PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

संसद विघटनविरुद्ध जसपाले देशभरका जिल्ला सदरमुकाममा प्रदर्शन गर्दै, यस्ता छन् आन्दोलनका अन्य कार्यक्रम



संसद विघटनविरुद्ध जसपाले देशभरका जिल्ला सदरमुकाममा प्रदर्शन गर्दै, यस्ता छन् आन्दोलनका अन्य कार्यक्रम

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारीणी समिति बैठकले संसद अधिवेशव आव्हान गर्न प्रतिनिधि सभाका सभामखुलाई आग्रह गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जीवितै रहेको निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक शुरु गर्न आग्रह गर्ने निर्णय जसपाले गरेको हो।

मंगलवार बसेको बैठकपछि जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा अहिलेपनि जीवित रहने निष्कर्ष सहित सभामुखलाई बैठक आव्हान गर्न आग्रह गर्ने निर्णय भएको बताए। भने, ‘प्रतिनिधिसभा अहिलेपनि जीवित छ त्यसकारणले हामीले सभामुखलाई प्रतिनिधि सभाको बैठक शुरु गर्नको निम्ति आव्हान गर्नेपनि निर्णय गरेका छौं।’

प्रतिनिधि सभा विघटनको विरुद्धमा विभिन्न संघर्षका कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ। जस अनुसार पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय भएको पनि संघीय परिषद अध्यक्ष डा. भट्टराईले बताए। ‘यसको विरुद्धमा हामी संघर्षका सबै रुपहरु अपनाउँछौं। मुख्य रुपमा सडक संघर्षमा हामी जान्छौं। त्यसका निम्ति ८ गते सबै जिल्ला सदरमुकामहरुमा जुलुस प्रदर्शन गर्ने पहिले नै घोषणा भइसकेको छ। १० गते सबै जिल्ला सदरमुकामरुमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकामहरुमा र अन्यत्र पनि मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गर्ने र अरु ठाउँमा सभा जुलुसहरु गर्ने यो तत्काल पहिलो चरणको कार्यक्रम गर्ने छौं। त्यस अतिरिक्त अरु दलहरुसँग पनि बुझेर उहाँहरु कुन ढंगले आउन सक्नुहुन्छ। तालमेल गरेर जान सक्ने पनि ढोका खुला राखेका छौं,’ उनले भने।

बैठकले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्धारा प्रतिनिधि सभा विघटनको घोषणा हुनु असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै पूर्णरुपमा खारेज गरेको पनि डा. भट्टराईले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell