साँझको ६ मात्र बजेको थियो। चिसोसँगै अध्यारो पनि बढ्दो। प्रभुराम ढकाल ढोकामा बसेर घरी आकाश अनि घरी बाटोतर्फ आँखा लगाउँदै थिए। श्रीमती सुमित्रा आउने बेला भइसकेको थिएन। बेला नहुँदा पनि हतार हुँदो रहेछ। विशेषगरी आफैले मात्र निर्णय गर्न नसक्दा।
उनका वरपर मानिसहरू थिए। उनीहरूसँग प्रश्न थियो।
‘के गर्नुहुन्छ त बुबा?'
'तिर्न सक्ने पैसा छ त?’
पैसा त औषधी किन्ने पनि थिएन। सत्य थाहा हुनेले पनि पटकपटक उही प्रश्न सोध्थे। उनी अनुहार केही निन्याउरो बनाउँदै जवाफ दिन्थे – 'यत्रो महिना आफ्नै बाआमालाई जस्तो व्यवहार गर्नुभयो। घरबेटीलाई रुवाएर जाँदा पाप लाग्छ। मेरी बुढी आउँछे। पर्खम् उसले के भन्छे।'
६८ वर्षीया सुमित्रा नाङ्गलो बोकेर व्यापार गर्न निस्किएको केहीबेर मात्र भएको थियो। फूलको व्यापार। उनले धुलोमा बसेर फूल बेच्लिन्। दुई, चार रुपैयाँ फाइदै होला। तर, उनले कमाएको फाइदाले ८ महिनाको घरभाडा तिर्न पुग्दैन थियो। अवस्था यस्तो भइसकेको थियो – उनीहरूसँग औषधी किन्ने पैसा समेत बाँकी थिएन।
तिहारमा सुमित्राको आग्रहमा प्रभुरामले छिमेकीसँग दुई हजार रुपैयाँ सापटी मागे। सुमित्रा थला परेका श्रीमानलाई कोठामा एक्लै छाडेर फूल व्यापार गर्न हिँडिन्। तिहारमा व्यापार राम्रै भयो। सापटी रकम तिरेर ७ सय रुपैयाँ जोगाइन्। दुवैका लागि केही दिन पुग्ने औषधी किनिन्।
सुमित्रालाई ब्लड प्रेसरको समस्या छ। प्रभुराम मुटुका रोगी। पछिल्लो पटक, भदौमा हृदयघात् भएपछि उनी ओच्छ्यान परे। अनि दैनिकी कहिले निस्तो खानामा त कहिले औषधीको रित्तो पाताहरूमा सीमित भयो।
प्रभुराम पशुपति, चाबहिल गणेशथान, गौरीघाट आसपास पुरेत्याइँ गर्थे। सुमित्रा उही नाङ्लामा तरकारी व्यापार। लकडाउनले दुवैको काममा असर पार्यो। सुरुवाती दिनमा छरछिमेकसँग सापट मागे। सापट दिन कोही बाँकी नरहेपछि वडा कार्यालयले वितरण गरेको राशनले ठूलो राहत दियो।
'सोचेको थिएँ सधैं मागेर खानु पर्दैन। लकडाउन खुलेपछि फेरि काममा फर्कन्छु। तिर्नुपर्ने ठाउँमा तिर्छु। बुढी र मेरो दुईटा पेट त हो, खान्छु। इमानको जिन्दगी बाँच्छु भन्ने थियो,' प्रभुराम सुनाउँछन्।
लकडाउन लम्बिदै जानुले अभाव थप्दै गएको थियो। हरेक पटक चामलको भाडो रित्तिँदै गर्दा फेरि गाँसका लागि याचना गर्नुपर्ने कुराले लाज लाग्थ्यो उनलाई। तर, अभावले उनलाई गाँससँगै बाँस र कपास पनि माग्न बाध्य तुल्यायो। हात खुट्टा ठीक रहुन्जेल पसिना बगाएरै खान्छु भन्ने उनको जोश बाँकी रहेन।
त्यस दिन सामाजिक सुरक्षा दिवस थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए – अब कसैले पनि अनाथ भएँ भन्नुपर्ने अवस्था छैन। सहारा छैन भन्नुपर्दैन। कोही नहुनेको राज्य छ।
रेडियोले प्रधानमन्त्रीको भनाइ फुक्दै गर्दा प्रभुराम र सुमित्राले तीन सन्तान सम्झिएका थिए जो बुबाआमालाई अनाथ बनाएर गए। कहाँ गए थाहा छैन? उनीहरू हुन्थे भने आज सायद परिस्थिति केही फरक हुन्थ्यो।
