PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बलेफीका वडाध्यक्षविरुद्ध विद्यालय र सडकमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी



बलेफीका वडाध्यक्षविरुद्ध विद्यालय र सडकमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी

  • फूलमान तामाङ-

नवलपुर : सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष विरमान तामाङविरुद्ध भ्रष्टाचारको आरोप लागेको छ। विद्यालय भवन निर्माण र सडक निर्माणका क्रममा उनले मिलेमतो गरी संस्थागत भ्रष्टाचार गरेको भन्दै स्थानीयले अख्तियारमा उजुरी गरेका छन्।

बलेफी गाउँपालिका वडा ३ मा रहेको भीमसेन माविका लागि विभिन्न संस्थाबाट प्राप्त रकममा वडाध्यक्षलगायत विद्यालयका पदाधिकारीको मिलेमतोमा भ्रष्टाचार भएको उजुरीकर्ताले बताए।

'विद्यालय भवन भत्कन थालिसक्यो। बाटोको अवस्था उस्तै छ। उपभोक्त समिति गठन गरेर यसरी संस्थागत भ्रष्टाचार गरिरहेका छन्। स्थानीयले यसबारे सोध्दा हप्कीदप्की गर्छन्,' उजुरीकर्ताले नाम नखुलाउने शर्तमा भने।

भीमसेन माविलाई आनन्द संघ नामक संस्थबाट प्राप्त ८ कोठे भवन र अर्को संस्थाबाट प्राप्त ४ कोठे भवन निर्माणको क्रममा गुणस्तरहीन सामाग्री प्रयोग, प्राविधिकले सुझाएकोभन्दा कमसल फरक निर्माण सामाग्री प्रयोग गरेको आरोप उनले लगाए। विद्यालय ३ वर्षअघि नै निर्माण सम्पन्न भएर सभामुख अग्नि सापकोटाको प्रमुख आतिथ्यमा हस्तान्तरण भएको थियो।

यसबारे बुझ्दा तीन वर्षपछि यो विषयलाई उछालिएको र यसमा कुनै विवाद र आरोप नरहेको वडाध्यक्ष तामाङले दाबी गरे। 'के को आधरमा उहाँहरुले मुद्दा हाल्नु भो। यहाँ कसरी अनियमितता हुनसक्छ। अनुगमन समितीले अनुगमन गरेको छ। प्राविधिकले स्टिमेट गरेकै आधारमा काम भएको छ,' वडाध्यक्ष तामाङले प्रश्न गरे, 'नियम विपरीत काम भए भुक्तानी पाइन्छ? विधिवत ढङ्गले काम नभए त्यसै भुक्तानी पाइन्छ? त्यसैले यहाँ कुनै अनियमितता भएको छैन।' वडाध्यक्ष तामाङ हाल उक्त विद्यालयका व्यस्थापन समिती अध्यक्ष पनि हुन्।

यता विद्यालय व्यस्थापन समितीका पूर्व अध्यक्ष नरबहादुर तामाङ भने पार्टीको विवादमा पुराना कुरा कोट्याएको तर्क गर्छन्। यसबारे पहिले पनि गाउँपालिकामै मुद्दा परेको र मेलमिलाप भइसकेको उनको भनाई थियो। 'यहाँ कांग्रेस र नेकपाबिच विवाद भएको र झगडा पनि भएपछि अहिले मुद्दाको रुप लिएको हो,' उनले थपे, 'विद्यालय निर्माण गर्दा सल्लाह नगरेको भनेर विवाद भयो। पछि झगडा पनि भयो। मविरुद्ध पालिकामा पनि उजुरी दर्ता भएको थियो। त्यो मिलापत्र भैसक्यो।'

विवाद बल्झेपछि आफूलाई मुद्दा हाल्ने जानकारी उजुरीकर्ताले दिएको नरबहादुरले बताए। उनले भने, 'मैले भने - हाल्नुस्। केही खोट भए गल्तीको सजाय भोग्न तयार छु।'

विद्यालयका प्रधानाध्यापक सीताराम पाण्डे भने यस विषयमा आफूलाई केही जानकारी नभएको बताउछन्।

वडाध्यक्षले आर्थिक वर्ष ७६/७७ मा सांसद विकास कोषबाट प्राप्त २७ लाख ३० हजारको 'फुल्पिङ धुस्कोट सिमासिङ सडक' को बजेट पनि जनप्रतिनिधि, प्राविधिक र उपभोक्त समितिको मिलेमतोमा आधी बजेटभन्दा बढी बाँडेर खाएको र बाँकी बजेटबाट बनेको संरचना निर्माण गरेको ५ महिनामै भत्केको दाबी गरेका छन्।

स्थानीय सरकार आएपछि यस वडामा विभिन्न निकायमार्फत विकास निर्माणका लागि विनियोजित २ करोड २९ लाख ३० हजार बराबरको काममा सामान्य ऐन, नियमलाई समेत लत्याएर चरम आर्थिक अनियमितता गरी भ्रष्टाचार गरेकोले उजुरी दर्ता गर्न बाध्य भएको ती उजुरीकर्ताले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell