PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

बीबीसीको प्रभावशाली १०० महिलाभित्र परेकी नेपाली मुलकी बर्मेली नन्दु ज्ञवालीको विद्रोहको कथा



स्वेच्छा राउत

बीबीसीको प्रभावशाली १०० महिलाभित्र परेकी नेपाली मुलकी बर्मेली नन्दु ज्ञवालीको विद्रोहको कथा

‘नाम त मेरो आयो। तर मैले जुन मान्यता पाएँ त्यसमा सम्पूर्ण बर्मेली महिलाको हक छ। उहाँहरूको काम र भोगाइको योगदान छ।’

यो भनाई हो नेपाली मूलकी बर्मेली नागरिक नन्दु ज्ञवालीको। बीबीसीको सन् २०२० लागि प्रभावशाली सय महिलाको सूचीमा नन्दु पनि परेकी छिन्।

विश्वभरका सय प्रभावशाली महिलाको नामको सूचीमा आफ्नो नाम अटाएको देख्नासाथ नन्दुले त्यसको खुशी सबैभन्दा पहिले आमासँग साटिन्। तर, म्यानमारको दुर्गम मानचाङमा रहेकी आमासम्म पुग्नुभन्दा अगाडि नै फैलिसकेको थियो खबर। नन्दुलाई बधाई र धन्यवाद व्यक्त गर्नेहरू उत्तिकै। उनले भने आफू मनोनित भएको खबर एक महिना अघि नै पाएकी थिइन्।

सन् २०१९ को मेमा उनी सिंगापुरमा आयोजित  ‘स्प्लाइस बेटा’ नामक कार्यक्रममा आयोजना गरिएको थियो। उक्त कार्यक्रम भर्खरै सञ्चारकर्ममा लागेकाहरूका लागि थियो। नन्दुले पोडकास्ट सुरु गरेकी थिइन्। कार्यक्रमको छलफलसत्रमा उनी वक्ता पनि थिइन्। त्यहाँ उनले पोडकास्ट सुरु गर्नुको कारण, त्यसमार्फत् आफूले उठाएको विषय, त्यसका चुनौती आदिबारे बोलेकी थिइन्।

त्यस कार्यक्रमपछि उनलाई एक बीबीसी प्रतिनिधिले सहयोगको आग्रह गरिन्। भनिएको थियो – तपाईंको देश म्यानमारमा समाज परिवर्तनका लागि काम गरिरहेका महिलाहरूको नाम दिन।

‘मलाई सञ्चार माध्यममा सक्रिय देखेर सायद त्यो आग्रह गरियो। सहयोग गर्न म पनि खुशी थिएँ,’ नन्दुले सुनाइन्। उनले २ बर्मेली र बर्मामा रहेर काम गर्ने एक क्यानडाली महिला अभियान्ताको नाम उपलब्ध गराइन्।

ठीक एक वर्षपछि उनलाई त्यो इमेल आयो जसमा बीबीसी हन्ड्रेड वुमन समूहले यस वर्षको सूचीमा नन्दुले सुझाव दिएको कुनै महिलाको नभइ उनी स्वयं मनोनित भएको जनाइएको थियो।

‘मलाई त बीबीसी हरेक वर्ष यसरी प्रभाव पारेका महिलाको सूची बनाउँछ भन्ने थाहा थिएन। त्यसैले सामान्य रुपमा लिएँ। जब मैले एउटा अनौपचारिक कुराकानीका क्रममा साथीलाई यो खबर सुनाएँ उसको खुशीको सीमा रहेन,’ नन्दुले हाँस्दै सुनाइन्, 'बल्ल थाहा पाएँ यो मान्यताको ठूलो अर्थ छ।'

नन्दु ज्ञवाली नेपाली भाषी बर्मेली हुन्। उनलाई म्यानमार सरकारले दिएको नाम ‘न्यान्डर’ हो। उनी महिला अधिकारवादी हुन्। उनी हिंसा तथा दुर्व्यवहारमा परेका महिलाहरुको उद्धार तथा सहयोग कार्यमा सक्रिय छिन्। उनी आफैले खोलेको संस्था 'पर्पल फेमिनिस्ट ग्रुप' मार्फत् समानताको आवाज उठाइरहेकी छिन्।

आफू हुर्किएको ठाउँमात्र नभइ उनको कर्मथलो र कार्यक्रमका लागि पुगेका अन्य देशहरूमा महिलाको स्थिति देखेपछि उनले उक्त संस्थाको अवधारणा बनाएकी थिइन्। परिवर्तनको थोरै हिस्सा आफ्नो पनि भएको महसुस गरेर उनले जिम्मेवारी उठाइन्।

‘धेरै महिला स्वतन्त्र, स्वावलम्बी र साहसी देखिए।तर, उनीहरूले पनि केही समस्या भोग्नु परेको, पीडा सहनु परेको देखेँ। त्यो पनि महिला भएकै कारण,’ नन्दुले आफू महिलाका लागि आवाज बन्नुको कारण सुनाइन्, 'लैङ्गिकताका कारण सिर्जित अनेक समस्या छन्। तिनको समाधानको बाटो खोज्न आवश्यक देखेँ।'

विशेषगरी लैङ्गिकताका कारण व्याप्त अन्याय विरुद्ध लड्नु थियो उनलाई। त्यसका लागि गडेर रहेको लैङ्गित विभेदको जरा उखेल्नु थियो। विभेदलाई संस्कारको कुनै पाटोको रुपमा स्वीकारेको समाजलाई समानता र समताको भाषा बुझाउनु थियो।

नन्दु माध्यमको खोजीमा लागिन्। सुरुमा उनले कलालाई त्यो माध्यम बनाइन्।

महिलाको यौनिकता र योनीका कारण भोग्नु परेको पीडाका कथाहरुलाई समेटेर नाटक ‘भजाइना मोनोलग’ (योनीका कथाहरु) बनाइन्, सन् २०१८ मा। अङ्ग्रेजी भाषामा मञ्चन भएको उक्त नाटकको चर्चा अन्तर्राष्ट्रिय मिडियामा समेत भयो।

नाटकलाई निरन्तरता दिँदै यस पटक बर्मेली भाषामा पनि अनुवाद गरिन्। अनि बर्मेली भाषामा ‘पीपी जगावाईँ’ बन्यो जसमार्फत् आफ्नो कथा भन्न करिब सय बर्मेली महिलाले अडिसन दिए।

कलाकारको सहभागिता र दर्शकको उपस्थिति नन्दुका लागि एउटा अर्को उपलब्धी बन्यो।

त्यसबेला पनि नाटकले बटुलेको वाहवाही गाउँमा एक्लै बसेकी आमा नरमायासम्मै पुगेको थियो। त्यो बेला उनकी आमाले उनलाई आशिर्वाद दिएकी थिइन् – हरेक पटक तिम्रो फोन आउँदा यस्तै खबर सुन्न पाउँ।

नरमाया बीबीसी बुझ्दिनन्। छोरीसँगै नाम र तस्विर छापिएका कुनै महिला चिन्दिनन्। तर, छोरीको लगनशीलता र दृढता नजिकबाट देखेकी उनले यस्ता हरेक समय चिन्छिन् जतिबेला उनी नाक ठाँडो बनाएर हिँड्छिन् अनि बाटोमा भेटिएका हरेकले भन्छन् – बधाई नन्दुकी आमा।

‘आमाले निकै गर्व महसुस गर्नु भएको छ। अरु बेलामा धेरै नबोल्ने उहाँ अहिले गाउँमा सबैलाई खबर दिँदै बधाई लिँदै हिँड्नु भएको छ रे! म खुशी छु,’ नन्दुले सुनाइन्।

बधाई दिने भिडमा अधिकांश ती छन् जसले नन्दुको सुरुवाती अभियानहरूलाई नेपाली संस्कृति भत्काउने आरोप लगाएका थिए। त्यो अभियान सन् २०१४ मा नन्दुले थाइल्यान्डमा एक कार्यशालामा सहभागी भएपछि सुरु भएको थियो। आठ महिना लामो कार्यशालामा उनले हक, अधिकारका बारेमा अध्ययन गरिन्। अधिकारको हनन्, सामाजिक दमन, हिंसा र दुर्व्यवहारविरुद्ध किन बोल्ने? भन्ने पनि बुझिन्। समानताको आवश्यकता पहिल्याउने कोसिस गरिन्।

‘त्यहीँदेखि हो मैले अन्यायविरुद्ध बोल्ने र सामाजिक समताका लागि लड्ने अठोट लिएको,’ उनले भनिन्।

त्यसअघि सामाजिक तथा लैङ्गिक विभेदले उनलाई दु:खाउथ्यो तर बोल्न धक लाग्थ्यो। बोली हाले समाजले सोध्ने प्रश्न र लगाउने आरोपहरूको डर थियो उनलाई।

तर, सामाजिक परिवर्तनका लागि आफूले पुर्‍याउन सक्ने योगदान बारे बुझिन् तब चुप बसिनन्। अहिले त उनले महिलावाद प्रोत्सहानका लागि सामाजिक सञ्जालदेखि बर्मेली भाषाको किताबमा समेत काम गरेकी छिन्। सन् २०१७ सालमा 'ह्वाइ वी सुड अल बी फेमिनिस्ट' भन्ने किताब बर्मेली भाषामा अनुवाद गरेकी थिइन्। उक्त किताब सार्वजनिक भएपछिको प्रतिक्रियाले उनलाई झन् हौस्यायो।

उनले 'लस्ट इन भायोलेन्स' नामक किताब लेखेकी छिन्। जसमा महिलाहरूले भोगेको हिंसाको अनुभव र त्यसको न्युनिकरणका उपायहरुको विश्लेषण गरेकी छिन्।

हाल ‘फेमिनिस्ट टक विद न्यान्डर’मार्फत् म्यानमारमा महिला आन्दोलनलाई अघि बढ्न सघाएकी छिन्।

‘मैले गरिरहेको कामहरूको मूल्याङ्कन भइरहेको छ भन्ने महसुस गरेकी छु,’ उनले भनिन्, 'नत्र मैले त बीबीसी प्रतिनिधिलाई अन्य महिलाको नाम दिएकी थिएँ। म कसरी मनोनित भएँ? मलाई यो मान्यताले हौसला दिएको छ र थप जिम्मेवारी बोध गराएको छ।'

सन् २०२१ मा उनको अभियान महिनावारीमा हुने विभेद र यससँग जोडिएका अन्धविश्वास विरुद्ध केन्द्रित रहनेछ। विशेषगरी नेपाली भाषी बर्मेलीहरूले महिनावारी बार्नुलाई संस्कारका रुपमा गर्ने व्याख्या परिवर्तन गराउन जोड दिँदैछिन्। यसका लागि उनी किशोरावस्थादेखि नै सचेत थिइन्।

आमा महिनावारी हुँदा उनका बुबा बिरामी परे। आमा बुबा छुन नहुने अडानमा थिइन्। त्यसैले श्रीमानलाई अस्पताल पुर्‍याउन छिमेकीहरूसँग आग्रह गरिरहिन्। अस्पताल पुग्न ढिला भयो। नन्दुको बुबाले ज्यान गुमाए। त्यसपछि उनले महिनावारी बार्नुलाई ’रिती’ मान्न सकिनन्।

त्यस्तै म्यानमारका अन्य जातीय, धार्मिक एवं सांस्कृतिक समुदायका मानिसले पनि महिनावारीलाई अन्य समयभन्दा फोहोर अवस्था भन्ने गरेका छन्।

आफ्ना अभियानहरूमा पुरुषको समान सहभागिताको लक्ष्य राखेकी छिन् उनले। लैङ्गिक समानताको आन्दोलन महिला र पुरुष सँगसँगै नहिँडे अधुरै रहने उनको बुझाइ हो। 'म कुनै लडाईंमा छैन। म मेरो सत्य अर्थात् अन्याय र लैङ्गिक विभेदविरुद्धको सामाजिक अभियानमा छु,' उनले भनिन्।

म्यानमारकी नेपाली भाषी अभियन्ता नन्दुले जिम्मेवारी बढेको महसुस गरेकी छिन्। साथै आफ्नो उपलब्धीले अन्य युवतीलाई पनि महिला अधिकार र न्यायका लागि काम गर्न प्रोत्साहित गर्ने विश्वास लिएकी छिन्।

उनी लगायतका अन्य प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी सपना मगर पनि परेकी छिन्। उनी बेवारिसे शवको दाहसंस्कार गर्छिन्। १८ वर्षीया सपनाको साहसिक कदमको प्रशंसा गर्छिन् नन्दु। 'अब कोही पनि लैङ्गिकताकै कारण पछाडि छुट्ने छैनन्। हरेक वर्ष प्रभावशाली घोषित हुने महिलाहरू उदाहरण हुन्। ती बाहेक सयौं महिला छन् जो देखिएका छैनन्। जसको कथा लेखिएका छैनन्,' नन्दुले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell