PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चिनियाँ रक्षामन्त्री नेपाल आउँदा भारत ‘सावधान र सतर्क’



चिनियाँ रक्षामन्त्री नेपाल आउँदा भारत ‘सावधान र सतर्क’
फोटो-रासस

काठमाडौं: चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फङ्ह एक दिने नेपाल भ्रमण पूरा गरी फर्किएका छन्। नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरे। उक्त भेटघाटमा द्विपक्षीय हितका बारेमा छलफल भयो।

भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला काठमाडौं आएर फर्किएको दुई दिनपछि फङ्ह काठमाडौं आउनुलाई महत्वका साथ हेरिएको छ। नेपाल र भारतबीच सीमा विवाद भइरहेको बेला भारत र चीनबीच पनि सीमामा समस्या देखिएको छ। यसबीच नेपाल चिनियाँ ‘साइड’ मा पुगेको भारतको विश्लेषण छ। त्यसैले रक्षामन्त्री फङ्हको भ्रमणलाई भारतले नजिकबाट नियालिरहेको चिनियाँ विश्लेषकहरु बताउँछन्।

नेपाल र चीनबीच हुने सैन्य संवादलाई नै भारतीय मिडियाले सनसनीपूर्ण बनाउने गरेको लिउ जोङज्ज बताउँछन्। चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्समा प्रकाशित लेखमा उनले चिनियाँ र नेपाली पक्षबीच भएको भेटबाट भारत सावधान बनेको बताएको छ।

चीन र भारतबीच सीमा विवाद समाधान नभएको र नेपालसँगको सीमा विवादबीच भारतीय अधिकारीहरुको नेपाल भ्रमणबाट उपलब्धि हासिल नभएपछि चीन र नेपालीबीच हुने सैन्य सहकार्यबाट दिल्लीले असहज महसुस गरेको उनले उल्लेख गरेका छन्।

सन् १९८० मा नै काठमाडौंले बेइजिङसँग सहमति गरेर हातहतियार खरिद गर्न लाग्दा भारत उग्र रुपमा प्रस्तुत भएको र नेपालमाथि नाकाबन्दी लगाएको घटना उल्लेख गर्दै उनले भारत दक्षिण एसियामा एकल प्रभुत्व बनाउन तत्पर रहेको बताएका छन्।

नेपाल र चीनबीच कुनै सीमा विवाद नभएको भन्दै दुवै देशबीच सैन्य सहकार्यको महत्व रहेको जोङज्जले बताएका छन्। सैन्य मामिलामा नेपाल भारतसँग बढी निर्भर रहेको भन्दै भारतले नेपालको आन्तरिक मामिलामा बारम्बार हस्तक्षेप गर्न खोजेको उनले बताएका छन्।  

‘चीनसँग सैन्य सम्बन्धलाई प्रगाढ बनाउँदा नेपालले आफ्नो राष्ट्रिय एकता र राजनीतिक स्थायित्व कायम गर्न सक्छ’ उनले आफ्नो लेखमा उल्लेख गरेका छन्।

गत वर्ष तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल चीन भ्रमणमा जाँदा नेपाल र चीनबीच नेपाली सेनालाई १५० मिलियन युआनको सैन्य सहयोग गर्ने सहमति भएको थियो। वेइको नेपाल भ्रमणका क्रममा समेत चीनले नेपालाई सैन्य सहयोग गरेको छ। चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। नेपाली सेनाको क्षमता अभिवृद्धि, उसलाई आवश्यक पर्ने प्रतिरक्षा सामग्री तथा कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्यका निम्ति उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो। वेइको नेतृत्वको प्रतिनिधिमण्डल र प्रधानसेनापति थापा नेतृत्वको टोलीबीच जङ्गी अड्डामा भएको द्विपक्षीय वार्तामा दुवै देशका सेनाबीचको विद्यमान सौहाद्र्रपूर्ण मित्रवत् सम्बन्धलाई सुमधुर, मजबुत एवं अझ विस्तार गर्न अतिरिक्त सहयोग स्वरुप उक्त रकम बराबरको सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको थियो।

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे र श्रृङ्गला नेपालमा रहँदा भारतीय मिडियाले चिनियाँ रक्षामन्त्री वेइको नेपाल भ्रमणको विषयलाई अतिरञ्जित गर्ने प्रयास गरेको जोङज्जले दाबी गरेका छन्। चीनबाट उच्चस्तरीय भ्रमण हुने थाहा पाएको दिल्लीले यसअघि नै भारतीय दूतहरुलाई काठमाडौं पठाएको हुन सक्ने अनुमान समेत गरेका छन्।

भारतले दक्षिण एसियाली राष्ट्रहरुलाई आफ्नो प्रभावभित्र पार्ने प्रयास गरिरहेको भन्दै उनले दक्षिण एसियाली राष्ट्रहरुमा चिनियाँ सहयोगलाई लिएर भारत सतर्क रहेको बताएका छन्। त्यसैले भारतले चीनले अरु राष्ट्रहरुमाथि कब्जा गर्ने प्रयास गरिरहेको लगायतका भ्रम फैलाइरहेको उनको दाबी छ।

सन् २०१५ मा श्रीलंकामा महिन्दा राजपक्षे जित्ने संघारमा रहँदा भारतको हस्तक्षेपका कारण उनी पराजित भएको दाबी जोङज्जको छ। यसबाट नै दक्षिण एसियाली राष्ट्रमा भारतको प्रभाव प्रस्ट हुने उनी बताउँछन्।

केही दक्षिण एसियाली राष्ट्रले भारतको प्रभाव बाहिर जाने प्रयास गरे पनि सफल हुन नसकेको उनी बताउँछन्।

‘सन् २००८ मा पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि दिल्ली जाने परम्परालाई तोड्दै बेइजिङ आए। त्यसको केही समयमा नै उनलाई सत्ताबाट हटाएको थियो।’ जोङज्जले आफ्नो लेखमा दाबी गरेका छन्।

दक्षिण एसियामा भारत आफ्नो प्रभुत्व कायम राखेर अन्य देशलाई तर्साउन प्रयत्नशील रहेको उनले उल्लेख गरेका छन्। तर त्यस्तो दमनकारी व्यवहारले भारतलाई नै घाटा पुग्ने उनको विश्लेषण छ। दक्षिण एसियाली राष्ट्रहरुसँग चीनको सम्बन्ध सुमधुर बन्दै गइरहेको अवस्थामा अब यस क्षेत्रमा भारतको भूमिकाको परीक्षण हुने जोङज्ज बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell