PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

चर्को कोलाहल बिच सुजलको 'मौन सपना', जो बहिराहरूका लागि बनाउँदैछिन् बाटो



स्वेच्छा राउत

चर्को कोलाहल बिच सुजलको 'मौन सपना', जो बहिराहरूका लागि बनाउँदैछिन् बाटो

सन् २०१९, प्रज्ञा प्रतिष्ठानको सभा हल। ‘मिस एसईई २०१९’को अन्तिम प्रतिस्पर्धा भइरहेको थियो। प्रतिस्पर्धीहरू एकएक गर्दै मञ्चमा देखिए। सिकाइएको तालमा मञ्चमा एक फन्को हिँडे। सबैले पालैपालो आ-आफ्नो प्रतिभा देखाए। कसैले नाचे, कसैले गाए, कविता वाचन र अभिनय गरे। त्यसबाट उत्कृष्ट १० जना छानिए।

त्यसपछिको चरणमा सबै प्रतियोगीले निर्णायकको प्रश्नको जवाफ दिनु थियो। सबैले एकएक गर्दै आफ्नो तर्क राखे। प्रतिस्पर्धी, सुजल बमले भने केहीबेर एकटक दर्शकदीर्घमा हेरेर मुस्कुराइमात्र रहिन्। मञ्चकै एउटा कुनाबाट कसैले आफू तयारी अवस्थामा रहेको संकेत दिएपछि बल्ल उनी चल्मलाइन्।

सुजलले आफ्नो हात र आँखाको भाषा बोलिन् - उनको इशारालाई शब्दमा उतारे तिनै दोभाषेले।

उनका अवार्डहरु


निर्णायक मध्येकी एक पूर्व मिस नेपाल सुगारिका केसी छक्क परिन्। भनिन् – ‘यसअघि उनको प्रस्तुति हेर्दैगर्दा लागेको थिएन, उनी बोल्न वा सुन्न सक्दिनन्। म उसको यो क्षमताको कदर गर्छु। तर, उनी बहिरो हुनुले हाम्रो निर्णयमा भने कुनै पनि तरिकाले असर गर्दैन। उनी जे छिन् त्यतिमै पूर्ण छिन्।‘

प्रतिस्पर्धामा सुजल फोर्थ रनर्स अप घोषित भइन्, मल्टी मिडिया अवार्ड र मिस कन्फिडेन्ट अवार्डसहित।

त्यसपछि सुरु भयो सुजलको कला र अभिनय यात्रा। जुन निकै अप्रत्याशित र सुन्दर छ।

+++

अरुका छोराछोरी स्कूल पुर्‍याउन गएका आमाबुबालाई हत्तपत्त छोड्न मान्थेनन्। बाबुआमाकै लुगामा झुण्डिन्थे। बल्लबल्ल ढोकासम्‍म पुर्‍याएर आयाको जिम्मा लगाउँदा, डाँको छोडेर रोएको देख्थे टेकबहादुरले। स-साना नानीहरू बुबाआमा पर पुग्दा, चिच्याइ चिच्याइ बोलाएको सुन्थे– बाबा… मम्मी…।

२०६१ सालको एक बिहान, छोरीलाई लिएर निस्किए टेकबहादुर बम। काँधमा ४ वर्षकी छोरी अनि हातमा उनको एउटा ट्याङ्का बोकेर हिँडे डोटी, बोगटान फुड्सिलबाट। दिनभरको पैदल यात्रा र दिपायलदेखि ६ घण्टा लामो सवारी यात्रापछि पुगे– छोरीको स्कूल। त्यहाँ छोरीलाई छाड्नु थियो। पढ्नमात्र होइन बस्नका लागि पनि।

सोचेका थिए – छोरी रुन्छिन्। होस्टलमा छोड्न आएका बुबाको हात छोड्न मान्दिनन्।

तर, उनी रोइनन्। प्रतिक्रियाविहीन। बिदाईमा 'टाटा' भनिन्, हात मात्र हल्लाएर।

टेकबहादुर


त्यसपछिको दुई वर्ष उनीहरूको भेट हरेक हिउँदे बिदा र दशैंमा मात्र भयो। हरेक पटक घर आउँदा छोरीले टाटाबाहेक धेरै कुरा भन्न सिकेर आइनन्, हात हल्लाएर, इशारा गरेर। उनको सबै इशारा बुझ्न सक्थेनन् टेकबहादुर र उनको परिवारले। ती संकेतहरू बुझ्ने प्रयास गर्दागर्दै, छोरीलाई अझै टाढा पठाउनु पर्ने भयो जहाँ वर्षको त्यो दुई पटकको भेट पनि पातलिने निश्चित थियो।

'उसको हुर्काइ सहज र सिकाइ राम्रो होस् भनेर राम्रो स्कूलको खोजी गर्‍यौं। छोरीप्रतिको मायाले त टाढा पठाउन मन थिएन। तर, त्यतिबेलाको प्राथमिकता उसको आवश्यकता थियो', टेकले सुनाए।

सिन्धु बहिरा विद्यालय, बाह्रबिसे। घरबाट करिव हजार किलोमिटर पर सिन्धुपाल्चोक जिल्ला पुगिन् ६ वर्षकी छोरी। आवाज नभएकी उनले संकेतको भाषा बुझ्नु थियो। त्यही भाषामा अक्षरहरू चिन्नु थियो। पढ्नु थियो।

+++

२०५९ सालको जेठ महिना, खप्तडको गंगादशहरा मेला। हीरा शाहले काम गर्ने संस्थाले पनि मेलामा स्टल राखेको थियो। त्यसैले खप्तडसम्मै पुगिन् हीरा। गर्भवती थिइन् तर डटेर काम गरिन्।

आमा र बुबासँग सुजल


ठीक ४ महिनापछि हीराले पहिलो सन्तानलाई जन्म दिइन् - सुजल। उनी गाउँका अरु बच्चाहरूभन्दा फरक देखिन्थिन्। नीला आँखा, शान्त मुहार। प्रतिक्रया शून्य प्राय।

जन्मिएको केही समयपछि उनको टाउकोमा समस्या देखिन थाल्यो। उपचारका लागि भारतको लखनउ पुर्‍याए। उपचारका क्रममा समेत कुनै प्रतिक्रिया नजनाउँदा डाक्टरले शंका गरेका थिए। तर, शंकासँगै खुशी आयो। उनको समस्या केही कम भएको थियो।

दुई वर्ष पुगेपछि स्वास्थ्य जाँचकै लागि काठमाडौं ल्याउँदा हो डाक्टरले कानको जाँच गर्न अह्राएको। तब थाहा भयो – उनी दुवै कान सुन्दिनन्, बोल्न सक्दिनन्।

खबर गाउँभरी फैलियो। भन्नेले भने – सन्तान गर्भमा हुँदा हीरा खप्तडबाबा गएकाले छोरी बहिरो जन्मिइ। त्यहाँ अन्धविश्वास व्याप्त थियो। कतिले त पूर्वजन्मको पाप भएको आरोप समेत लगाए।

सांकेतिक भाषामा बाबु छोरीको संवाद।


टेकबहादुर र हीराले भने छोरीले कान नसुन्नु पाप र धर्मसँग जोडेर हेरेनन्। बरु हुर्कँदै जाँदा छोरीले आफूलाई अरुभन्दा फरक भएको महसुस नगरोस् भन्ने कुरामा जोड दिए। त्यसका लागि पढाई आवश्यक थियो र पढाईका लागि सांकेतिक भाषा। आवश्यकताले नै हो उनलाई बहिराका लागि खुलेको विशेष विद्यालयसम्म पुर्‍याएको।

सिन्धु बहिरा विद्यालयबाट उनलाई काठमाडौं ल्याइयो। केन्द्रीय बहिरा उच्च माध्यमिक विद्यालको आवासमै रहेर पढिन्। सुरुवाती दिनमा यतै बसेर पढ्ने काका थिए, उनलाई भेट्न जाने, चाडपर्वमा आफूसँगै लगेर राख्ने। २०६५ सालदेखि भने टेकबहादुरहरू काठमाडौं नै आए। छोरी होस्टलमै रहे पनि दुरी केही कम भयो। अब त छोरी बुबालाई सांकेतिक भाषाको कखरा सिकाउने भइसकेकी थिइन्।

सिकाइन् र त बुझाउन सकिन् आफ्ना रहर र सपनाको कुरा। टेकबहादुरले पनि सिके र त साथ दिन सके ती सपना र रहरहरूमा पखेटा जोड्न।

+++

एसएलसी सकिएको दिन। सुजल हतारिँदै कोठामा पसिन्। झोला खोलिन् र एउटा कागजको टुक्रा निकालिन्। बुबातिर सोझ्याउँदै भनिन् – म यहाँ जान्छु।

सुजल।


‘मिस्टर एण्ड मिस एसईई नेपाल’ लेखेको त्यस पर्चामा सहभागिताका लागि आवेदन आह्वान गरिएको थियो। छोरीलाई विद्यालयका कार्यक्रमहरूमा नाचेको, गाएको र बहिरा साथीहरूकै माँझ प्रस्तुति दिएको देखेका थिए। तर, कान सुन्ने, बोल्न सक्नेहरूसँगको सौन्दर्य प्रतियोगिता?

टेकबहादुरलाई छोरीको क्षमता र सिक्ने भोकप्रति विश्वास थियो। तर, प्रतियोगिताको मापदण्ड रहर र सुजलको भाषाको सीमितताभन्दा फरक थिए। त्यो पर्चा पढ्दै गर्दा बुबाको आँखामा सन्देह भाव देखेर सुजल केही निराश भएकी थिइन्। जब टेकबहादुरले त्यहाँ लेखिएको सम्पर्क नम्बर मोबाइलको किप्याडमा पालैपालो दबाए तब उनी मुस्कुराइन्।

‘म उसको हरेक रहर पूरा होस् भन्ने चाहन्छु। त्यसभन्दा बढी उसको इच्छाशक्ति र आफूलाई कोहीभन्दा कम नआँक्ने बानीको सम्मान गर्छु’, टेकबहादुरले भने, 'सिक्ने ठाउँ सधैं सबैका लागि खुला हुनुपर्छ भन्ने मेरो विश्वास हो।‘

खुशी साट्दै सुजल, संकेतको अर्थ बुझाउँदै टेक।


उसो त टेकबहादुर र हीरालाई कहिल्यै पनि आफ्नी छोरी कान नसुन्ने भएकै कारण फरक छिन् भन्ने लागेन। त्यसले उनको भविष्यमा नकारात्मक असर गर्छ भन्ने सोचेनन्। त्यसमाथि सुजल सधैं अघि सर्ने, चाहे त्यो नाच्न, गाउन होस् या खेलकुद।

मिस एसईई आयोजकलाई सम्पर्क गर्दा दङ्ग परे। उनीहरूले प्रचार सामाग्रीमै लेखेको कुराहरू दोहोर्‍याएर सुनाए। उनकी छोरीलाई सहभागी गराउँदा हुने फाइदाहरूबारे सुनाए। मापदण्ड दोहोर्‍याए। सबै मिल्थ्यो, मात्र सुजल बोल्न र सुन्न सक्ने थिइनन्। खुशीखुशी आफ्ना कुरा सुनाइरहेका आयोजक अक्मकाए। भने – टीमसँग सल्लाह गर्नुपर्छ। मैले मात्र निर्णय सुनाउन मिल्दैन।

फोन राख्दाराख्दै टेकले उनीहरुलाई भने – 'सामान्य काम त जसले पनि गर्न सक्छ। मेरी छोरी तपाईंहरूका लागि चुनौती हो।'

केही दिनपछि टेकबहादुरको चुनौती स्वीकार्य भएको खबर आयो। खुशी सुजलले उक्त प्रतियोगितामा भाग लिन पाउने कुराले दियो।

आयोजकले उनी एकका लागि दोभाषको भने व्यवस्थापन गर्न नसक्ने बताएको थियो। टेकबहादुर छोरीको अभिव्यक्तिको माध्यम बन्ने भए। प्रतियोगिताको सुरुवाती चरणदेखि नै आफ्नो व्यवसाय थाती राखेर साथ दिए। तालिममा सँगै भइदिए। छोरीसँगै क्याटवाक गरे। प्रशिक्षकको कुरा उनलाई र उनको कुरा प्रशिक्षकलाई बुझाए।

सुरुवाती दिनमा प्रतिस्पर्धीले नै उनलाई प्रतिस्पर्धी मानेका थिएनन्। तालिम अघि बढ्दै जाँदा उनी अन्य सरह अब्बल ठहरिइन्।

उक्त प्रतियोगिता सुजलका लागि महत्वपूर्ण ‘प्ल्याटफर्म’ बन्यो, सिकाइ र बुझाइका हिसाबले।

फरक क्षमताकी सुजल


'बहिरा साथीहरू बाहेक अन्य साथीहरू बने। उनीहरूको माया पाएँ। सकी नसकी मसँग संकेतको भाषा बोले। १० वर्ष सांकेतिक भाषा बोल्ने साथीहरूसँग बसेकाले हुनसक्छ मलाई आवाज भएका साथीहरूको संगत नौलो र झनै प्रिय लाग्यो,' उनले भनिन्।

त्यसपछि नै हो उनले बहिरा विशेष होस्टलबाट निस्किएर आम विद्यार्थी बस्ने होस्टलमा बस्न थालेको। बुबाले आफ्नो कुराहरू बुझाउन समस्या होला भन्ने जनाउ नदिएका होइनन्। सुजलले भनिन् – 'प्रयास गर्न त सक्छु नि?'

हाल उनी केन्द्रीय बहिरा विद्यालयमै कक्षा ११ मा पढ्छिन्।

एसईईपछि सौन्दर्य प्रतियोगिता र त्यसपछि खुलेका अवसरका ढोकाहरूले सुजलजस्ता धेरै स्वरविहीनलाई सम्भावना देखाएको छ।

प्रतियोगितामा गएको वर्ष उनलाई गीती भिडियोको प्रस्ताव आयो। ‘झिमझिम परेली’ बोलको भिडियोमा काम गरिन्। गत वर्ष नै उनको अभिनय रहेको‘बहिनी झ्यालैमा’ बोलको गीत सार्वजनिक भयो। गीत सफल ठहरियो। सुजलको अभिनयको तारिफ कमेन्टहरूमा देखिन्छ। उक्त गीतका लागि उनले‘सर्वोत्कृष्ट मोडल’को अवार्ड समेत जितिन्। त्यसपछि म्यूजिक भिडियोसँगै टेलिश्रृङ्खलाका प्रस्तावहरू आउँदो छन्।

सुजलकी आमाले पनि सांकेतिक भाषा सिकेकी छिन्।


दुर्भाग्य, यहाँ फरक रुपले सक्षम भएकाहरूका लागि स्वस्थ प्रतिस्पर्धा र अवसरको बाटो भने सजिलो छैन। भएका अवसरमा आफूलाई प्रमाणित गर्न मैत्रीपूर्ण व्यवस्थापन छैन। सुजलहरू बोल्न, सुन्न सक्ने वा आम भाषामा भन्दा ‘हरेक तरिकाले सक्षम’हरूसँग लड्नुपर्छ।

सुजल भने गुनासो गरेर बस्ने पक्षमा छैनन्। उनलाई कलाकारिता क्षेत्रमा भविष्य बनाउनु छ। उनी सिकेर अभिनय गर्न चाहन्छिन्। कलाको भाषा हुँदैन भन्ने कुरालाई चरितार्थ गर्न चाहन्छिन्। प्रसङ्गबस् सुजल केही संकेत गर्छिन् र व्यङ्ग्यात्मक हाँसो हाँस्छिन्। टेकबहादुर अर्थ लगाउँछन्,‘नेपालमा त सांकेतिक भाषामा अङ्ग्रेजी सिक्ने/ सिकाउने ठाउँ समेत छैन। हामीलाई अभिनय कसले सिकाओस्?’

थाहा हुन्छ सुजल सिक्ने ठाउँको माग गरिरहेकी छिन्। सिक्न चाहने बहिराहरूको प्रतिनिधित्व गरिरहेकी छिन्।

+++

एसईई दिनुअघि नै टिकटक बनाउन थालेकी थिइन् सुजलले। त्यस समय स्कूलका कारण धेरै भिडियो अपलोड गर्न पाइनन्। जति बनाएकी थिइन् त्यति निकै मन पराइएका थिए। करिव ७५ हजार मानिसले उनलाई फलो गरेका थिए।

लकडाउनमा भने उनको प्रमुख काम नै टिकटक बनाउनु भयो। यसपटक बुबा टेकबहादुर उनको निर्देशक। उनी गीतको शब्दहरू छोरीलाई बुझाउँछन्। छोरी सुन्दिनन् थाहा छ तर पनि संगीतको सुर ताल महसुस गराउँन खोज्छन्। कहिले काहीँ साथ दिए सुजलका १४ वर्षीय भाइले। ती टिकटक भिडियो धेरैले रुचाए। हाल उनलाई सभा दुई लाख टिकटक प्रयोगकर्ताले पच्छ्याउँछन्।

‘अभिव्यक्ति बोलेरै मात्र गर्न सकिन्छ भन्ने भ्रम हामीमा छैन। त्यसैले एकअर्कालाई बुझेका छौं। एकअर्काको सुख, दु:ख महसुस गरेका छौं,’ टेकले भने।

आमा छोरी र बाबु।


सुजल भने गुनासो गरिरहन्छिन्। भन्छिन् – 'उहाँहरू सिक्नै चाहनुहुन्न।' उनको इच्छा हो परिवारका सबै औपचारिक सांकेतिक भाषा बोलुन्। औपचारिक भाषा नजान्दा कति कुराहरू बुझ्न, बुझाउन अप्ठ्यारो हुने अनुभव छ उनको परिवारको। त्यस्तो अवस्थामा लेखेर बुझाउनु पर्छ।

लकडाउनमा उनकी आमा हीराले अनलाइनमार्फत् सांकेतिक भाषा सिकिन्। सुजल खुशी भएकी छिन्।

कोभिड-१९ महामारीकै बीच सुजललाई सरकार, युनिसेफ र एनसेलको सह उत्पादन रहेको सचेतना सन्देशमा काम गर्ने अवसर आयो। दोभाषेमार्फत् उनीसम्म प्रस्ताव पुगेको थियो। विज्ञापन बहिरा समुदायलाई पनि सन्देश बुझाउन केन्द्रित थियो। विज्ञापन टिभीदेखि, सामाजिक सञ्जाल र पत्रपत्रिकाहरूमा समेत छायो। प्रतिक्रियाको ओइरो लाग्यो।

‘सन्तानको साना साना प्राप्तीले दिने खुशी व्यापक हुँदो रहेछ’, हीरा बोलिन्।

उनले आफूहरू सधैं छोरीको इच्छामा सहयोग पुर्‍याउने बताइन्। भनिन्, 'हाम्रो सपना लाद्नु त उनीहरूलाई आफ्नै लागि बाँच्न नदिनु सरह भइहाल्छ नि।‘

उनी छोरीको थकानमा पनि रमाउँछिन्। कुनै गीतको छायाँकनका लागि रातभर जागै बसेर आएकी छोरीलाई चिसो पानी ल्याएर दिँदा खुशी मिल्छ उनलाई।

फोटोका लागि सुजलको पोज।


मेहनत गरेको काम हेर्नेहरू छन् भन्ने सत्यले बेग्लै आनन्द महसुस गराउँछ।

दशैं र तिहारको बीचमा, एक साँझ पूरा परिवार सँगै बसेर टिभी हेर्दै थिए। रातको करिब ८ बजे नौलो नम्बरबाट फोन आयो। अचानक आएको त्यो कल प्रधानमन्त्री केपी शर्मा ओलीको थियो। उनको पहिलो प्रश्न थियो – सुजल बमको बुबा बोल्नु भयो? देशको प्रधनमन्त्रीले आफूलाई छोरीको नामले चिन्नुको खुशी उनी शब्दमा बखान गर्न सक्दैनन्।

‘उहाँलाई सुजलको कृयाकलाप याद रहेछन्। आँखाको रङ पनि। त्यो संवादमा उहाँले पारिवारिक कुराहरू सोध्नु भयो।‘

ओलीले सुजललाई भेट्ने वचन दिएका रहेछन्। त्यो वचनले सुजललाई खुशी दिएको छ। उनलाई भेटेर सँगै फोटो खिचाउने कुरा उत्साहित हुँदै सुनाउँछिन्। र, हतार हतार उल्था गर्न लगाइन् बुबालाई।

यस्ता प्रतिक्रियाहरूले हौसला दिने बताउँछिन् सुजल। फुर्सदको समय कमेन्टहरू पढेर बिताउने उनी आम मानिसले दर्शाउने दया र गर्ने माया खुट्याउन सक्छिन्। भन्छिन्, ’सबै खालको उर्जा लिनुपर्छ। संगालेर राख्नु पर्छ र क्यामेरा अगाडि आवश्यकता अनुसार पोख्नु पर्छ। आखिर अभिनय भनेकै फरक मानसिक स्थितिलाई बाँच्नु त रहेछ।‘

उनी आफूले भन्न खोजेको कुरा प्रष्ट भए नभएको बुझेर मात्र संवाद टुंग्याउँछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell