PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

निषेधाज्ञाकै बीच बर्दिबासमा प्रदर्शन, दुई राउन्ड अश्रु ग्यास प्रहार



सुमित मिश्र

निषेधाज्ञाकै बीच बर्दिबासमा प्रदर्शन, दुई राउन्ड अश्रु ग्यास प्रहार

जनकपुरधाम : महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि स्थानीयले बिहानैदेखि विरोध तथा प्रदर्शन गरेका छन्।

६ वर्षीया बालिका हत्याको विरोधमा प्रदर्शनमा स्थानीय उत्रेका थिए। प्रदर्शनकै क्रममा सञ्जय भनिने बुद्धिराज न्यौपानेको प्रहरीले चलाएको गोली लागि मृत्यु भएपछि तनाव थप बढेको हो। स्थानीय प्रशासनले निषेधाज्ञा लगाए पनि आक्रोशितहरूले बिहानैदेखि प्रदर्शन गरेका हुन्।

प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन भन्दै दुई राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको छ। आज बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहान ९ बजेदेखि भोली बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो।

आइतबारदेखि हराएकी बर्दिबास नगरपालिका–१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलाब खातुनको मङ्गलवार शव फेला परेको थियो। त्यसपछि प्रहरीले हत्याको अभियोगमा २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको छ। मङ्गलवार प्रहरीले नियन्त्रणमा लिइएका साहको घरमा आक्रोशित स्थानीयले आगजनी गर्दै प्रदर्शन गरेका थिए।

सोही क्रममा प्रदर्शनमा उत्रेका स्थानीयमाथि प्रहरीले गोली प्रहार गर्दा बर्दिबास नगरपालिका १ का सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको छ। गोली लागेर गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा काठमाडौँको ग्रान्डी अस्पतालमा आज बिहान २ बजे मृत्यु भएको हो। यस्तै गोली लागेर अफताब आलम र श्याम कार्की गम्भीर घाइते भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell