PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

स्कुल भर्ना भएको खुशी टिक्न नपाउँदै हत्याराको सिकार : बाबुको सपना मर्‍यो, छोरीको खुशी



सुमित मिश्र

स्कुल भर्ना भएको खुशी टिक्न नपाउँदै हत्याराको सिकार : बाबुको सपना मर्‍यो, छोरीको खुशी

जनकपुरधामः आइतबार बिहानदेखि नै ६ वर्षीया गुलबासा खातुनको अनुहारमा बेग्लै खुशी देखिन्थ्यो। कारण धेरै ठूलो थिएन - भोलिदेखि (सोमवार) उनी विद्यालय भर्ना भएर पढ्न पाउँदै थिइन्। मुस्लिम समुदायमा छोरीले पढ्न पाउनु अहिले पनि हाम्रो जस्तो समाज सामान्य बन्न सकेको छैन।

त्यही समाजमा खातुनले भने टाई जुत्ता लगाएर अङ्ग्रेजी मिडियमको विद्यालयमा पढ्न पाउँदै थिइन्। आइतबार उनी यूकेजीमा भर्ना भएकी थिइन्। त्यसैले उनको अनुहारमा बेग्लै खुशी देखिन्थ्यो। परिवारले पनि छोरीलाई पढाएर असल मान्छे बनाउने सपना बुनेका थिए। तर, उनको र परिवारको सपना कहिल्यै पूरा नहुने गरी तुहिएको छ। किनकि उनी अब यो संसारमा रहिनन्। उनको शव भेटियो, हत्या गर्र फ्याँकिएको अवस्थामा।

बर्दिबास नगरपालिका वडा नम्बर १४ शुभम् बस्तीकी ६ वर्षीया खातुनको शव बस्ती नजिकै भेटियो। सामुदायिक परिवार कल्याण सङ्घको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको खाली जग्गामा हत्या गरी फ्याँकिएको अवस्थामा उनको शव भेटियो।

यिनै बालिकाको हत्या प्रकरणले अहिले महोत्तरी तातेको छ। हत्यारालाई कारबाहीको माग गर्दै मङ्गलवार भएको प्रदर्शनमा एक युवकको प्रहरीको गोली लागि मृत्यु भएको छ। यता बालिकाको हत्यापछि परिवारमा सदस्यमा शोकले आँखा ओभाएको छैन।

आइतबार गुलबासको अनुहार देखिएको खुशी उनकी फुपू सेलिना खातुनलाई अहिले पनि झलझल्ती आइरहेको छ। सेलिनाको घर पनि शुभम् बस्तीमा नै छ। छेउमै भएको कारणले पनि गुलबास फुपूको घरमा पुग्ने गर्थिन्। आइतबार पनि विद्यालय भर्ना भएको खुशी साट्न उनीकहाँ पुगेकी थिइन्।

'दौडँदै आएकी थिई। फुपू राम्ररी पढ्छु। मेरो एड्मिसन भयो भन्दै थिई,' सेलिनाले सुनाइन्। उनलाई अझै पनि विश्वास लागेको छैन उनकी भतिजी अब यो संसारमा छैनन् भनेर।

'गुलबसाको त्यो खुशी मिसिएको अनुहार अहिले पनि मेरो मस्तिष्कमा ताजै छ। तर के थाहा पापीहरूले मेरो भतिजीको सपना पूरा नहुँदै यसरी चकनाचुर गर्छन् भन्ने,’ उनले सुनाइन्।

बुबा शहीद आलमको पनि छोरीलाई पढाएर ठूलो मान्छे बनाउने रहर थियो। उनको यो रहर त पूरा भएन नै छोरी नै गुमाउनुको पीडा भोग्न पर्‍यो। छोरीलाई पढाएर मुस्लिम समुदायमा एउटा उदाहरण बाबु बन्न चाहन्थे उनी। तर, चाहना चकनाचुर भयो।

कसरी भयो घटना?

आइतबार दिनभर गुलबसा कहिले फुपू त कहिले छिमेकी कहाँ पुगिरहिन्। नजिकै किरना पसल छ। सधैँ झैँ उनी त्यो दिन पनि चकलेट किन्न पुगिन्। चकलेट किन्न गएकी उनी यसपटक भने फर्किनन्।

रात पर्दै गयो। परिवारले उनको बाटो हेरिरहे। तर, उनी आइनन्। त्यसपछि उनको खोजी सुरु भयो। 'गाउँ टोल भएजति आफन्तको मा खोजी गरेका थियौँ। कतै भएको जानकारी आएन,' सेरिनाले सुनाइन्।

रातभर खोजी गर्दा नभेटिएपछि बुबा शहीदले प्रहरीमा पुगेर भोलिपल्ट बिहान उजुरी दिए। अब आफन्त र छिमेकी मात्र होइन प्रहरी समेत बालिकाको खोजीमा लाग्यो। छोरी हराएपछि परिवार बिछिप्त बनिसकेको थियो।

एकाएक मङ्गलवार बिहान बालिकाको शव भेटियो। त्योमात्र होइन प्रहरीले हत्या गर्ने अभियुक्तलाई समेत नियन्त्रणमा लियो। उनी अरू कोही थिएनन्, एउटै टोलका २५ वर्षीय अरुण साह थिए। बालिका चकलेट किन्न गएको पसल उनै युवकको थियो। उनको पुर्खौली घर भने गौशाला थियो।

शङ्का लागेर उनको बर्दिबासको घर खानतलासी गर्न थालेपछि उनी भागेर पुर्खौली घर गौशाला पुगेका थिए। त्यसपछि उनले आफ्ना बाबुलाई आफूले बालिकाको हत्या गरेको घटना सुनाएका थिए। यता प्रहरीले उनी भागेको थाहा पाएपछि आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिने तयारी गरिसकेको थियो।

तर, परिवारका सदस्यले नै हत्या गरेर उनी घरमा आएको जानकारी प्रहरीमा दिए। ‘अरुण घरमा गएर हत्या गरेको भन्ने खबर सुनाएपछि हामीलाई उनको आफन्तले फोन गरेका थिए। अनि हाम्रो टोली घरमा गएर नियन्त्रणमा लिएको हो,' इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले भने।

प्रहरीले युवकलाई नियन्त्रणमा लिएपछि उनले नै बालिकाको हत्या गरेर फ्याँकेको स्थान देखाएका थिए। राति नै शव भएको ठाउँमा प्रहरी टोली पुगेर हेर्दा माटो मुनि बोरामा बाँधिएको अवस्थामा शव फेला परेको थियो।

घटना हत्या मात्र कि बलात्कारपछि हत्या भन्ने अझै खुल्न सकेको छैन। प्रहरीले यस विषयमा अनुसन्धान गरिहरेको छ।

अभियुक्त युवकको आपराधिक कनेक्सन

प्रहरीले अभियुक्तलाई हिरासतमा लिएर अनुसन्धान गर्दा उनको अन्य अपराधमा पनि कनेक्सन देखिएको छ। साह यसअघि आफ्नै साथीको हत्यामा संलग्न भएर अनुसन्धानमा लिइएका व्यक्ति थिए। जिल्ला अदालत महोत्तरीको आदेशमा उनी १ लाख रुपैयाँ धरौटीमा रिहा भएको खुल्यो।

करिब ८ महिना अघि, अर्थात् २०७७ वैशाख २८ गतेका दिन उनी साथी दिलीप ठाकुरको हत्या गरेको आरोपमा पक्राउ परेका थिए। साथी दिलीप ठाकुरलाई रक्सीको मातमा ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

हत्या आरोपमा पक्राउ परेका साहलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दामा थुनछेक आदेशको क्रममा महोत्तरी जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। जिल्ला अदालत महोत्तरीका न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। केही समयमै रकम जम्मा गरेपछि उनी रिहा भएका थिए।

आठ महिनापछि फेरि उनी अर्को ज्यान केसमा हिरासतमा नै छन्। उनले साविति बयान दिइसकेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell