PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

बालिका हत्या प्रकरण : प्रदर्शनकारीबाट प्रहरीले खोस्यो शव, गोली लागेर तीन जना घाइते

बालिका हत्या प्रकरण : प्रदर्शनकारीबाट प्रहरीले खोस्यो शव, गोली लागेर तीन जना घाइते

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : बर्दिबासमा हत्या भएकी ६ वर्षीया बालिकाको शवलाई प्रहरीले प्रदर्शनकारीबाट नियन्त्रणमा लिई पोस्टमार्टमको लागि जनकपुर ल्याएको छ। बलात्कार पश्चात हत्या भएकी ६ वर्षीया बालिका गुलाबा साह खातुनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको हो।

मंगलवार दिउँसो स्थानीयले शव भेटेको ठाउँबाट उठाएर बर्दिबास चोकमा राखी पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। प्रहरीले गोली चलाएर बालिकाको शव नियन्त्रणमा लिई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल ल्याएको हो। प्रहरीले गोली चलाएपछि भिड तितरवितर भएको थियो।

प्रहरीको गोली लागेर तीन जना प्रदर्शनकारी घाइते समेत भएका छन्। गोली लागेर बर्दिबासका ३५ वर्षीय संजय भनिने बुद्धिराज न्यौपाने, अफताब आलम र श्याम कार्की गम्भीर घाइते भएका हुन्। बुद्धिराजको तिघ्रामा गोली लागेको र उनको अवस्था गम्भीर रहेका कारण थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए।

त्यस्तै, अफताब आलम र श्याम कार्कीको अवस्था समेत बिग्रिदै गइरहेकोले उनीहरुलाई समेत थप उपचारका लागि काठमाडौं लग्ने तयारी भइरहेको छ। हाल अफताब आलम र श्याम कार्कीको उपचार बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा भइरहेको छ।

बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएपछि घण्टौँदेखि अवरुद्ध रहेको महेन्द्र राजमार्ग प्रहरीले खुलाएको छ।

दिनभर यस्तो रह्यो बर्दिबासको अवस्था, हेर्नुहोस् फोटोहरु :



ट्रेन्डिङ पोस्ट

Ncell