PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रदेश २ मा नेकपा : प्रादेशिक र जिल्ला कार्यालयमा दाहाल–नेपाल समूहको दावी



सुमित मिश्र

प्रदेश २ मा नेकपा : प्रादेशिक र जिल्ला कार्यालयमा दाहाल–नेपाल समूहको दावी

जनकपुरधाम : प्रतिनिधिसभा विघटनसंगै विभाजन उन्मुख नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यालयहरु तथा सम्पतिका लागि केन्द्रदेखि जिल्ला तहसम्म विवाद चलिरहेको छ।

नेकपाको ओली समूह र दाहाल–नेपाल समूह बीच पार्टीको सम्पति तथा कार्यालयका लागि विवाद चलिरहेको समयमा दाहाल–नेपाल समूहले धनुषामा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ।

दाहाल–नेपाल समूहको केन्द्रीय सर्कुलर अनुसार जिल्ला जिल्लामा भेला गर्ने कार्यक्रम अनुरुप धनुषामा समेत अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको केन्द्रीय सदस्य श्रवण बरबरिया(यादव)ले जानकारी दिए।

दाहाल–नेपाल समूहले प्रदेश २ स्थित जनकपुरधाममा रहेको पार्टीको प्रादेशिक कार्यालयमा आफ्नो दावी राख्दै सोही कार्यालयमा भेलाको आयोजना गरेको हो। ठाउँ ठाउँमा पार्टी कार्यालय कब्जा गर्ने विषयलाई विवाद चलिरहेको समयमा प्रदेश २ मा अहिलेसम्म त्यस्तो अवस्थाको श्रृजना नभएको केन्द्रीय सदस्य बरबरियाले दाबी गरे। ओली समूह प्रदेश २ मा कमजोर भएकै कारण त्यस्तो अवस्था नाआएको हुन सक्ने कतिपय दाहाल–नेपाल समूहका कार्यकर्ताले टिप्पणी गर्छन्।

प्रदेश २ मा कुल ७० केन्द्रीय सदस्य रहेकोमा ४२ जना दाहाल–नेपाल समूहमा रहेको बरबरिया बताउँछन्। ‘नेकपाको एक तिहाइको एक भाग मात्रै ओली समूहमा रहेकोले हामीहरुको स्थिति बलियो छ,’ बरबरियाले दावी गरे, ‘केन्द्रमा पनि ३ सय १५ जना हामीहरुकै पक्षमा छन्। यस हिसाबले पनि आधिकारीक पक्ष हामीहरुकै हो।’

बरबरियाले जनताको पार्टी हाम्रो पक्षमा रहेको दाबी गर्दै ओली समूहको पार्टी नै नरहेको दावी गरे। उनले भने, ‘यस हिसाबले जनकपुरधाममा रहेको प्रादेशिक कार्यालय र जिल्ला कार्यालय दुवै कार्यालयमा हामीहरुकै दावी रहेको छ।’

यता नेकपाको दाहाल–नेपाल समूहका प्रदेश समिति सदस्य झल्कु यादवले पनि जिल्ला तथा प्रदेशको दुबै पार्टी कार्यालय आफूहरुले प्रयोग गर्ने बताए। प्रदेश २ मा आफूहरुकै बहुमत रहेकोले कार्यालयमाथि पनि अधिकार रहेको उनको भनाई थियो। नेता झल्कुका अनुसार धनुषा जिल्लाबाट प्रतिनिधित्व गर्ने १५ केन्द्रीय सदस्यहरुमध्ये ११ जना दाहाल–नेपाल समूहमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell