PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

लोकसेवा आयोगको विज्ञापनप्रति कर्मचारी मञ्चको आपत्ति, सच्याएर पुनः आह्वान गर्न माग



सुमित मिश्र

लोकसेवा आयोगको विज्ञापनप्रति कर्मचारी मञ्चको आपत्ति, सच्याएर पुनः आह्वान गर्न माग

जनकपुरधाम : प्रदेश लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापनप्रति आपत्ति जनाउँदै नेपाल मधेसी निजामती कर्मचारी मञ्चले आयोगका अध्यक्ष सुरेन्द्र कुमार यादवलाई ज्ञापनपत्र बुझाएको छ। प्रदेश सरकारले गरेको विज्ञापनमा बढुवा समेतको पद खुलाई कार्यतालिका निर्माण गरेर सच्याएर विज्ञापन पुनः आह्वान गर्न मञ्चले ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको हो।

प्रदेश लोकसेवा आयोगको सूचना नम्बर १/२०७७-०७८ बमोजिम गत बिहीवार प्रकाशित इन्जिनियरीङ सेवा, इन्जिनियर पदको विज्ञापन उपर मञ्चको गम्भीर ध्यानाकर्षण भएको मञ्चका महासचिव बेचन कुमार महतोले जानकारी दिए।

उनले यस प्रदेशको प्रदेश निजामति सेवा ऐन आइनसकेको वर्तमान अवस्थामा विद्यमान निजामति सेवा ऐन, २०४९ र नियमावली, २०५१ तथा समायोजन ऐन, २०७५ ले गरेको व्यवस्थाविपरित आह्वान गरिएको सो विज्ञापन आफैमा त्रुटीपूर्ण र हचुवामा आधारित रहेको जिकिर गरेका छन्।

उनले भने, ‘निजामति सेवाका कुनै पनि सेवा, समूह र पदको विज्ञापन हुँदा कानुनतः परिभाषित खुल्ला तथा बढुवाको विज्ञापन सँगसँगै हुनुपर्नेमा प्रदेश सरकारको प्रथम भनिएको यस विज्ञापनमा बढुवाको विज्ञापनलाई नजरअन्दाज गरी खुल्लाको मात्र विज्ञापन आह्वान गरिएको छ।’

उनले संघीयता कार्यान्वयनपछि केन्द्रिय लोकसेवा आयोगले स्थानीय तहको लागि केही वर्ष अगाडि मात्र गरेको विज्ञापनमा अधिकृत छैठौं तहलाई इन्ट्रीप्वाइन्ट मानी विज्ञापन गरेकोमा यस प्रदेशको लोकसेवा आयोगले सातौं तहलाई अधिकृत इन्ट्रीप्वाइन्टको रुपमा विज्ञापन गर्नुको आधार के रहेको भन्दै प्रश्न समेत गरेका छन्।

आयोगले गत बिहीवार प्रदेशमा रिक्त रहेको प्राविधिक पदका लागि अधिकृत तहको विज्ञापन प्रकाशन गरेको थियो। सूचनाअनुसार राजपत्राङ्कित तृतीय श्रेणी सातौं तह (प्राविधिक) पदको खुल्ला तथा समावेशीतर्फ ३७ पदका लागि दरखास्त आह्वान गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell