PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

ओलीको कदमपछि सत्तारुढ दलमा फुट : काँग्रेस बन्यो कुहिरोको काग, सडकमा जाने कि चुनावमा? अलमलमा चल्दै छलफल



ओलीको कदमपछि सत्तारुढ दलमा फुट : काँग्रेस बन्यो कुहिरोको काग, सडकमा जाने कि चुनावमा? अलमलमा चल्दै छलफल

काठमाडौं : संसद विघटन भएसँगै सत्तारुढ दल दुईतिर लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार केन्द्रीय समिति विस्तार गरेका छन्। उनले आफ्नो पार्टीको प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उक्त जिम्मेवारी दिइसकेका छन्।

यता पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले माधव नेपाललाई अध्यक्षमा चयन गरेका छन्। उनीहरुको बैठकले प्रधानमन्त्री केपी शर्मालाई नेकपाको अध्यक्षबाट हटाएका छन्।

सत्तारुढ दलभित्रको यो रडाकोले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस भने दोधारमा परेको छ। संसद विघटनको विरोधमा सडकमा उत्रने कि आमचुनावमा जाने? यी दुई विषयमा मंगलवारको केन्द्रीय समितिमा विषय प्रवेश पाएको छ।

सत्ताको झगडा सत्तारुढमामात्र नभई प्रतिपक्षमा पनि सरेको कतिपयले अनुमान गरेका छन्। काँग्रेसको सुस्ततालाई यससँग जोडिएर हेरिएको छ।

काँग्रेस सभापति शेरबहादुर देउवाले मंगलवारको बैठकमा जिम्मेवार बन्दै संयमता अपनाएर अघि बढ्नुपर्ने सुझाव पेश गर्दै विषय प्रवेश गराए। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारी कदमको विरोध गर्दै सडकमा उत्रनुपर्ने भनाई राखे। बैठकमा केन्द्रीय सदस्यहर महेश आचार्य, डा. नारायण खड्का र एन.पी. साउदले पनि भनाई पेश गरेका छन्।

यी दुई शीर्ष नेताले भनाई राखेपछि काँग्रेस पनि सत्तारुढ दलको दुई खेमामा बाँडेको आरोप लागेको छ। यद्यपि केन्द्रीय समितिमा सबै सदस्यहरुले धारणा राखेपछि मात्र काँग्रेसको निष्कर्ष आउनेछ। अहिले भने काँग्रेस वृत्तमा के चर्चा छ भने सभापति देउवाले ओलीलाई साथ दिइरहेको छ। आइजीपी हुन नपाएका आफ्ना खास मान्छे जयबहादुर चन्दलाई देउवाले अख्तियारमा आयुक्त सिफारिस गरेको आशंका काँग्रेस केन्द्रीय सदस्यहरुले गरेका हुन्। उक्त विषयलाई आफूहरुले केन्द्रीय समितिमा उठाउने नेता डा शेखर कोइराला बताउँछन्।

यसो त महाधिवेशन गर्न नसकेको अवस्थामा देउवाको साथ ओलीलाई सधैं नै रहिरहेको अर्का एक केन्द्रीय सदस्यले बताए। संवैधानिक परिषद्को कतिपय नाम देउवाकै सिफारिसमा भएको बताइए पनि यसबारे प्रष्ट हुन सकेको छैन। संसद विघटनमा समेत देउवाको साथ रहेको काँग्रेस नेताहरुकै आरोप छ। यसबारे वरिष्ठ नेता पौडेलसँग प्रचण्ड नेपाल पक्षले केही दिन अघि माधव निवास पुग्दा आशंका गरेका थिए।

देउवा ओलीकै साथमा रहे के त?

कोभिड कहरका कारण देउवाले काँग्रेसको महाधिवेशन गर्न सकेका छैनन्। फागुनमा गर्ने भनिएको महाधिवेशनको म्याद गुज्रिसकेको छ। नयाँ मितिबारे काँग्रेसमा कुनै छलफल भएको छैन। यस्तै अलमलको अवस्थामा नयाँ चुनावमा जाँदा काँग्रेसलाई फाइदा हुने देउवा पक्षका नेताहरुको भनाई छ। यसको जस देउवा लिन चाहन्छन्। जसका लागि महाधिवेशन गरिरहनु परेन।

यता पौडेल पक्ष भने प्रचण्ड र माधव नेपाललाई साथ दिने तरखरमा छन्। सडक संघर्ष गरी संसद ब्युतिए सरकारमा जान पाउने आश पौडेल पक्षले गरेको देउवा पक्षको आरोप छ। यसका लागि पदको बार्गेनिङ हुन थालेको एक नेताले बताए। यसैका कारण पनि अहिले प्रमुख प्रतिपक्षी दलले सर्वदलीय बैठक बोलाए पनि कुनै ठोस निर्णय गर्न सकेको छैन।

मंगलवारबाट शुरु भएको काँग्रेस केन्द्रीय समिति बुधवार पनि जारी रहने र अझै केही दिन लम्बिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell