कपिलवस्तु जिल्ला कारागार पुगेर कैदी बन्दीसँग कुरा गरेपछि २१ वर्षका हरि खनाल प्रस्ट भए, उनी जे चाहन्थे त्यो पूरा हुने भयो। उनी र उनका साथीहरुले जेलमा रहेकाहरुसँग कुराकानी गर्दा थाहा पाए - पढ्ने लेखपढको हुटहुटीलाई जेलका पर्खाल र फलामे बारहरुले छेक्न सक्ने रहेनछ। पढ्ने र पढाउने 'लत' बसाउन हिँडेका हरि र उनका साथीहरु धेरै मेहनतपछि कारागार पुगेका थिए - पुस्तकालय स्थापना गर्ने उद्देश्यका साथ।
जिल्ला कारागारमा दुईवटा ब्लक रहेछ। एउटा ब्लकमा राखिएकालाई अर्कोमा जान निषेध। पुस्तकालय बनाउन र त्यहाँ रहेकालाई पढाउने रहर बोकेर हिँडेका उनीहरुले तय गरे संकलन भएका आधा पुस्तक एउटा ब्लकमा र आधाजति अर्को ब्लकमा राख्ने।
त्यसभन्दा पनि अझ बढी रोचक कुरा त के भयो भने अक्षर खुट्याउन नसक्ने बन्दीहरु पनि पढ्न चाहँदा रहेछन्। उनीहरुले पुस्तकालय सुरु हुने हो भने त्यसभन्दा अगाडि प्रौढ शिक्षा सुरु गरेरै भए पनि सिक्ने चाहना व्यक्त गरे। अपराधको सजाय भोगिरहेकाहरुमा यस्तो हुटहुटी देख्दा हरि दंग हुनु स्वभाविक थियो।
हरि र उनका साथीहरुले शैक्षिक एवं निम्न माध्यमिक तहका अन्य पुस्तकहरू समेत जम्मा गराए, कखरा सिक्न चाहनेहरुका लागि। कारागारमा अहिले नियमित कक्षा सञ्चालन समेत भइरहेको सुनाउँदा उनी खुशी देखिन्छन्। सुखद् विषय के हो भने – त्यहाँबाट थप पुस्तकको माग गरिएको छ। पढ्न थालेपछि लेख्ने इच्छा व्यक्त गर्नेहरू पनि उत्तिकै बढेका छन्। अपराध कर्मबाट जेलमा पुगेका मानिसहरु नै किन परे त उनको रोजाइमा?
+++
हरिलाई बाल्यकालदेखि नै रत्नाकर डाँकु कसरी बदलिएर महर्षि बाल्मिकी बने? भन्ने कथाले निक्कै छुन्थ्यो।
रत्नाकर डाकुको जन्म नागा जातिमा भएको थियो। विवाहपछि परिवारप्रतिको जिम्मेवारी पूरा गर्न उनले डकैती सुरु गरेका थिए। लुटेको धन, सम्पत्तीले परिवारको पालनपोषण गर्नु उनको पेशा।
सधैंजस्तै लुट्नका लागि जंगलमा बसेका रत्नाकरले साधुलाई भेटे। उनीसँग भएको सम्पत्ति मागे। तर, साधुले आफूसँग केही नभएको बताएपछि रत्नाकरले उनलाई मार्ने धम्की दिए। साधुले आफू मर्न तयार भएको तर त्यसअघि आफूलाई डाकु दुष्कर्ममा लाग्नुको कारण बताउन आग्रह गरे। रत्नाकरले आफ्नो परिवार पाल्न त्यसो गरेको बताए।
साधुले उनलाई ‘आफ्नो पापको सजाय आफूले मात्र भोग्नु पर्ने’ बताए। भने, 'परिवारलाई सोध्नु उनीहरू तिम्रो पापको दण्ड भोग्न तयार छन् कि छैनन्?’
साधुलाई रुखमा बाँधेर रत्नाकर घर गए। प्रश्न गरे। थाहा पाए परिवारका कोही पनि उनको दुष्कर्मको फल भोग्न तयार छैनन्। त्यसपछि उनले दुष्कर्म त्यागे र तपस्या गर्न थाले। साधुले देखाएको सत्यको बाटोले उनलाई रामायण रचियता वाल्मिकी बनायो।
साधुले दिएको ज्ञानकै कारण एउटा डाकु कसरी विद्वान बने भन्ने यही कथा पटकपटक पढे हरिले। कथाले उनलाई महसुस गरायो – कुनै पनि मानिस जानेर वा चाहेर खराब हुँदैन। उ बद्लिन एउटा प्रभावकारी वाक्य पर्याप्त हुनसक्छ।
+++
हरिलाई कैदीहरुलाई हेर्ने नेपाली समाजको दृष्टिकोण र गर्ने व्यवहार कहिल्यै चित्त बुझेको थिएन। चार घेरामा थुनेर राख्ने। सजाय दिने। उनीहरूमा हुने सम्भावित विकास र परिवर्तनबारे नसोच्ने। अनि सुध्रने मौका त दिँदै नदिने प्रवृत्तिमा उनले खोट देखे।
अपराधीहरूलाई हेयको दृष्टिकोणले मात्र हेर्नुलाई समाजको नकारात्मक पाटो मान्ने उनी कारागारलाई यो समाजको कुरुपताको पराकाष्ठ ठान्छन्। मान्छे बन्दीमात्र हुँदैन त्यहाँ, मानसिक र व्यवहारिक परिवर्तनको मौका समेत नपाउने बुझेका छन् उनले। 'मानिस कोही पनि जन्मिँदै अपराधी हुँदैन। समाजमा असल, खराब दुवै खालका मानिस हुन्छन्,' हरिले भने।
यस्ता दुवैखाले प्रवृत्ति समाजको उपज ठान्छन् उनी। उनलाई लाग्छ - जसरी खराबलाई सजाय दिन समाज अघि सर्छ, त्यसैगरी सुधार्ने जिम्मेवारी पनि लिनुपर्छ। त्यसैले उनी समाजलाई प्रश्न मात्र गर्दैनन्। त्यही समाजको सदस्यका नाताले आफूले देख्न चाहेको परिवर्तनका लागि जुटेका पनि छन्। कानून र समाजले 'अपराधी'को तक्मा भिराएका मानिसका लागि ज्ञानको दायरा फराकिलो बनाउने उनको अभियान।
यसको थालनी भयो उनको जन्मभूमि कपिलवस्तुबाट। त्यहाँ रहेको कारागारमा पुस्तकालय स्थापनाको योजना बनाए उनले। त्यो अभियानमा जोडिए साथीहरू गौरव पौडेल, आरती अर्याल, सुनिता बेलबासे, अमीम भट्टराई र दिवेशराज पौडेल। सबैले आ-आफ्नो तर्फबाट पुस्तक सहयोगका लागि सार्वजनिक अपील गरे।
हरि र समूहको योजनाका लागि अनुमति दिए कपिलवस्तु जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालय र पिपरा इलाका प्रहरी कार्यालयका प्रमुख दिनेश गुरुङले। प्रहरीकै सहयोगमा उनीहरूले बन्दीहरूसँग अन्तर्क्रिया गरे। उनीहरूको रुचीको विषयबारे सोधे। कस्ता पुस्तक पढ्न मन छ? जानकारी लिए।
लगभग १५ दिनमै लगभग दुई सयभन्दा बढी पुस्तक संकलन भयो।
'हामीले सोचेभन्दा बढी साथ, समर्थन र सहयोग पायौं,' हरिले सुनाए। विशेषगरी आम पाठक र लेखक स्वयमबाट पुस्तक सहयोग भयो। संकलित पुस्तकबाट कैदीहरूका लागि उपयुक्त नहुने र दोहोरिएका पुस्तकहरू छुट्टाएर राखियो। बाँकी १ सय ६० वटा पुस्तक कारागारमा पुर्याइयो। गएको कार्तिक ३० गते हो त्यहाँ पुस्तकालय स्थापना भएको।
'हाम्रो प्रयास सार्थक भएको दिन। हामी खुशी भयौं, कहीँ पुग्न सुरुवाती कदम उठाउन कति आवश्यक छ भन्ने प्रमाणित भएको थियो,' हरिले भने।
'हरेक मानिसभित्र राम्रो नराम्रो दुवै पाटो हुन्छ। बस् आफू भित्रको मलाई चिन्न एउटा उज्यालो चाहिन्छ,' उनले भने, 'पुस्तकले त्यो उज्यालो दिन्छ। भनिन्छ नि, पुस्तकले एउटै ठाउँमा बसेकालाई पनि संसार घुमाउँछ।'
राष्ट्रिय पुस्तकालय निर्माण अभियानलाई अब यो समूहले बृहत कार्यक्रमका रुपमा अघि बढाउँदै छ। सुरुवाती चरणमा लुम्बिनी प्रदेशका हरेक कारागारमा पुस्तक उपलब्ध गराउने लक्ष्य राखेका छन्। अभियान अन्तर्गत् अर्घाखाची र नवलपरासीका लागि पुस्तक संकलन भइरहेको छ।
'हामीलाई देशभरका विभिन्न ठाउँहरूबाट पुस्तक पठाइरहनु भएको छ। हामी ती सबै प्राप्त गर्न चाहन्छौं। तर, हामी सबै विद्यार्थी हौं। हामी संस्थागत् रुपमा अघि नबढेकाले पुस्तक संकलनको आर्थिक भार भने केही कठिन बन्न सक्छ,' उनले भने।
उनले काठमाडौं, झापालगायत ठाउँहरूबाट पुस्तक पठाउँदा लाग्ने खर्च र प्रचारप्रसार सामाग्री प्रकाशनको खर्चका लागि सहयोग आवश्यक भएको बताए। 'तत्काल सीमित ठाउँमा केन्द्रित भएकाले आफ्नै खाजा खर्चबाट जुटाउन धेरै अप्ठ्यारो छैन। तर, हामी यसलाई राष्ट्रिय योजना बनाउन खोज्दैछौं,' उनले भने।
हरिले पुस्तकालय स्थापनासँगै कारागारमा बन्दी रहेकाहरूको साहित्यिक सामाग्री समेटेर म्यागजिन प्रकाशनको पनि योजना रहेको सुनाए। साथै त्यहाँ भित्र रहेकाहरूले लेखेका कृति राष्ट्रिय दैनिकमा प्रकाशन गराउने रहर पनि छ उनमा। 'लेख्नु आफैलाई पोख्नु हो। हामी उहाँहरूलाई सुन्ने ठाउँ बनाउन चाहन्छौं,' हरिले भने।
राप्ती टेक्निकल कलेजमा कृषिमा डिप्लोमा गरिरहेका हरि पुस्तकलाई परिवर्तनको माध्यम मान्छन्। पुस्तकले कारागार भित्र भएकाहरूको मानिसकता र मानसिक स्वास्थ्यमा सबैभन्दा बढी सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ। साथै पर्खाल बाहिर बसेर कारागार भित्र भएकाहरूबारे बन्ने धारणाका धारमा पनि परिवर्तन आवश्यक भएकाले यस अभियानलाई देशव्यापी बनाउन चाहन्छन्। अक्षरको यस अभियानलाई हरिको समूहले नारा दिएका छन् – मुक्तिको बलियो युक्ति नै पुस्तक हो।