PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

६ वर्षीया बालिकाको हत्यापछि बर्दिबास तनावग्रस्त, अभियुक्त साहको यसअघिको हत्यामा पनि कनेक्सन!



सुमित मिश्र

६ वर्षीया बालिकाको हत्यापछि बर्दिबास तनावग्रस्त, अभियुक्त साहको यसअघिको हत्यामा पनि कनेक्सन!

जनकपुरधामः महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिका हत्या गरेपछि स्थिति तनावग्रस्त बनेको छ।

आइतबारदेखि हराएकी बर्दिबास नगरपालिका–१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलाव खातुनको आज शव फेला परेको थियो। त्यसपछि प्रहरीले अनुसन्धानको क्रममा हत्याको अभियोगमा २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको छ।

बलात्कारपछि हत्या भएको भन्दै स्थानीय र आफन्तले आज प्रदर्शन तथा विरोध गरिरहेका छन्। त्यसै क्रममा अभियुक्त साहको घरमा समेत आगजनी गरेका छन्। प्रहरीले शव आफ्नो नियन्त्रणमा लिन २ दर्जन भन्दा बढी राउन्ड अश्रु ग्यास र हवाई फायर गरेको छ।  भीड नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु परेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले जानकारी दिए।

प्रहरीले गरेको फाइरिङ तीन जना घाइते भएका छन्। घाइते हुनेमा श्याम कार्की र अफ्ताव आलम रहेका छन् भने एक जनाको नाम खुल्न सकेको छैन।

बालिकाको शव बर्दिबास–१४ कै शुभम् बस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला थियो। बर्दिबास–१४ को शुभम् बस्तीस्थित सामुदायिक परिवार कल्याण सङ्घको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिए।

अभियुक्त साहको यसअघि पनि अर्को हत्या प्रकरणमा कनेक्सन !

प्रहरीले नियन्त्रणमा लिएका २५ वर्षीय साह पसल चलाउँदै आएका थिए। साहले चक्लेट किन्न गएको समयमा बालिकाको हत्या गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ। उनले हत्या गरेको समेत स्वीकार गरिसकेको प्रहरीले जानकारी दिएको छ। स्थानीय र आफन्तले भने बलत्कारपछि हत्या गरेको आरोप लगाएका छन्। तर, पोष्टमार्टको रिपोर्ट नआएसम्म बलत्कारपछि हत्या भएको हो वा होइन भन्ने सकिने प्रहरी बताउँदै आएको छ।

साह यसअघि समेत एक हत्या अभियोगमा पक्राउ परेर रिहा भएको खुलेको छ। उनले अघि आफ्नै साथीलाई हत्या गरेको आरोपमा पक्राउ परी अदालतको आदेशमा धरौटीमा रिहा भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए।

२०७७ वैशाख २८ गते आफ्नै साथी दिलीप ठाकुर लाई रक्सीको मातमा ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका थिए। हत्या आरोपमा पक्राउ परेका साहलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दामा थुनछेक आदेशको क्रममा महोत्तरी जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको निरीक्षक रेग्मीले बताए।

जिल्ला अदालत महोत्तरीका न्यायधीश सुमनकुमार न्यौपानेको इजलासले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। केही समय रकम जम्मा गरेपछि उनी रिहा भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell