जनकपुरधाम : निर्माण शुरु भएको ८ वर्षपछि जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ। नयाँ टर्मिनल भवनको निर्माण कार्य सम्पन्न भए लगत्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उदघाटन गरेपछि सञ्चालनमा आएको हो।
नयाँ टर्मिनल भवनको निर्माण कार्य विसं २०६९ सालमा शुरू भएको थियो। १८ जना यात्रु बोक्ने जहाजका लागि विसं २०२४ सालमा निर्माण गरिएको टर्मिनल भवनबाट सेवा दिइदै आएको थियो।
विसं २०६९ कात्तिकमा १८ करोडको लागतमा निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले टर्मिनल भवनको शिलान्यास गरेका थिए। डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माणका लागि पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच विसं २०६९ असोज १५ मा सम्झौता भएको थियो।
प्राविधिक समस्या, रकम अभाव लगायतका कारण टर्मिनल भवन निर्माण कार्य पटक पटक लम्बिदै आएको थियो। ८ वर्षपछि कुल ४५ करोडको लागतमा नयाँ टर्मिनल भवनको निर्माण कार्य सम्पन्न भएको हो।
अत्याधुनिक नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै यसअघि यात्रुहरूका चापका कारण भिडभाड हुने समस्याको अन्त्य हुने जनकपुर विमानस्थलका बरिष्ठ अधिकृत विकास कुमार झाले बताए। नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २ सय ५० यात्रु बस्न सक्ने व्यवस्था मिलाइएको उनले बताए।
जनकपुरधाम विमानस्थलबाट अहिले दैनिक तीन वटा निजी विमान कम्पनीले सेवा दिँदै आएको छ। बुद्ध एयरले दैनिक तीन, यति एयरले दैनिक दुई र श्री एयरलाइन्सले दैनिक एक पटक जनकपुरधाम–काठमाडौं उडान गर्दै आइरहेको बरिष्ठ अधिकृत झाले जानकारी दिए। बुद्ध एयरले सोमवारदेखि नै नयाँ टर्मिनल भवनबाट सेवा दिँदै आएपनि आजबाट यति एयर लाइन्स र श्री एयरलाइन्सले नयाँ टर्मिनल भवनबाट सेवा दिन शुरु गरेको झाले बताए।
अहिले जनकपुरबाट दैनिक ५ वटा उडान काठमाडौंका लागि गर्दै आएको छ। नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि धावनमार्ग विस्तार गर्ने लक्ष्य रहेको जनकपुरधाम विमानस्थलका प्रमुख किरण गौतमले जानकारी दिए। उनका अनुसार अहिले रहेको १३ सय मिटरको धावनमार्गलाई १५ सय मिटर पुर्याइने छ।
आधुनिक टर्मिनल भवनमा १ सय ५० मोटरसाइकल, ८० वटा कार तथा जीप पार्क गर्न सक्ने क्षमताको पार्किङ स्थल बनाइएको हो। त्यस्तै, टर्मिनल भवनमा अलग्गै स्तनपान कक्ष र धुम्रपान कक्ष समेत बनाइएको जनकपुरधाम विमानस्थलका प्रमुख गौतमले बताए।