२०५८ सालको मंसिरमा काठमाडौंमा हुर्केबढेका दुई छोरा आफ्नो जिल्ला हेर्न भन्दै संखुवासभा हान्निएका थिए। १९ वर्षका जेठो छोरा र १७ वर्षका कान्छो छोरा काठमाडौं छाडेको तेस्रो दिनदेखि सम्पर्कविहीन भए। कसैले अन्तिमपटक चैनपुरको एउटा होटलमा चिया र पाउरोटी खाँदै गरेको देखेको सुनाए। कसैले माओवादीको भिडमा मिसिएर हिँडेको देखेका थिए रे। सबैले भने – दुवै जंगल पसे।
ठीक दुई वर्षपछि १४ वर्ष पुगेकी छोरीको टाइफाइडका कारण मृत्यु भयो।
'छोरीलाई रोगले लग्यो। बचाउन खोज्दाखोज्दै सकिएन। छोराहरू चाहिँ खोइ रहरले गए कि करकापले थाहा छैन। जिउँदै छन् कि मारेर फाले त्यो पनि पत्तो छैन। आज उनीहरू हुन्थे भने हामीले कम्तिमा चामलको लागि हात फिलजाउनु पर्दैन थियो होला,' प्रभुरामले सुनाए।
पहिलोपटक माओवादी सरकारमा पुग्दा उनलाई लागेको थियो – अब छोराहरू फर्कन्छन्। त्यस समय पाएको आश्वासनले वर्षौसम्म बाटो कुर्ने बनायो। हरेक पटक वेपत्ता परिवारकाहरू भेला हुने कार्यक्रममा पुगे। कथा साटे। आँशु साटे। तर, छोराहरू फर्किएनन्।
'त्यसैले मलाई आश्वासनका शब्दहरूमा विश्वास थिएन। विश्वास गर्दागर्दै अशक्त र बेसहारा भएकाले पनि होला,' उनले भने।
कोरोना कहरसँगै निम्तियो अभावको श्रृङ्खला। खानाको अभाव राहतका झोलाहरूसँगै टर्थ्यो। प्रभुरामलाई हृदयघात भएपछि भने वडा वा छरछिमेकले दिने आलु र नुनले पुगेन। २/४ सयको दरले चन्दा उठाएर अस्पतालसम्म पुर्याउने मनकारी वरपर थिए। तर, उपचार कसरी गर्ने?
'उहाँहरूको अवस्था नजिकबाट नियालेको थिएँ। हरेक पटक राशन सक्किँदा मलाई नै फोन गर्नु हुन्थ्यो। अस्पतालको बेडबाट म त मर्छु होला भन्दै फोन गर्नुभयो। त्यसपछि मैले सक्दो पहल गरेँ,' काठमाडौं महानगरपालिका वडा नम्बर ७ की सदस्य निर्मला पुडासैनीले भनिन्।
प्रभुराम वडाको स्थानीय नभएका कारण वडामार्फत् कुनै पनि सिफारिस गरिदिन गाह्रो थियो। तर, औपचारिकताभन्दा माथि राखे मानवीयतालाई। निर्मलाकै सिफारिसमा गंगालाल अस्पतालमा नि:शुल्क बन्यो उनको उपचार। उनको मुटुको भल्ब बिग्रिएको छ। डाक्टरले नियमित औषधी सुझाएका छन्। औषधीले काम नगरे शल्यक्रिया गर्नुपर्ने बताएका छन्। विडम्बना औषधी नै महङ्गो छ। शल्यक्रिया उनको कल्पना बाहिरको कुरा।
२२ दिनको अस्पताल बसाइपछि कोठामा फर्किए। काममा फर्कन सकेनन्। कमाइको बाटो ठप्प।
'माग्दै खाँदा महिनौं बित्यो। कमाएर तिर्छु भन्ने बाटो पनि रहेन। घरबेटीलाई पनि मर्कामा पार्ने कुरो भएन। त्यसैले वडाध्यक्षकोमा हात फैलाउन पुगेँ,' उनले सुनाए। उनले आफूलाई कुनै सार्वजनिक जग्गामा छाप्रो हालेर राखिदिन आग्रह गरेका थिए। वडाध्यक्ष शुद्ध डंगोलले उनलाई र सुमित्राको उद्धार गरी मानव सेवा आश्रम पठाउने प्रस्ताव राखे। उनीहरूले नकार्नु पर्ने कारण थिएन।
घरबेटीले भने उद्धार हुने भए पनि बाँकी भाडा तिर्न र कोठा सफा गरेरमात्र निस्कनु पर्ने बताए।
मानव सेवा आश्रमको गाडी उनीहरूलाई लिन पुगेको थियो। घरबेटीको अडान उही। सुमित्रा फूल बेच्न निस्किएकाले के गर्ने? टुंगो लाग्न सकेको थिएन। अध्यारो छिप्पिँदै गएपछि उनी सरासर कोठाभित्र पसे। भात बसाले। तरकारीका लागि ओइलाइसकेको काउली केलाए। अनि झुल बेरेको खाटमा पुगेर लामो सास फेरे। आफैसँग प्रश्न गरे - 'कसैले उकास्न सक्छ होला त यत्रो पैसा? म घरबेटीलाई रुवाएर त जान सक्दिनँ। मेरो धर्मले दिँदैन।'
