काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सकिएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका साथै वरिष्ठ नेता झलनाथ खनाल बल्खु पुगे। तत्कालिन नेकपा (एमाले) को पार्टी कार्यालय रहेको स्थानमा पुगेर नेताहरुले मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै ‘अभिभावन’ गरे।
केन्द्रीय कमिटी बैठकबाट वर्तमान अवस्थामा कम्युनिष्ट एकताको ऐतिहासिक आवश्यता रहेको ठहर गर्दै नेताहरु सच्चा कम्युनिष्टहरुको एकता आवश्यक छ भन्ने सन्देश दिन बल्खु पुगेको पार्टी अध्यक्ष प्रचण्डले बताए।
'सच्चा कम्युनिष्टबीच एकता'
प्रचण्डले लोकतन्त्र र गणतन्त्र विरुद्धको षडयन्त्रको रुपमा असंवैधानिक तरिकाले संसद विघटन गरिएकोले त्यस विरुद्ध कम्युनिष्ट एकता आवश्यक रहेको बताए। उनले अहिले सम्म कम्युनिष्टहरुले प्राप्त गरेका उपलब्धिका विरुद्धको षडयन्त्रको रुपमा संसद विघटन गरिएको भन्दै उनले त्यसलाई सफल हुन नदिने बताए।
भने, ‘केन्द्रीय कमिटीको बैठकबाट फेरीपनि कम्युनिष्टहरुको एकताको ऐतिहासिक आवश्यकता रहेको प्रस्ताव पारित गरेको सन्दर्भमा बल्खु स्थित पहिलाको पार्टी कार्यालयमा कमरेड मदन भण्डारीको शालिकमा माल्यार्पण गर्ने र देशभरी फेरीपनि सच्चा कम्युनिष्टहरुको एकता आवश्यक छ भन्ने सन्देश दिने उद्देश्यले हो।’
प्रचण्डले अब बल्खुमा पार्टी कार्यालय बनाउने घोषणा गर्दै भने, ‘पोहोर साल केन्द्रीय कमिटीको दोस्रो बैठकमा यो ठाउँमा राम्रो आधुनिक र सबैखाले कम्युनिष्टहरुको भाव झल्कने खालको राम्रो कार्यालय भवन बनाउने निर्णय गरिएको थियो। त्यो निर्णयलाई स्मरण गर्नको लागि पनि तेस्रो केन्द्रीय समितिको बैठक पछि हामी आएका छौं। अब कमरेड माधव नेपाल जो लामो समय सम्म यही ठाउँको पार्टी कार्यालयमा महासचिवको हैसियतले एमालेमा नेतृत्व गर्नुभयो, अहिलेको बैठकले उहाँलाई अध्यक्षमा निर्वाचित गरेको सन्दर्भ पनि यो सँग जोडिएको छ।’
प्रचण्डले संसद अप्राकृतिक र असंवैधानिक तरिकाले विघटन गरिएको भन्दै भने, ‘यो लोकतन्त्रका विरुद्ध, गणतन्त्रका विरुद्ध र अहिलेसम्म कम्युनिष्टहरुले प्राप्त गरेका उपलब्धीको विरुद्ध षडयन्त्रको रुपमा छ। यसलाई हामी सफल हुन दिन्नौं भन्ने कुरापनि हामीले पारित गरेका छौं। र यसलाई हामी सफल हुन दिन्नौ भन्ने देखाउन संकल्प दोहोर्याउन चाहेको हो।’
'एकजुट होऔं'
नेकपा प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले नेपाली जनतालाई प्रतिनिधिसभाको विघटन विरुद्धमा एकजुट हुन आग्रह गरे। प्रधानमन्त्री ओलीले चालेको कदम राजाको निरंकुश कदम जस्तै भन्दै नेपालले भने, ‘अहिले सिङ्गो राष्ट्र नै अनिश्चितताको भूमरीमा परेको छ। त्याग, तपस्या र बलिदानबाट ल्याएको संविधान,जनप्रतिनिधिहरुबाट निर्वाचित संविधानसभाबाट निर्मित नेपालको संविधानलाई कुल्चिने काम भएको छ। त्यसको प्रावधानका विपरित, भावनाका विपरित, मर्मका विपरित प्रतिनधिसभालाई विघटन गर्ने अत्यन्तै गलत कदम प्रधानमन्त्री केपी शर्मा ओलीबाट चालिएको छ। हामी त्यसलाई स्वीकार गर्ने पक्षमा छैनौं। प्रतिनिधि सभालाई कुनैपनि तानाशाही तरिकाबाट विघटित गर्न पाइदैन। यो ठिक राजाको निरंकुश कदम जस्तै अर्को प्रतिगामी कदम हो।’
नेपालले जग्गा खरिद, भवन निर्माण, केन्द्रीय कार्यालय बनाउने सवालमा आफ्नो भावना जोडिएको भन्दै नेकपाको मुलधार र मुल शक्ति आफूहरु नै भएको भन्दै गल्ती सच्याएर सबैलाई मुलधारमा जोडिन आव्हान समेत गरे।
'ओली कम्युनिष्ट नै होइनन्'
बल्खु पुगेका वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली सच्चा कम्युनिष्ट नै नभएको टिप्पणी गरे। प्रधानमन्त्रीले पार्टीको विधि र विधान नमानेको र आन्तरिक मतभेदका नाममा संसद विघटन गरेर अपराध गरेको उनको भनाइ छ।
भने, ‘मतभिन्नता पार्टी भित्र जहिले पनि हुन्छ। यो सामान्य कुरा हो। मतभिन्नतालाई नीति र विधि अनुरुप सञ्चालन गर्नुपर्छ र समस्याको समाधान गर्नुपर्छ। तर कमरेड केपी ओली वास्तवमा कम्युनिष्ट नै भईसक्नुभएको रहेनछ। उहाँले पार्टीका विधि नै मान्नुभएन। पालना गर्नुभएन। अनुशासन पनि मान्नुभएन। अनि पार्टी भित्रका मतभेदको नाउँमा संसदको विघटन गर्नुभयो। यो अत्यन्तै ठूलो अपराधको कुरा हो। संविधान विरोधी अपराध हो। लोकतन्त्र विरोधी अपराध हो। यो जनादेशको विरुद्धमा छ। जनताको भावना विरुद्ध छ। राष्ट्रहित विरुद्ध छ। वास्तविक नेकपा यही हो। आधिकारीक यही हो।हामी यसलाई नया ढंगले एकतावद्ध गर्ने र पुर्नगठन गर्ने हो।’
सम्बन्धित समाचार : संसद पुन:स्थापना गर्ने अठोट सहित सकियो नेकपाको केन्द्रीय कमिटीको बैठक, यस्ता छन् संघर्षका कार्यक्रम