PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आजदेखि ठूलो पर्दामा सिनेमा, दुई नेपाली र दुई हलिउड फिल्मले फर्काउला त दर्शक?



स्वेच्छा राउत

आजदेखि ठूलो पर्दामा सिनेमा, दुई नेपाली र दुई हलिउड फिल्मले फर्काउला त दर्शक?

काठमाडौं : सरकारले फिल्म क्षेत्र पुन: सञ्चालनमा ल्याउने अनुमति दिएको छैन। मन्त्रिपरिषद्बाट आधिकारिक निर्णय आउनुअघि नै आजबाट सिनेमाघरहरू भने सञ्चालनमा आउँदैछन्। दुई नेपाली फिल्म 'आमा' र 'सेन्टिभाइरस' ठूलो पर्दामा फेरि देखिनेछन्।

सिनेमाघर सञ्चालनको निर्णय सिनेमा हल, व्यवसायी तथा वितरकहरूको संगठन नेपाल चलचित्र संघले गरेको हो। यो प्रदर्शनलाई उनीहरुले सरकारलाई दवाव दिने आन्दोलनका रुपमा व्याख्या गरेका छन्। 'यो हाम्रो स्वघोषित निर्णय हो। यसमा सरकारको भूमिका छैन,' संघका अध्यक्ष मधुसुदन प्रधानले भने, 'हामी चलचित्र क्षेत्रलाई पनि सामान्य ढङ्गमा अघि बढाउन चाहन्छौं। त्यसैका लागि चालिएको कदम हो।'

उनले संघको कदमविरुद्‍ध कुनै पनि किसिमको हस्तक्षेप हुन नहुने पनि बताए। 'बजार, सार्वजनिक यातायातदेखि हरेक व्यापार व्यवसाय खुलिसके। तर, सिनेमा क्षेत्रको मतलव गरिएन। यो त हामी व्यवसायीसँगै फिल्म क्षेत्रमा निर्भर हजारौं कामदारमाथिको अन्याय हो,' उनले भने।

संघको यसै निर्णयमा फिल्म निर्देशक, निर्माताको ऐक्यवद्धता छ। 'हामी बेरोजगार भएको एक वर्ष पुग्न लाग्यो। सरकारको तर्फबाट न त काम गर्ने बाटो खुलाइयो न त कुनै राहत घोषणा। फिल्म क्षेत्रलाई सरकारले बिर्सेको हो कि?,' प्रश्न छ निर्देशक दीपेन्द्र के खनालको।

खनालले निर्देशित आमा छैटौं सातामा प्रदर्शन भइरहेको थियो। सकारात्मक समीक्षा र दर्शक प्रतिक्रियाका कारण दर्शक बढ्दोक्रममा नै थिए। फिल्म युनिट ५१ दिन मनाउने तयारीमा थियो। तर, कोरोना भाइरसको त्रास बढेसँगै सरकारले सार्वजनिक सभा, सम्मेलन र भिडभाड हुने ठाउँ बन्द गर्न निर्देशन दियो। यस्तो निर्णयसँगै सिनेमाघर बन्द भए, लकडाउन जारी हुनुभन्दा चार दिन अघि नै।

लकडाउनको असर नराम्ररी पर्‍यो। छायाँकन भइरहेका फिल्म युनिटहरु स्पटबाट फर्किए। प्रदर्शनका लागि प्रचारप्रसार गरिरहेका फिल्म युनिट मौन रहन वाध्य भए। फिल्मकर्मी घर भित्रै रहे। कलाकारहरू टिकटक र युट्युबमा व्यस्त। पछिल्लो समय केही कलाकार म्युजिक भिडियोमा काम गरिरहेका छन्। तर, फिल्म क्षेत्रमै निर्भर सयौं प्राविधिक एवम् कामदार भने अभावको कथासहित अघि आए। कतिले त पेशा परिवर्तन नै गर्न पुगे।

'अब त फिल्म हल असुरक्षित छ भन्नु हाँस्यास्पद् सुनिन्छ। सार्वजनिक सवारी साधनमा खुट्टा राख्ने ठाउँ छैन। पार्टी प्यालेसमा उस्तै घुँइचो,' दीपेन्द्रले भने, 'फिल्म क्षेत्रले मात्र संक्रमण फैलाउने त पक्कै होइन। हामी आवश्यक सुरक्षा मापदण्ड अपनाउन तयार छौं। बस् आफ्नै पेशालाई निरन्तरता दिन पाउनुपर्‍यो।'

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले केही बोल्नसक्ने स्थितिमा नरहेको बताए। बोर्डका तर्फबाट गत असारदेखि नै फिल्म क्षेत्र चलायामान बनाउन पहल गरेको उनको भनाइ छ। 'आवश्यक प्रस्ताव महिनौं अघि सञ्चार मन्त्रालयमा बुझाएको हुँ। प्रस्ताव मन्त्रालयबाट मन्त्रिपरिषदमा गइसकेको छ। निर्णय नहुनुको कारण भने थाहा छैन,' उनले भने।

सरकारले खोल्ने अनुमति नदिइ बोर्डले केही भन्न नमिल्ने अवस्थामा हल सञ्चालकहरू आन्दोलनरत् छन्। चलचित्र संघ तथा यस क्षेत्रका अन्य संगठनको माग सम्बोधन होस् भन्ने हिसाबमै आवाज उठाइरहेको उनले बताए। सरकारले अनुकूलता हेरी सिनेमाघर खोल्ने र छायाँकन अनुमति दिने तयारी थाले पनि कहिले घोषणा गर्छ टुङ्गो नभएको उनले सुनाए।

सिनेमाघरमा सुरक्षा मापदण्ड

यसअघि दशैं अघि नै सिनेमाघर सञ्चालनमा ल्याउने तयारी थियो। तर, सोही अवधिमा काठमाडौंमा कोरोना भाइरस संक्रमण दर र संक्रमणकै कारण मर्नेको संख्या ह्वात्तै बढ्यो। जसका कारण तत्काल कुनै निर्णय हुन सकेन।

तर, सबै क्षेत्र खुल्दा सिनेमा क्षेत्रलाई मात्र थाँती राखेको देखेपछि यस क्षेत्रसँग जोडिएका ६ वटा संगठनले आन्दोलन सुरु गरे। आन्दोलन अन्तर्गत सिनेमाघर खोल्ने कदमलाई पनि सुरक्षित तथा संयमित बनाउन जनस्वास्थ्य र विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्ड पालना गर्ने चलचित्र संघका अध्यक्ष प्रधानको भनाइ छ।

उनका अनुसार संघले ५० प्रतिशत अकुपेन्सीसहित हल सञ्चालन गर्न लागेको हो। सञ्चालनमा आउने हरेक सिनेमाघरमा स्वास्थ्यकर्मी खटाइने छ। त्यस्तै, अधिकांश हलमा शत् प्रतिशत् अनलाइन बुकिङको व्यवस्थापन गरिने छ। अनलाइन बुकिङ उपलब्ध नभएका हल र ठाउँहरूमा सामाजिक दूरी र आवश्यक परीक्षणपछि मात्र हल परिसरमा प्रवेश दिइने उनले बताए।

सामाजिक दूरी कायम गर्ने, प्रत्येक शोपछि हल डिस्इन्फेक्ट गर्ने, कर्मचारीहरूलाई पीपीइमा खटाउने लगायत विषयमा जोड दिएको उनले जानकारी दिए।

तत्काल हलसम्म दर्शक आए पनि नआए पनि उनीहरूलाई मानसिक रुपमा तयार गर्न पनि फिल्म क्षेत्र चलायामान हुनुपर्ने उनको तर्क छ।

'सुरुवाती समय दर्शकलाई स्वास्थ्य सुरक्षा प्रत्याभूति गराउँछौं। फिल्म हेर्न आउने वातावरण छ है भन्ने सन्देश स्थापित भएपछि हल सञ्चालक एवम् निर्माताहरूलाई राहत हुन थाल्छ,’ उनले भने।

हल सञ्चालनमा आउँदा व्यवसायीमात्र नभइ यस क्षेत्रमा आश्रित हजारौँ कामदार, प्राविधिक, कलाकार र फिल्मकर्मीहरूलाई ऊर्जा मिल्ने निर्देशक एवम् फिल्म वितरक प्रचण्डमान श्रेष्ठको दावी छ।

'हल खुल्नु प्रदर्शक, केही वितरक र केही निर्माता स्वार्थसँग जोडिएको विषय होइन। यस क्षेत्रको आर्थिक प्रणालीसँग जोडिएका अन्य साना-ठूला व्यापार व्यवसाय गर्नेहरू। यातायात मजदूरदेखि पप्कर्नका थोक बिक्रेतासम्म, मलको पसल साहुदेखि पानीपुरी बिक्रेतासम्मलाई सुदृढ हुन बल पुग्ने कदम हो,' श्रेष्ठले भने।

आजैबाट पुन: प्रदर्शनमा आउने 'सेन्टिभाइरस' निर्माता सीताराम कट्टेल पनि हल खुल्ने विषयमा खुशी छन्। लकडाउन घोषणा हुनुअघिसम्म प्रदर्शनरत् थियो उनको फिल्म।

'सुरक्षाका सम्पूर्ण नियम पूरा गर्दै फिल्म देखाइन लागेको हो। दर्शकहरू हलसम्म पुग्ने विषयलाई लिएर आशावादी छु,' उनले भने। व्यवसायिक रुपमा प्रभावित फिल्मको नाफा रकम निर्माणाधीन गौतमबुद्ध रंगशाला निर्माणका लागि खर्चने घोषणा समेत गरेका छन् उनले।

क्यूएफएक्समा दुई नेपाली र दुई हलिउड फिल्महरू 'ब्लड सट' र 'द इन्भिजिबल म्यान' गरी चार फिल्म देखाइँदै छ। क्यूएफएक्सका प्रमुख कार्यकारी निर्देशक रोशन अडिगाका अनुसार दर्शक कति आउँछन् र कसरी अघि बढ्ने टुंगो नभएका कारण सीमित कर्मचारीलाई हलमा खटाइएको छ।

'स्वास्थ्य सुरक्षा नीति अपनाउन पनि सबै कर्मचारीलाई फर्काइएको छैन। आवश्यकता अनुसार थप्दै जान्छौं। हाल दर्शकका लागि हल खुला हुनु नै महत्वपूर्ण विषय हो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell