PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

ओम्नीलाई राज्यकोषबाट एक पैसा पनि दिएको छैन, कसरी भयो भ्रष्टाचार : स्वास्थ्यमन्त्री ढकाल



ओम्नीलाई राज्यकोषबाट एक पैसा पनि दिएको छैन, कसरी भयो भ्रष्टाचार : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना महामारीमा स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितता बारे स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँग सवालजवाफ गरेको छ।

ओम्नी ग्रुप र नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्रीमा भएको अनियमितता बारे छलफल गर्न समितिले आज ढकाललाई बोलाएको थियो।

ढकालले भने ओम्नीलाई सरकारले एक पैसा नै नदिएको कारण भ्रष्टाचार कसरी भयो भनेर उल्टै प्रश्न गरेका छन्।

'राज्यकोषबाट ओम्नीलाई एक पैसा पनि दिएको छैन। कसरी भयो भ्रष्टाचार ?उल्टै हामीले उसको खरिद सम्झौता रद्द गरेर उसको धरौटी रकम जफत गरेका छौं।'

मन्त्री ढकालले स्वास्थ्य सामाग्री खरिद प्रकरणमा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको दाबी गर्दै उनले आफूले मन्त्रीका रुपमा नीतिगत सहजीकरण मात्रै गरेको बताए।

'मन्त्रीपरिषदको नीतिगत निर्देशनमा खरिद प्रक्रिया अघि बढेको हो। खरिद प्रक्रियाको सम्पूर्ण जिम्मेवारी कानुनले महानिर्देशकलाई दिएको छ। मैले सहजीकरण मात्रै गरेको हुँ' उनले भने।

ढकालले स्वास्थ्य सामाग्री खरिद प्रकरणमा भ्रष्टाचार नै नभएको दाबी गर्दै आफ्नो संलग्नता खोज्न चुनौती समेत दिए।

'मेरो आर्थिक संलग्नता भए खोज्नुस। सत्यतथ्य पत्ता लगाउन म सहयोग गर्छु' ढकालले भने।

ओम्नीले १ अर्ब ३ करोडको सामाग्री ल्याउने सहमति भएकोमा २८ करोडको सामाग्री मात्रै ल्याएको थियो। सामाग्री ढिला ल्याएको कारण खरिद प्रक्रिया रद्द गरिएको उनले बताए।

स्वास्थ्य सामाग्री खरिद प्रकरणमा अख्तियारले पनि सम्बन्धित कर्मचारीहरुसँग सोधपुछ गरिरहेको उनले समितिलाई जानकारी दिए।  

नेपाल एयरलाइन्सले भुक्तानी पाउने सम्बन्धीमा सोधिएको प्रश्नमा उनले धरौटी जफत भइ खरिद प्रक्रिया नै रद्द भएकोले भुक्तानी हुन नसकेको बताए।

पहिला सम्बन्धित व्यवसायबाट नै भुक्तानी गराउने र सरकारले सहजीकरण मात्रै गर्ने कुरा भएको भन्दै ढकालले प्राविधिक कारणले नेपाल एयरलायन्सको भुक्तानी रोकिएको बताए।

ढकालसँगको छलफलपछि लेखा समितिले यस विषयमा थप छानविन गर्न अख्तियारलाई निर्देशन दिने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell