PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बालसाहित्य समाजमा चुनावी रन्को : अध्यक्षमा ध्रुव र केदारको दाबी, महासचिवमा विजयराज र यशुको उम्मेद्वारी



बालसाहित्य समाजमा चुनावी रन्को : अध्यक्षमा ध्रुव र केदारको दाबी, महासचिवमा विजयराज र यशुको उम्मेद्वारी

काठमाडौं : नेपाल बालसाहित्य समाजको नेतृत्वका लागि डा ध्रुव घिमिरे र केदार श्रेष्ठको उम्मेद्वारी परेको छ। शनिवार दिउँसो समाजको कार्यालयमा दुबैले उम्मेद्वारी दर्ता गरेका हुन्।

यसअघिको कार्यसमितिमा महासचिव रहेका घिमिरेले यसपटक नेतृत्वको दाबी गरेका हुन्। घिमिरे प्राध्यापक एवं कथावाचक समाजका अध्यक्ष हुन्। यता श्रेष्ठ भने थिएटर मलका अध्यक्ष एवं बाल रंगमञ्चको विकास र उन्नयनमा सक्रिय थिएटर सेन्टर फर चिल्ड्रेनका नेपालका संस्थापक तथा कला निर्देशक हुन्। दुबै जना बाल साहित्यमा सक्रिय हुन्। बालसाहित्य उन्नयनका नेतृत्वमा दाबी गरेको दुबै अध्यक्षले बताएका छन्। घिमिरे पाका व्यक्ति हुन् भने श्रेष्ठ युवा पुस्ताबाट।

श्रेष्ठले समाजमा विकृति रहेको र उक्त विकृति हटाउने उल्लेख गर्दै युवाको नेतृत्व हुनेपर्ने दाबी पेश गरेका छन्।

यता उपाध्यक्षमा प्रमोद प्रधान र कृष्णदीप सिग्देलको उम्मेद्वारी परेको छ। प्रधान वाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष हुन् भने सिग्देल कथावाचक समाजका उपाध्यक्ष। प्रधान र सिग्देल दुबै बाल साहित्यमा सक्रिय छन्।   

महासचिवमा विजयराज आचार्य र यशु श्रेष्ठको उम्मेद्वारी परेको छ। विजयराज वाल वाङ्मय तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष हुन् भने यशु कथावाचक समाजका महासचिव। यशु यसअघि बाल साहित्य समाजमा सचिवमा दोहोरिएका थिए। विजयराज र यशु दुबै जना बाल साहित्यमा सक्रिय छन्।

यता सचिव पदका लागि सूर्य बीसी र डा यादवी ढकालको उम्मेद्वारी परेको छ। दुबै जना बाल साहित्यमा सक्रिय छन्।

कोषाध्यक्षमा भने राजेन्द्रभक्त जोशीको एकल उम्मेद्वारी परेको छ। उनी यसअघिको कार्यकालमा पनि सोही पदमा थिए। एकल उम्मेद्वारी परेसँगै जोशी निर्विरोध निर्वाचित भएका छन्।

६ जना सदस्यका लागि ११ जनाको उम्मेद्वारी परेको छ। सदस्यमा उद्वव प्याकुरेल, एकाराम सिं, कृष्णराज सर्वहारी, मञ्जु ज्ञवाली, लालबहादुर भुजेल, विष्णुकुमार खत्री, शशी थापा, शान्ति सापकोटा, सजनी नौबागे, समन श्रेष्ठ र सुशीला प्रधानङ्गको उम्मेद्वारी परेको निर्वाचन समितिका संयोजक मातृका पोखरेलले जानकारी दिए।

कोषाध्यक्षबाहेक सबै पदमा निर्वाचन हुने देखिएको उनले बताए। 'आज नोमिनेसन भयो। कोषाध्यक्ष निर्विरोध छ। १४ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुन्छ। तैपनि कोषाध्यक्षबाहेक अरु पदमा प्रतिस्पर्धा हुने देखियो। यसले बाल साहित्यमा चासो रहेछ भन्ने देखाउँछ,' पोखरेलले भने।

१९५ जना आजीवन सदस्यले मतदानमा भाग लिने निर्वाचन समितिले जनाएको छ। मतदान माघ ३ गते काठमाडौंको बागबजारस्थित केन्द्रीय कार्यालयमा हुने निर्वाचन समितिका संयोजक पोखरेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell