PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

श्रृङ्गला र नेपाली पक्षबीच सीमा विवादबारे चर्चा भयो : भारतीय मिडिया



श्रृङ्गला र नेपाली पक्षबीच सीमा विवादबारे चर्चा भयो : भारतीय मिडिया

भारतीय विदेशसचिव हर्षबर्धन श्रृङ्गला बिहीवार काठमाडौं आए। नेपाल र भारतबीच सीमा विवाद कायम नै रहेको बेला एक वर्षसम्मको कुटनीतिक मौनता तोड्दै श्रृङ्गलाले नेपाली समकक्षी भरतराज पौड्यालसँग छलफल गरे। दुई अधिकारीको टोलीबीच द्विपक्षीय सम्बन्ध विस्तारका बारेमा चर्चा भएको बताइएको छ। यस्तै, श्रृङ्गला उच्चस्तरीय राजनीतिक भेटघाटमा समेत सहभागी भए बिहीबार नै।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरे। उनीहरुसँगको छलफलमा पनि नेपाल भारत द्विपक्षीय हितबारेमा छलफल भएको बताइएको छ। यस्तै, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको काँग्रेसको शीर्ष नेतृत्वसँग पनि श्रृङ्गलाले भेट गरे।

भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो राजनीतिक नक्सामा देखाएर त्यहाँ एकतर्फी रुपमा सडक नै बनाएपछि दुवै देशबीच संवादहिनताको अवस्था थियो। पहिला सीमा विवादबारे वार्ताका लागि तयार नभएको भारत अहिले वार्ताको टेबलमा फर्किएको छ। श्रृङ्गलाको भ्रमणअघि रअ प्रमुख सामान्त गोयल र भारतीय स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले वार्ताको माहोल बनाउन भूमिका खेलेको थियो।

बिहीबार नेपाल आएका श्रृङ्गलाले नेपाली पक्षसामु सीमा विवादलाई लिएर नयाँ दिल्लीको पक्ष राखेको भारतीय संचारमाध्यमको दाबी छ। तर नेपाली पक्षले श्रृङ्गलासँग सीमा विवादमा कुरा भएको बारेमा स्वीकार गरेका छैनन्।  परराष्ट्र मन्त्रालयले दुई देशबीचको साझेदारीका विविध पक्षहरुमा छलफल भएको जानकारी गराएको छ। त्यस्तै भारतीय दूतावासले पनि छलफल उपलब्धिमूलक रहेको र द्विपक्षीय सहयोगको समीक्षा भएको जनाएको छ। तर  सीमा विवादबारे छलफल भएको वा नभएको भन्नेबारे केही सार्वजनिक गरिएको छैन।

भारतीय संचारमाध्यमहरुका अनुसार भने परराष्ट्रसचिवस्तरिय बैठकका साथै राजनीतिक भेटघाटका क्रम सीमा विवादले प्रवेश पाएको थियो। टाइम्स अफ इन्डियाका अनुसार श्रङ्गाला र नेपाली पक्षबीच भएको छलफलमा सीमा विवादसँगै अन्य विविध विषयमा चर्चा भएको थियो। दुवै पक्षले दुई देशबीचको सम्बन्धका सकारात्मक पक्षहरुलाई महत्व दिनुपर्ने औंल्याएका थिए।

चीनियाँ रक्षा मन्त्रीको आसन्न नेपाल भ्रमणबारे जानकार भारतले आउने श्रृङ्गाला फर्किएसँगै उर्जा, अर्थ लगायत अन्य सचिवस्तरीय बैठकको तयारीमा जुट्ने अनुमान गरिएको छ। 

‘दुवै पक्षले सीमा विवादबारे आआफ्नो दाबी राखे। द्विपक्षीय संयन्त्रको माध्यमबाट यस विषयबारे थप छलफल हुनेछ,’ पौड्यालसँग भएको छलफलका बारेमा जानकार स्रोतलाई उद्धृत गर्दै द हिन्दुले लेखेको छ।

प्रधानमन्त्री ओलीसँगको भेटमा द्विपक्षीय समबन्धको ‘क्यान्डिड रिभ्यू’ भएको थियो। उक्त भेटमा पञ्चेश्वरका साथै नेपाल भारतबीच हवाई सेवा सुरु गर्नेबारे पनि छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell