PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

पूर्व माओवादीहरु हाम्रो लागि ‘ट्युमर’ भइसकेका छन् : नेता बस्नेत



सुमित मिश्र

पूर्व माओवादीहरु हाम्रो लागि ‘ट्युमर’ भइसकेका छन् : नेता बस्नेत

जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता महेश बस्नेतले पार्टीभित्र पूर्व माओवादीहरु ‘ट्युमर’ भइसकेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर युवा संघको भेलालाई जनकपुरधाममा सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन्।

बन्दुकको बलमा सत्तामा पुगेका माओवादी मरनासन्न भएको अवस्थामा ओलीले नै आइसीयूमा राखेर फेरि जीवित बनाएको दाबी गर्दै पूर्व मन्त्री समेत रहेका बस्नेतले त्यो अहिले आएर भूल सावित भइसकेको दावी गरे। यद्यपि उनीहरु पार्टीमा रहे या नरहे पनि आफूहरुलाई कुनै फरक नपर्ने उनको भनाइ थियो।

बस्नेतले भने, ‘पूर्व माओवादीका साथीहरु अहिले हाम्रो लागि गलगाड भएको छ, ट्युमरको रुप लिइसकेको त्यो फालेर हामी झनै उर्जाका साथ अगाडी बढ्ने छौँ। ट्युमर वा गलगाड फाल्दैमा शरिरको तौल घट्दैन बरु झनै फाइदा हुन्छ।’

उनले अगाडी भने, ‘आइसीयूमा राखेर जुन साथीहरुलाई कमरेड ओलीले बचाएका थिए उनै साथीहरु अहिले पार्टीविरुद्ध षड्यन्त्रमा लागेका छन्, अब नेकपा उनीहरुलाई पन्छाएर झनै उर्जावान भएर अगाडि बढ्ने छ। हामी पुरानै चुनाव चिन्ह सूर्य चिन्हका साथ अगाडि आउने छौँ।’

नेता बस्नेत आफ्नो मन्तव्यको क्रममा सबैभन्दा बढी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालविरुद्ध आक्रमक देखिएका थिए।

उनले दाहाल र नेपाललाई जोकरको संज्ञा दिदै भने, ‘उनीहरुको अवस्था चार्ली च्याप्लीन र धुर्मुुस सुन्तली जस्तै भएको छ।’

यसका साथै नेता बस्नेत नेपाली कांग्रेस र जनता समाजवादी पार्टीविरुद्ध समेत खनिएका थिए। उनले नेपाली कांग्रेसले देखावटी विरोध गरिरहेको बताए।

उनले भने, ‘जसपाका साथीहरु कमरेड ओली मधेसमा अलोकप्रिय भनिरहेका छन्, यदि साँच्चै कमरेड ओली मधेसमा अलोकप्रिय छन् भने चुनावमा सहभागी हुन आग्रह गर्छौँ।’

चुनाव नहुने भन्नेहरुलाई उनले चुनाव नहुने भ्रम नपाल्न आग्रह गरे।

उनले भने, ‘चुुनाव नहुने र राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको कदम अदालतले पल्टाउने भ्रम नपाल्नुस्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell