जनकपुरधाम : मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीको रौजा मजार सौन्दर्यीकरण योजनाको शिलान्यास गरिएको छ। जसपा कार्यकारी अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्व मन्त्री शरदसिंह भण्डारी र मुख्यमन्त्री लालबाबु राउतले रौजा मजार सौन्दर्यीकरण योजनाको संयुक्त रुपमा शिलान्यास गरेका हुन्।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत शिलान्यास गरिएको उक्त योजनामा ११ करोड ९० लाख रुपैयाँको लागत रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। शिलान्यास कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं जसपा अध्यक्ष उपेन्द्र यादवले मधेस विद्रोहको जगमा बनेको प्रदेश सरकारले आन्दोलनको मर्म अनुरुप पहिचानको रक्षाका साथै धार्मिक पर्यटकीय विकासलाई टेवा दिने उद्देश्यका साथ ल्याएको मजार सौन्दर्यीकरण योजना सराहनीय रहेको बताए।
प्रदेश सरकारले सीमित स्रोत साधनकाबीच गरिरहेको विकास निर्माणका कामहरु सन्तोषजनक रहेपनि आगामी दिनमा विगतका समीक्षा गर्दै शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखेर अघि बढनु पर्ने यादवको कथन थियो।
कार्यक्रममा सांसद एवं पूर्व मन्त्री शरदसिंह भण्डारीले चुनावको बेला आफूहरुले गरेको बाचा अनुसार नै प्रदेश सरकारले विकास निर्माणलाई अगाडि बढाएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिने उल्लेख गरे।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नम्बर २ को विकासको प्रमुख आधारहरुमध्ये महत्वपूर्ण आधार धार्मिक पर्यटन रहेको कुरा आत्मसाथ गर्दै प्रदेश सरकारले धार्मिक पर्यटकीय स्थलहरुको विकासमा जोड दिएको उल्लेख गरे। उनले प्रदेश २ का प्रमुख धरोहर जानकी मन्दिरबाट शुरु भएको यो अभियान रौजा मजारसम्म पुगेको र आगामी दिनमा सबै धार्मिक पर्यटकीय स्थलहरुलाई एउटा मार्गमा जोड्ने योजनामा प्रदेश सरकार रहेको बताए।