PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पार्टी विवाद मिलाउन राष्ट्रपति पुनः सक्रिय, प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँग छलफल



पार्टी विवाद मिलाउन राष्ट्रपति पुनः सक्रिय, प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँग छलफल

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद उत्कर्षमा रहेको बेला एकपटक फेरि शीतलनिवास सक्रिय भएको छ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद बढ्दै जाँदा बिहीबार दुवै नेतासँग राष्ट्रपति भण्डारीले छलफल गरेकी हुन्। 

भण्डारीले बिहीबार दिउँसो ओलीसँग तथा साँझ प्रचण्डसँग छलफल गरेकी हुन्। मन्त्रिपरिषद् बैठक अघि ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए।

प्रधानमन्त्री ओलीले सरकारका कामकाजबारे नियमित रुपमा जानकारी दिन भेट गरेको बताइए पनि राष्ट्रपति कार्यालय स्रोतले भने पार्टी विवादबारे पनि परामर्श भएको बतायो। प्रचण्डसँगको भेटमा पनि विवाद समाधानबारे नै कुरा भएको निकट स्रोतले बतायो। 

पार्टी फुटको संघारमा रहेको बताइँदै गर्दा भण्डारीले दाहाल र ओलीलाई सहमतिमा ल्याउने प्रयास जारी राखेकी छन्। यसअघि पनि दोस्रो तहका नेताहरुसँग भण्डारीले नियमित रुपमा छलफल गरिरहेकी छन्। 

भण्डारीले यसअघि पनि दाहाललाई सहमति गर्न आग्रह गरिसकेकी छन्। चुनावी प्रधानमन्त्री, एकता महाधिवेशनपछिको अध्यक्ष बन्न सहयोग हुनेगरि समझदारी गर्न भण्डारीले आग्रह गरिसकेकी छन्। तर दाहालले उक्त प्रस्तावलाई अस्वीकार गरिसकेका छन्। 

विवाद उत्कर्षमा पुग्दा हरेकजसो समयमा राष्ट्रपति निवासमा पार्टी विवादबारे छलफल हुँदै आएको छ। संवैधानिक राष्ट्रपतिको उक्त सक्रियतालाई पार्टीभित्रै आलोचना समेत भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell