जनकपुरधाम : सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ एवं मुख्य दिन आज (शनिवार) रामजानकीको स्वयंवर सम्पन्न भएको छ।
राम मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा दर्जनौँ सवारी साधनसहित बाजागाजाका साथ निस्केको भगवान रामको डोला र जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको नेतृत्वमा जानकी मन्दिरबाट निस्केको माता सिताको डोला शोभायात्राका साथ नगरपरिक्रमा गर्दै रंगभूमी मैदान पुगेको थियो।
रंगभूमी मैदान पुगेपछि भगवान रामको डोलाले माता सिताको डोलालाई फेरा लगाएपछि रामजानकीको स्वयंवर सम्पन्न भएको हो। जानकी मन्दिर परिसरमा आज राति मिथिला संस्कृति अनुसार वैवाहिक कार्यक्रमको आयोजना गरिनेछ।
वैवाहिक कार्यक्रममा राममन्दिरका महन्थ राम गिरीले रामका बुबा अर्थात राजा दशरथको भूमिका तथा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सीताको बुवा अर्थात राजा जनकको भूमिका निर्वाह गर्ने छन्। वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिरलाई दुलहीझैं सिँगारिएको छ।
यस वर्ष कोरोना महामारीको अवस्थालाई दृष्टिगत गर्दै सबै धार्मिक विधि एवं कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित गरिएको छ। विवाहपञ्चमीको रौनक समेत यसपटक घटेको देखिएको छ।
प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मनाइने यस महोत्सवको अवसरमा यसपटक कोरोनाका कारण जनकपुरधाममा खासै चहलपहल देखिएको छैन। अन्य वर्षमा विवाह पञ्चमी शुरु हुनुभन्दा अगावै जनकपुरधाम श्रद्धालु भक्तजनको भीडले भरिभराउ हुन्थ्यो भने यस वर्ष अन्य वर्षको तुलनामा २० प्रतिशत व्यक्ति पनि जनकपुरधाममा छैनन्।