजुङका लागि उडेका थिए।

फक्ताङ्लुङ गाउँपालिका -६ घुन्सा पुगेर ओलीले घुन्सा फाउण्डेशनद्वारा निर्मित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गरे। उद्घाटनअघि उनले छिमेकी चीनसँगको सीमा क्षेत्र ओलाङचुङ्गोला क्षेत्रको हवाई निरीक्षण पनि गरे।

कञ्चनजङ्घाको काखमा रहेको घुन्सा पर्यटकीय क्षेत्र हो। घुन्सामा ओलीसहितको टोलीलाई स्थानीयले भव्य स्वागत गरे। करिब ३ घण्टा घुन्सामा बिताएका ओलीको केही समय स्थानीयको घरमा समेत आराम गरे। स्थानीयस्तरमा उत्पादित सामाग्रीको निरीक्षण पनि गरे।

ओलीले दुर्गम घुन्सा आगामी तीन वर्षमा सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने आश्वासन समेत स्थानीयलाई दिए।  

कञ्चनजङ्घा हिमालको प्रवेशद्वार मानिने हिमाली गाउँमा प्रधानमन्त्रीको आश्वासन सुनेर घुन्साबासी उत्साहित देखिएका थिए। ओलीको आगमनले दुर्गम घुन्साको विकासमा सरकारको ध्यानाकर्षण हुने विश्वास स्थानीयको छ। पर्याप्त विद्युत् र  इन्टरनेटको सेवा-सुविधा नहुँदा सास्ती खेप्दै आएका घुन्सावासीले अब सो समस्या हट्ने आशा गरेका छन्। 

प्रधानमन्त्रीको घोषणा सुनेर स्थानीयले विगतमा स्वास्थ्य उपचार नपाएर धेरैले सुत्केरी अवस्थामा ज्यान गुमाउनु परेको, स्वास्थ्यमा जटिल समस्या आउँदा बिरामीलाई बोकेर तीन दिनपछि मात्र अस्पताल पुर्‍याउनु परेको, देश-विदेशबाट आउने पर्यटकलाई समेत स्वास्थ्यमा समस्या आउँदा टुलुटुलु हेर्नुपरेको जस्ता समस्याबाट मुक्त हुनेमा विश्वास व्यक्त गरे।

हिमाली क्षेत्र पुगेर ओलीले पार्टीभित्र देखिएको विवादका बारेमा पनि बोले। सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न आग्रह गर्दै उनले आफ्नो सरकार मुलुकको समृद्धिका लागि चौतर्फी रुपमा लागिपरेको दाबी गरे। कोरोना जोखिमबीच भइरहेको भ्रमण कार्यक्रममा  भौतिक दूरी र स्वास्थ्य मापदण्ड पालना भने भएको भने देखिएन।

राससको सहयोगमा / तस्विर : राजन काफ्ले



ट्रेन्डिङ पोस्ट

Ncell