जनकपुरधाम : मिथिलाञ्चलको सबैभन्दा ठूलो उत्सवको रुपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ। प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मनाइने विवाहपञ्चमी शुरु हुनुभन्दा अगावै जनकपुरधाममा श्रद्धालु भक्तजनहरुको चहल पहल देखिन्थ्यो। तर यसपटक भने त्यस्तो देखिएन। आज विवाहपञ्चमीको तेस्रो दिन बित्न लाग्दा पनि जनकपुरधाम सुनसान छ। जनकपुमा विवाहपञ्चमीको चहलपहल नहुँदा गाउँ गाउँबाट आउने श्रद्धालुहरु समेत निराश भएर घर फर्किरहेका छन्। महोत्तरीको बलबबाट विवाहपञ्चमी महोत्सवको रौनक हेर्नकै लागि जनकपुरधाम आएका रामपरीक्षन यादव निराश भएर घर फर्के। उनले जनकपुरधाम मात्र नभई पूरै मिथिलाञ्चलको सबैभन्दा ठूलो उत्सव विवाहपञ्चमी महोत्सव यसरी खल्लो हुन्छ कल्पनासम्म नगरेको बताए।
यादवजस्तै कयौ श्रद्धालुहरु निराश भएर जनकपुरधाम आएर फर्किने गरेका छन्। अन्य वर्षहरुमा बाहिरबाट आउने साधुसन्त तथा श्रद्धालुहरुको बासका लागि विभिन्न स्थानमा ठूलठूला पण्डालहरु लगाइन्थ्यो। तर यसपटक भने जनकपुरधामको कुनै स्थानमा त्यस्ता पण्डाल लगाइएको छैन।
७ दिनसम्म मनाइँदै आएको महोत्सवका लागि सातै दिनको विधि मनाउनका लागि सम्पूर्ण तयारी गरिन्थ्यो। जसमा मन्दिरका महन्थदेखि, साधु सन्त तथा श्रद्धालु भक्तजन र स्थानीयवासीको सहभागिता हुन्थ्यो। यस वर्ष जारी विवाहपञ्चमी महोत्सवमा न साधु सन्तको सहभागिता देखिन्छ न त स्थानीयवासीका साथै श्रद्धालुहरुको नै।
जानकी मन्दिरकै प्राङ्गणमा पण्डाल लगाइएको छ। जहाँ प्रत्येक दिन साँझ रामलिला मञ्चन गरिन्छ। सो मञ्चमै विवाहपञ्चमी महोत्सवको सातै दिन विधिका लागि झाँकी प्रदर्शन गर्ने तयारी गरिएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए।
महन्थ दासले भने, ‘अन्य वर्षमा जे जे विधि हुन्थ्यो सबै विधि हुन्छ, श्रद्धालु भक्तजनहरुको सहभागिता रहन्छ नै। तर भीड नगर्न प्रशासनले पटक पटक भनेपछि त्यो भव्यता दिन सकेका छैनौँ।’
उनका अनुसार कुनै समय एक महिनाससम्म चल्ने विवाहपञ्चमी महोत्सव एक दिनमै सीमित भएको थियो। तर फेरि पहल भएपछि वि.सं. २०६३ सालदेखि मात्रै सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाउन लागिएको हो। जसमा हजारौँ भारतीय श्रद्धालुहरुको सहभागिता हुने गर्थ्यो। तर सीमा नाका बन्द भएका कारण अयोध्यामा समेत निमन्त्रणा पठाउन नसकिएको महन्थ दासको भनाई छ।
उनले भने, ‘यस वर्ष अयोध्याको नभइ जनकपुरको राम मन्दिरकै साधुसन्तहरुलाई सहभागी गराएर सम्पूर्ण विधि पूरा गर्ने योजना रहेको छ।’
उनले कोरोना संक्रमणको त्रास बाँकी नै रहेको र स्थानीय प्रशासनले भीडभाड नगर्न भनेकाले विवाहपञ्चमी महोत्सवमा सहभागी हुनका लागि कुनै पनि अतिथिलाई आमन्त्रित नगरिएको बताए।
उनले भने, ‘प्रत्येक वर्ष यस वैवाहिक समारोहमा सहभागिताका लागि मंसिर शुक्ल द्वितीया तिथिका दिन अयोध्याबाट साधु सन्तहरूको जन्तीको डफ्फा जनकपुरधाम आउँथे। अयोध्याबाट आउने जन्ती समूहलाई मिथिलावासीले नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा भव्य स्वागत गर्थे। तर यस वर्ष भने कोरोनाले यी सबै कार्यक्रमहरु प्रभावित भएका छन्।’
जनकपुरधाममा हरेक वर्ष राम जानकी विवाहको सम्झनामा मनाइने विवाह पञ्चमी मेला सबैभन्दा बढी श्रद्धा, निष्ठा र उत्साहका साथ भव्यतापूर्वक मनाइने गरिन्छ। तर यस वर्ष भने कोरोना महामारीको अवस्थालाई दृष्टिगत गर्दै यी सम्पूर्ण कार्यक्रमहरुलाई औपचारिकतामा मात्र सिमित गरिएको महन्थ दासले बताए।
‘एकलौटी निर्णयले महोत्सव प्रभावित’
जनकपुरधाममा भव्यता साथ मनाइँदै आएको विवाहपञ्चमी महोत्सव प्रभावित हुनुमा स्वयं जानकी मन्दिर नै दोषी रहेको स्थानीयको आरोप छ। कतिपयले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको एकलौटी निर्णयका कारण यस वर्षको रामजानकी विवाहपञ्चमी महोत्सव खल्लो भएको गुनासो गरेका छन्।
नगरदर्शन विधिसँगै विधिवत रुपमा सुरु भइसके पनि महन्थ दासका कारण यस वर्षको महोत्सवमा कुनै रौनकता नदेखिएको स्थानीय रमेशप्रसाद अधिकारीले बताए।
‘विवाहपञ्चमी सुरु भएपछि भरीभराउ हुने जनकपुरधाममा अहिले खासै भीडभाड देखिएको छैन,’ उनले भने, ‘यसको सम्पूर्ण दोषी महन्थ दास हुन्। कोरोना महामारीका बीच राजनीनितीक दलहरुको सभा सम्मेलन लगायतका गतिविधिहरु जारी नै छ। तर स्थानीय प्रशासनले पनि धर्मकर्मका लागि मात्रै रोक लगाउनु उचित देखिएन।’
यता महन्थ दास यी आरोप निराधार रहेको बताउँछन्। उनले प्रशासनले नै मेला नलगाउन भनेपछि केही गर्न नसकेको बताए। उनले भने, ‘मेरो पनि इच्छा छ विवाहपञ्चमी महोत्सवलाई अझै भव्य बनाऔँ, मेरो पनि मन यसपालि खल्लो भएको छ।’
मंसिर शुक्ल पञ्चमीका दिन त्रेतायुगमा भगवान राम र सीताको विवाह जनकपुरमा भएको सम्झनामा परापूर्वकालदेखि नै जनकपुरमा धुमधामसँग विवाह पञ्चमी महोत्वस मनाउने गरिन्छ। त्रेतायुगमा मर्यादा पुरुषोत्तम श्रीराम र आर्दशनारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसीर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा विवाह महोत्सव (विवाह पञ्चमी) आयोजना गरिन्छ। विवाहपञ्चमीमा सहभागी हुने श्रद्धालुहरुलाई पारिवारिक सुख प्राप्त हुने जनविश्वास रहेको छ।
रामजानकीको स्वयंवर, धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागी भई पुजाअर्चना गर्नाले पारिवारिक सुखशान्ति र हरेक दुःखबाट मुक्तिहुने जनविश्वास रहेको छ।