PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रधानमन्त्री ओलीको कदमले संविधान अपूर्ण रहेको प्रष्ट गर्‍यो : मन्त्री सोनल



सुमित मिश्र

प्रधानमन्त्री ओलीको कदमले संविधान अपूर्ण रहेको प्रष्ट गर्‍यो : मन्त्री सोनल

जनकपुरधाम : प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमपछि यो संविधान अपूर्ण रहेको कुरा प्रष्ट भएको दावी गरेका छन्।

जनता समाजवादी पार्टीले जनकपुरधाममा आयोजना गरेको बृहत विरोध सभाको कोणसभालाई सम्बोधन गर्दै मन्त्री सोनलले प्रधानमन्त्री ओली स्वयंले संविधान अधुरो रहेको प्रमाणित गरेको बताए।

प्रतिनिधसभा विघटन गरेर पूरै मुलुककै जनताको भविष्यसँग खेलवाड गरिएको जिकिर गर्दै उनले यस विरुद्ध सबै प्रजातान्त्रिक शक्ति एक भएर लड्नु आवश्यक रहेको बताए।

‘दुई भाईबीचको विवाद, पार्टी भित्रको आन्तरिक किचलोका कारण पूरै देशलाई बन्धक बनाउनु अनुचित हो’, मन्त्री सोनलले भने, ‘भाई-भाईबीचको लडाइँका कारण पूरै देशलाई नै प्रधानमन्त्री ओलीले अन्यौलतामा धकेलेका छन्।’

मन्त्री सोनलले नेपाली जनताले आशा भरोसाका साथ कम्युनिस्ट पार्टीलाई दुई तिहाई बहुमत दिएको थियो तर नेपाली जनताको आशा भरोसामाथी कुठाराघात भएको बताए। उनले प्रधानमन्त्री ओली, नेता प्रचण्ड र माधव नेपालबीचको विवादलाई लिएर देशमा हजारौँको रगत बगाएर ल्याइएको संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई दाउमा लगाउनु कति उचित छ? भन्दै प्रश्न समेत गरे।

उनले भने, ‘यदि कम्युनिस्टहरु साँच्चै सरकार चलाउन असक्षम थिए भने मधेशी नेताहरु समक्ष सरकार चलाउनलाई अनुरोध गर्नु पर्थ्यो न कि जनप्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन।’

मन्त्री सोनलको नेतृत्वमा जनकपुरधाममा निकालिएको विरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell