PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

अविलम्ब संसद अधिवेशन बोलाउन काँग्रेसको माग, यी हुन् पदाधिकारी बैठकका पाँच निर्णय



अविलम्ब संसद अधिवेशन बोलाउन काँग्रेसको माग, यी हुन् पदाधिकारी बैठकका पाँच निर्णय

काठमाडौं : नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सकिएको छ। सभापति शेरबहादुर देउवाले मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि आज आफ्नो निवासमा बैठक बोलाएका थिए।

बैठकले संघीय संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको छ। त्यसैगरी काँग्रेसले पर्सिका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ। काँग्रेसले उखु किसानको माग पनि तत्काल सम्बोधन गर्न माग गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।


यी हुन् बैठकका निर्णय

१) संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धि मंसिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेको ठहर बैठकले गरेको छ। संसद अधिवेशन छलेर संविधानको मर्म विपरीत अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको छ।

संवैधानिक परिषद्को गरिमा समाप्त पारेर जारी अध्यादेशपश्चात् कुनै पनि निर्णय भएको या गरिने दुवै स्थितिमा नेपाली कांग्रेसलाई सो मान्य नहुने चेतावनी दिंदै बैठकले अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ।

२) संघीय संसदको अधिवेशन अविलम्ब बोलाउन बैठकले माग गरेको छ।

३) संवैधानिक परिषद् सम्बन्धि जारी अध्यादेश एवं अन्य समसामयिक राजनैतिक बिषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दल कार्यसमिति बैठक पुस ३ गते बिहान ११.०० बजे बोलाउने निर्णय बैठकले गरेको छ।

४) मंसिर २९ को देशब्यापी प्रदर्शनले कम्युनिष्ट सरकारको सर्वसत्तावाद, तनहुँमा नेता रामचन्द्र पौडेलमाथि भएको दुव्र्यवहार, कोभिड विरुद्ध सरकारको अकर्मण्यता र भ्रष्टाचार विरुद्ध व्यापक जनअभिमत प्रकट गरेको निष्कर्ष सहित सहभागी सबैमा बधाई ज्ञापन गरेको छ।

प्रदर्शनको तयारीमा अहोरात्र खट्ने साथीहरूप्रति सम्मान प्रकट गर्दै समाचार प्रसारण मार्फत योगदान पुर्‍याउनु हुने देशभरिका संचार माध्यमलाई धन्यवाद ज्ञापन गर्दै सामाजिक संजाल मार्फत महत्वपूर्ण योगदान पुर्‍याउने बिशेषतः युवा पंक्तिलाई बधाई र सम्मान बैठकले व्यक्त गरेको छ ।

५) उखु किसानको माग सुनुवाइ गरेर उखुको बक्यौता अविलम्ब किसानलाई चुक्ता गर्न गराउन आवश्यक पहल र समन्वयका लागि बैठकले सरकार समक्ष जोडदार माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell