काठमाडौं : समावेशी आयोगको सदस्यमा सिफारिस डा रामकृष्ण तिमिल्सिनाले उक्त पद अस्वीकार गरेका छन्।
संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका रिक्त पदमा मंसिर ३० गतेको निर्णय अनुसार सिफारिस गरेको थियो। जसमा तिमिल्सिनाको नाम समावेशी आयोगको सदस्यमा सिफारिस थियो।
उनले फेसबुकमा लेख्दै आफूले उक्त पदमा इच्छा व्यक्त नगरेको भन्दै अस्वीकार गरेको जनाएका छन्।
उनले लेखेका छन्, ‘समावेशी आयोगको सदस्य पदमा मेरो नाम सिफारिस भएको भन्ने पत्रपत्रिकाबाट थाहा पाएँ। मैले सो पदमा काम गर्न कुनै इच्छा कसैलाई व्यक्त गरेको पनि छैन। उक्त पदमा जाने मेरो रहर पनि छैन। सबै साथी भाइको जानकारीको लागि यतिसम्म भन्न पर्ने स्थिति आयो। मलाई सिफारिस गर्ने परिषद् प्रति म क्षमाप्रार्थी छु।’
तिमिल्सिना सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार हुन्।
