जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल एवं ट्रमा सेन्टर निर्माणका लागि शुक्रवार जग्गाको स्थलगत निरीक्षण गरेका छन्। प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको यो दुई योजनामा संघ सरकारले समेत सहयोग गर्ने भएपछि मुख्यमन्त्री राउत सहितका टोलीले दुवै अस्पतालको लागि जग्गाको निरीक्षण गरेका हुन्।
बाराको कलैया उपमहानगरपालिका-१६ झिटकैयामा ५० बेडको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल एवं बाराकै पथलैयास्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रमा ट्रमा सेन्टर निर्माण गर्ने नीति अनुरुप जग्गाको निरीक्षण कार्य सम्पन्न भएको छ। सरुवा रोग अस्पतालका लागि कलैया उपमहानगरले ७ बिघा जग्गा प्रदेश सरकारलाई हस्तान्तरण गर्ने छ भने पथलैयास्थित स्वास्थ्य तालिम केन्द्र प्रदेश सरकारकै मातहतमा रहेको छ।
जग्गा निरीक्षणको क्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकार सरुवा रोग तथा ट्रमा सेन्टरको निर्माणलाई आफनो नीति तथा कार्यक्रममै राखेर बजेट समेत विनियोजन गरिसकेको अवस्थामा संघ सरकारले समेत सहयोग गर्ने भए पछि दुवै अस्पतालको निर्माण कार्य चाडै शुरु हुने बताएका छन्। उनले दुवै अस्पताल प्रदेशको गौरवको योजनाको रुपमा रहने र यसले यस क्षेत्रका बासिन्दा मात्र नभई प्रदेश नै लाभान्वित हुने बताएका हुन्।
निरीक्षण टोलीमा मुख्यमन्त्री राउतसहित संघीय सांसद रामसहाय प्रसाद यादव, रामबाबु यादव, प्रदेश सांसद पारस साह, बच्चा यादव, ज्वाला साह, सुन्दर विश्वकर्मा, सामाजिक विकास मन्त्रालयका सचिव लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो।
सरुवा रोग अस्पतालको शिलान्यास यही मंसिर १५ गते भर्चुअल माध्यमले हुने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।