PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

त्रेता युगको झझल्को दिने विवाह पञ्चमीमा बेहुलीझैँ सिँगारिएको जानकी मन्दिर

त्रेता युगको झझल्को दिने विवाह पञ्चमीमा बेहुलीझैँ सिँगारिएको जानकी मन्दिर

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : विवाहपञ्चमी आउनुभन्दा एक साता अगाडिदेखि नै मिथिलाञ्चलका घर-घरमा रामजानकी विवाहसँग सम्बन्धित गीतहरु गुञ्जिन थाल्छन्। रामजानकीको विवाह हुने स्थल जानकी मन्दिर सजाउने कार्य समेत एक महिना अगाडिदेखि नै शुरु भइहाल्छ।

त्रेता युगको झझल्को दिने विवाहपञ्चमी महोत्सव हेर्नका लागि देश विदेशबाट लाखौँ दर्शनार्थीहरु जनकपुरधाम पुग्ने गर्छन्। यद्यपि यस वर्ष कोरोना महामारीका कारण अन्य देशबाट दर्शनार्थीहरु आउन नसकेकाले जनकपुरमा पहिलेको जस्तो रौनक छैन। अन्य वर्ष जस्तो यस वर्ष तामझाम समेत छैन।

जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा वैवाहिक कार्यक्रमको प्रत्येक वर्ष आयोजन हुने गर्छ। वैवाहिक कार्यक्रममा छोरीको बिहेका लागि जसरी नै राम जानकी विवाहका लागि समेत मण्डप सजाइन्छ।

जनकपुरधामस्थित जानकी मन्दिरलाई मिथिला दरबारको रुपमा लिइन्छ भने राम मन्दिरलाई अयोध्या दरबारको रुपमा लिइन्छ। जानकी मन्दिर तथा राम मन्दिरलाई बेहुली झैँ विवाहपञ्चमीको लागि सिँगारिएको छ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले विवाहपञ्चमीमा छोरीको बिहेको आयोजना गरिरहेको जस्तै अनुभव हुने गरेको बताउँछन्। महन्थ दास बिहेमा माता सीताका पिता राजा जनकको भूमिकामा हुन्छन्।

यता राम मन्दिरका महन्थ राम गिरी पनि राजा दशरथको भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राख्दैनन्।

उनी भन्छन्, ‘सीताजस्तो बुहारी पाउने भएपछि हर्ष विभोर हुनु स्वभाविक नै हो।’

वैवाहिक कार्यक्रम हेर्नका लागि अन्य वर्ष लाखौँ दर्शनार्थी जनकपुरधाम पुग्ने गर्थे। तर, यस वर्ष भने खासै त्यस्तो केही छैन्। तैपनि वैवाहिक गीतहरु भने चारै तिर गुन्जिदै छ। जानकी मन्दिर बेहुली झै सिँगारिएको छ।

त्रेता युगमा अयोध्यानरेश दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान् श्री राम र मिथिलाका  शिरध्वज राजर्षि जनककी पुत्री माता जानकीको विवाह भएको स्मरणमा  साताव्यापी रुपमा मनाईने विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन विधि गरिन्छ। जसमा राम लक्ष्मणको प्रतीक स्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाम नगरदर्शन गराइन्छ।

विवाहपञ्चमी महोत्सवको दोस्रो आकर्षण भनेको फूलबारी लिला हो। फूलबारी लिलामा राम जानकीको पहिलो भेट गराइन्छ। त्रेता युगमा भगवान रामको पहिलो भेट भारतको गिरिजा स्थानमा रहेको गिरिजा माई मन्दिरको प्राङ्गणमा रहेको फूलबारीमा भएको रामायणमा उल्लेख पाइन्छ। यो विधि जानकी मन्दिरको छेउमै रहेको राम जानकी विवाह मण्डपमा रहेको फूलबारीमा प्रत्येक वर्ष सम्पन्न गरिन्छ।

तेस्रो दिन धनुष यज्ञ हुन्छ। माता सीताले शिवजीको पिनाक धनुषलाई बायाँ हातले उठाएर लिपपोत गरेको देखेर राजा जनक यो धनुषमा प्रत्यंचा चढाउन सक्ने वीर पुरुषसँगै आफ्नो छोरीको बिहे गरिदिने वचन लिएर धनुष यज्ञको आयोजन गरिएको मानिन्छ। त्रेता युगमा सो धनुष यज्ञको आयोजन रंगभूमि मैदान १२ बिघामा भएको मानिन्छ। सोही स्मरणमा धनुष यज्ञ विधि सम्पन्न गरिन्छ।

महोत्सवको चौथो दिन राम मन्दिरको प्राङ्गणमा हजारौँको भीडका बीच तिलकोत्सव विधि सम्पन्न हुन्छ। तिलकोत्सवमा जानकी मन्दिरबाट महन्थ राम तपेश्वर दास वैष्णवको नेतृत्वमा १ सय १ पाहुर राम मन्दिरमा आउँछन्। जहाँ जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र राम मन्दिरका महन्थ राम गिरी बीच अंकमाल (सम्धी मिलान) हुन्छ। तिलकोत्सवमा सहभागी महिलाहरु रामजानकीको बिहेका गीतहरु गाउँछन् भने हाँस्य परिहासको माहौल समेत हुने पूजारी ऋषिकेश झा बताउँछन्।

जसरी मिथिलामा सम्धीलाई विभिन्न किसिमको गाली गरिन्छ त्यसरी नै मन्दिरमा समेत दुवै पक्षबाट गालीसहित हस्सी ठट्टा गरिन्छ। राम मन्दिरका महन्थ राम गिरीका अनुसार सम्धी मिलन कार्यक्रममा जानकी मन्दिरका महन्थ, उत्तराधिकारी महन्थ, पूजारीहरु सहभागी हुने गर्दछन् भने राम मन्दिरबाट महन्थ स्वयं, गुठी संस्थानका प्रतिनिधि तथा स्थानीय युवा क्लबका प्रतिनिधिहरु सहभागी हुन्छन्।

महोत्सवको पाँचौ दिन मटकोर विधि हुन्छ। मटकोर विधिमा माता जानकीको मटकोरका लागि मिथिलाका महिलाहरुले जनकपुरधामकै पवित्र सरोवर रहेको गंगासागर पोखरीबाट साँझको समयमा मिथिलाको परम्परा अनुसार गीतनाद गाउँदै माटो खनेर ल्याउने गर्दछन्। सोही माटोबाट विवाहका लागि वेदी तयार गरिन्छ।

छैठौँ दिन ऐतिहासिक रंगभूमी मैदानमा स्वयंवर विधि हुने गर्छ भने सोही राति वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ। स्वयंवरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रंगभूमि मैदान १२ बिघा पुग्ने गर्छ। स्वयंवर पछि दुवै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुग्छ जहाँ वैवाहिक कार्यक्रम हुने गर्छ। रातभरी चल्ने सो वैवाहिक कार्यक्रममा महिलाहरु गीतनाद गाउने गर्छन्।

विवाहपञ्चमीको सातौँ दिन भारतको अयोध्याबाट जन्तीको रुपमा आएका साधु सन्तहरुलाई भोजन गराउँदै विदाई गरिन्छ। जसलाई रामकलेवा भनिन्छ। राम कलेवामा बेहुला पक्षबाट आएकाहरुलाई गाली गलौज गर्ने समेत परम्परा रहेको छ। मन्दिरका पूजारीहरु तथा मिथिलाका नारीहरु गीतकै माध्यमले गाली गर्ने गर्छन्। जसले अदभूत वातावरणको निर्माण गर्छ।



ट्रेन्डिङ पोस्ट

Ncell