जनकपुरधाम : जनकपुरधाम टी-२० टुर्नामेन्ट अन्तर्गत आइतवार भएका दुई खेलमा जलेश्वर क्रिकेट टिम र जनकपुर क्रिकेट एकेडमी विजयी भएका छन्।
जलेश्वर क्रिकेट टिमले रामगोपालपुर राइनो टिमलाई ४ विकेटले पराजित गरेको हो। रामगोपालपुर राइनोले दिएको ८३ रनको लक्ष्य जलेश्वरले अरुण मण्डलको ३६ र हरेराम झाको १९ रनको सहयोगमा १३ औँ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो।
रामगोपालपुर राइनोका लागि कैलाश मण्डल, मनिष मण्डल र आकाश पाण्डेले २/२ विकेट लिएका थिए।
पहिले ब्याटिङ गरेको रामगोपालपुरले निर्धारित २० ओभरमा मात्र ८२ रनको स्कोर खडा गर्न सकेको थियो। रामगोपालपुरका लागि अभिशेक यादव र आकाश पाण्डेले १६/१६, दीपु कर्णले १२ रन बनाउनु बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
रामगोपालपुरलाई सस्तैमा समेट्न अभिशेक तिवारीले ३ र अरुण ठाकुरले २ विकेट लिए।
त्यस्तै, अर्को खेलमा गौरीपुर क्रिकेट एकेडमीलाई जनकपुर क्रिकेट एकेडमीले ६ विकेटले पराजित गरेको छ।
गौरीपुरले दिएको १ सय ३ रनको लक्ष्य जनकपुर क्रिकेट एकेडमीले मात्रै ४ विकेटको क्षतिमा पूरा गर्यो। जनकपुरका लागि शोभाकान्त पाण्डेले २९, हरिशंकर साहले २८ रनको योगादन गरेका थिए।
गौरीपुरका लागि अमित कुश्वाहाले २ विकेट लिए।
पहिले ब्याटिङ गरेको गौरीपुरले अमित कुश्वाहाको ३६, पंकज दासको २५ रनको सहयोगमा १ सय २ रनको स्कोर खडा गरेको थियो।
जनकपुरका लागि सुजित मण्डल र हरिशंकर साहले ३/३ विकेट लिन सफल भएका थिए।