कुल २८ हजार थियो तिर्नु।
केहीबेरमा उनीहरूलाई सहयोग पुर्याउँदै आएकी वडा सदस्य निर्मलाले ढोकाबाट चिहाइन्। दुईजना उभिन पनि ठाउँ नअट्ने कोठामा टाउको मात्र छिराएर भनिन् – बुबा कोठा भाडाको जिम्मा मैले लिने भएँ। तपाईं र आमा ढुक्कले आश्रम जानुस्।
प्रभुरामले एकटक निर्मलालाई हेरे। मुस्कुराउँदै दुई हात जोड्दा पनि उनका आँखामा भने आँशु थिए।
'अब आश्रम चाहिँ भोलि जानु पर्ला। आज के होला, कसो होला भनेर भात पकाएँ। फाल्दा अन्नले सराप्छ। फेरि बुढी पनि भोकाएर आउँछे,' उनले त्यसदिन कोठा नछाड्ने संकेत गरे।
घरबेटी कृष्ण चौंलागाईले भनेनन् – आफूले भाडा छुट गरेको कुरा। उद्धार गर्न गएका स्वयं सेवकहरूसँग भनेका थिए – जहाँ गए पनि उहाँहरूले दु:ख पाउनु भएको सुन्न नपरोस्।
भोलिपल्ट अर्थात् शुक्रवार यी वृद्ध दम्पत्तीलाई मानव सेवा आश्रमको भक्तपुर शाखामा पुर्याइयो। त्यहाँ आफूहरूजस्तै बेसहारा र अस्वस्थ मानिसलहरूलाई देख्दा सुमित्राले सोचिन् – सबैथोक गुमाउने अरु पनि रहेछन्। सबैथोक गुमाएर पनि सहारा पाउने धेरै रहेछन्। हामीजस्तै।
प्रभुरामले भने २०३३ सालको त्यो पहिरो सम्झिए। जसले चैनपुर, हाङ्लुङको ६६ वटा घर बगायो। पहिरोमा परेर कोही पनि बाँचेनन्। प्रभुरामको परिवार सबै त्यहीं सोत्तर भए। उनी भने बजार गएकाले जोगिए। त्यस समय मामाघर गएकी बहिनी थिइन्, आफ्नो। उनको पनि दुई वर्षअघि उपचारको क्रममा निधन भएको खबर पाएका थिए।
'बहिनी पनि गएपछि चाहिँ हामी अनाथ भएका थियौं। तर, यहाँ आश्रममा आएपछि कति धेरै आफन्त पाएका छौं,' उनले खुशी साटे। खुशी सधैं रहँदैन भन्ने पनि थाहा छ उनलाई। त्यसैले आफ्नो मुटुको समस्याले कति बेला गाह्रो पार्ला भन्ने डर अभिव्यक्त गरिरहन्छन्।
आश्रममा पुगेपछि सुमित्राले देखिन् - वर्षौंदेखि सडकमा जीवन बिताइरहेकाहरु यहाँ आनन्दका साथ बसिरहेका छन्। वर्षौदेखि घर परिवारसँग सम्पर्कविहीन भएकाहरूको कथा सुन्दा, आफ्नो छोराहरू पनि कहींँ यस्तै अवस्थामा छन् कि भन्ने आशा जागेको छ उनमा।
'छोराहरू आए भने आश्रमसम्मको बाटो देखाइदिनु। आएनन् भने को सँग गुनासो गर्नु? जहाँ जो सँग रुनु पर्ने हो रोइसक्यौं,' उनले भनिन्।
मुटुको रोगी श्रीमानका लागि उनी आश्रम आएको बताउँछिन्।
'नत्र म त अझै गरेर खान सक्छु। खाएर मात्र नपुग्ने भयो। काठमाडौंमा कोठा भाडा र अस्पतालको खर्च हामीले छुन नसक्ने भयो,' उनले भनिन्। त्यसैले तनावरहित दिनहरू सुरु भएको महसुस गरेकी छिन् सुमित्राले। उनलाई आशा छ प्रभुरामले छोरीले जसरी समयमा रोग पहिचान नभएकै कारण ज्यान गुमाउन नपर्नेमा।
मानव सेवा आश्रमले उनको गाँस, बाँस, कपाससँगै औषधी उपचारको पनि जिम्मेवारी लिएको छ। असहाय, अशक्त र सडक मानवहरूको सेवा गर्दै आएको आश्रमका प्रवक्ता सुमन बर्तौला भन्छन्, 'कोही पनि भोक र रोगले मर्न नपरोस् भन्नु नै हाम्रो उद्देश्य हो। बुबाआमाको सेवा गर्न पाउँदा खुशी छौं।'
आउँदो फागुनसम्ममा काठमाडौं उपत्यकासहित वाग्मती प्रदेश सडक मानवमुक्त हुने अभियानमा उनी जुटेका छन्।