PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपाल-भारत सीमामा सडेगलेको अवस्थामा महिलाको शव फेला, हत्या गरेर फालिएको आशंका



सुमित मिश्र

नेपाल-भारत सीमामा सडेगलेको अवस्थामा महिलाको शव फेला, हत्या गरेर फालिएको आशंका

जनकपुरधाम : धनुषाको नगराईन नगरपालिकास्थित नेपाल भारतको सीमा जटही बोर्डरमा एक महिलाको शव भेटिएको छ। नगराईन नगरपालिका वडा नम्बर-२ जहटी बोर्डरस्थित दुर्गापट्टी धार नजिक परालको कुइनो नजिकै सडेगलेको अवस्थामा शव फेला परेको हो।

लामो समय बितिसकेकोले शव गन्हाएको अवस्थामा फेला परेको सीमा प्रहरी चौकी जटहीले जनाएको छ। घाँस काट्न गएका केही स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। जटही भन्सारदेखि ५ सय मिटर पूर्व नेपाल भारतको सीमामा पहिचान खुल्न नसकेको अन्दाजी २०/२२ वर्षीया महिलाको बेवारिस शवको शरीर डोरीले बाँधिएको अवस्थामा रहेको र आधा शरीर जनावरले खाइसकेको अवस्थामा भेटिएको सीमा प्रहरी चौकी जटहीका इन्चार्ज प्रहरी सहायक निरिक्षक मनु श्रेष्ठले जानकारी दिए।

उनले सो महिलाको कसैले हत्या गरेर फालिएको हुनसक्ने आशंका गरिएको बताएका छन्। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell