PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

एक किशोरमा देखिएको अनौठो रोग जसलाई खुट्याउँदै जाँदा देखियो लुकेको कोरोना



स्वेच्छा राउत

एक किशोरमा देखिएको अनौठो रोग जसलाई खुट्याउँदै जाँदा देखियो लुकेको कोरोना

गत साताको सुरुवातमा, ओम अस्पतालमा १५ वर्षीय किशोर भर्ना भए। ज्वरो आएको ४ दिन पछि उनलाई अस्पताल ल्याइएको थियो। उनका आँखा र ओठ राता भएका थिए। अड्न नसक्ने गरी गलेका थिए उनी। बिस्तारै उनको स्वास प्रस्वासमा पनि समस्या देखियो। र, मुटुको समस्याका लक्षणहरू पनि देखिए।

अक्सिजन लगाउँदा पनि स्वास्थ्यमा सुधार नदेखिएपछि सास नलीमा पाइप राखेर भेन्टिलेटरको सहारा दिनुपर्‍यो उनलाई। स्वास्थ्य स्थिति एकदमै चाँडो बिग्रदो थियो। त्यसमाथि रोग पहिचान नहुनुले परिवारका साथै डाक्टरहरूमा तनाव थपेको थियो। किनकि उनको कोभिड-१९ सहित अन्य संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आइसकेको थियो। कुनै पनि एन्टिबायोटिकले काम गरिरहेको थिएन।

फोक्सोको सिटी स्क्यान गर्दा उनमा निमोनिया देखियो। जाँच गर्दा मुटुको आकार पनि साविकभन्दा ठूलो देखायो। संक्रामक रोग विशेषज्ञले किशोरमा देखिएको समस्या संक्रामक रोग सम्बन्धित नभएको बताए।

त्यसपछि ओम अस्पतालका बाथजन्य रोगका डाक्टरले ‘भास्कुलाइटिस’ भएको अनुमान गरे। लगत्तै किशोरबारे जानकारी दिँदै डाक्टर धर्मागत् भट्टराईलाई अस्पतालले डाक्यो। भट्टराई बाल रोग प्रतिरोध तथा बाथजन्य रोग विशेषज्ञ (इम्यूनोलोजिस्ट एवं र्‍यूमाटोलोजिस्ट) हुन्।

डाक्टर धर्मागतले किशोरको स्वास्थ्य अवस्थाको ‘हिस्ट्री' लिए।

उनले जाँच्दासम्म किशोरको शरीरको इन्फ्लामेसन इन्डेक्स (सुजन सूचकांक) निकै उच्च देखिएको थियो। गत अप्रिलदेखि जुनसम्ममा उनले पीजीआइ चण्डिगढमा १२ जना बालबालिकाको उपचार गरेका थिए। उनीहरूमा ठ्याक्कै ओम अस्पतालमा उपचाररत् किशोरमाजस्तै लक्षण देखिएको थिए। ती केसहरूमा पेडियाट्रिक मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रम (पीएमआइएस) नामक नयाँ रोग पहिचान भएका थिए।

रोयल कलेज अफ फिजिसियनले तय गरेको पीएमआइएसको लक्षणहरू किशोरमा पनि मिल्दो थियो। विश्व स्वास्थ्य संगठनले पीएमआइएसका लागि तय गरेको मापदण्ड पनि मेल खायो।

डाक्टर भट्टराईले तत्काल ती किशोरमा कोभिड-१९ को एन्टिबडी परीक्षण गर्न लगाए। एन्टिबडी जाँचको नतिजा भने पोजेटिभ देखियो। अर्थात् ती किशोरलाई थाहै नपाइ कोभिड-१९ को संक्रमण भइसकेको रहेछ।

र, सोही अनुरुप आवश्यक उपचार सुरु भयो।

'बिरामी कोमामा गइसकेका थिए। मुटु राम्ररी चल्न नसकेको अवस्था थियो। त्यसैले उसको आमाबुबालाई शत् प्रतिशत् बचाउने आश्वासन दिइँन। प्रष्टसँग भनेँ 'समस्या ढिला पत्ता लाग्यो। तर, म सकेको उपचार गर्छु', डाक्टर भट्टराईले सुनाए।

औषधि सुरु गरियो। दुई लाख बराबरको औषधि खपत भयो। औषधि परेको ठीक दुई दिनमा किशोर भेन्टिलेटरबाट बाहिर निस्किए। हाल उनलाई अक्सिजनको सहायतासमेत आवश्यक नभएको दाबी गर्छन् डाक्टर भट्टराई।

'कोभिड-१९ त लक्षणबिना लाग्यो। ठीक भयो। तर, त्यसले शरीरका अन्य भागमा पारेको असरले ती बिरामीलाई निकै अप्ठ्यारो स्थितिमा पुर्‍यायो। कोभिडको असर पक्कै लामो समय रहन्छ,' डाक्टर भट्टराईले भने, 'त्यसैले बालबालिका वा किशोर किशोरीले कोभिड-१९ विरुद्ध सहजै लड्न सक्छन् भन्ने सोच त्याग्न आवश्यक छ।' उनले पीएमआइएसले गम्भीर समस्या निम्त्याउने संकेत गरे।

के हो त पीएमआइएस?

कोभिड-१९ सम्बन्धी भएका सुरुवाती अध्ययनहरूले बालबालिकाले कोभिड-१९ सँग सहजै लड्न सक्ने देखाएको थियो। संक्रमित बालबालिकामा सामान्य लक्षणहरू देखिने र ठीक हुने, साथै संक्रमितको मृत्युदरमा बालबालिकाको संख्या निकै न्यून हुनुले पनि यसको पुष्टि गरिरहेको थियो।

विश्व स्वास्थ्य संगठनले गर्भवती महिलामा कोरोना भाइरसको संक्रमण देखिए पनि त्यसले बच्चालाई असर नगर्ने जनाएको थियो। संक्रमित महिलाले पनि 'नर्मल डेलिभरी' गराउन सक्छिन्। र, संक्रमित आमाले नवजात शिशुलाई आवश्यक सुरक्षा उपकरणको प्रयोगमा स्तनपान समेत गराउन समेत सक्ने भनेपछि बालबच्चामा कोरोना भाइरसको जोखिम कम छ भन्ने बुझाइ स्थापित थियो।

तर, हाल कोभिड-१९ ले बालबालिकामा पनि थाहा नदिइ दीर्घकालीन वा गम्भीर किसिमको असर पार्ने देखिएको छ। उनीहरूमा संक्रमण भइरहँदा वा संक्रमणमुक्त भएलगत्तै प्रतिरोधात्मक रोग निम्तिएको देखियो।

पहिलो पटक सन् २०२० को अप्रिलमा बेलायतमा बालबालिका वा किशोर किशोरीको स्वास्थ्यमा कोभिड-१९ पछि बहुप्रणालीगत् समस्याहरू देखिएको थिए। त्यसपछि कोरोना भाइरस संक्रमितको संख्या उच्च भएका अन्य देशहरूमा पनि उस्तै प्रकृतिको समस्या पहिचान भएको बताउँछन् डाक्टर धर्मागत।

'तीमध्ये धेरै बालबालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका थिएनन्। तर, समस्या बढ्दै जाँदा आइसीयूमै राखेर उपचार गर्नुपर्थ्‍यो। र अधिकांशमा कोरोना भाइरसको एन्टिबडी भने पोजेटिभ देखियो,' उनले भने, 'प्रायमा उही लक्षण, शरीरका धेरै भाग वा प्रणालीहरू सुन्निएको हुन्थ्यो।'

कोभिड-१९ पछिमात्र देखिएको यस रोगले बहुप्रणालीमा असर गर्ने भएकैले पेडियाट्रीक इम्युनोलोजिस्ट र पेडियाट्रीक र्‍युमाटोलोजिस्टहरूको संयुक्त विश्लेषणपछि यस रोगको नाम ‘पेडियाट्रीक मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रम’ नाम दिएको डाक्टर भट्टराईले बताए।

कोभिड-१९ विरूद्ध शरीरले देखाउने इम्युन प्रतिक्रिया असन्तुलित हुँदा देखिने यस रोगलाई मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रम इन चिल्ड्रेन 'एमआइएस-सी' पनि भनिएको छ।

प्राय ५ वर्षमाथिका बालबालिकादेखि किशोरकिशोरीमा पीएमआइएसका देखिएको डाक्टर भट्टराईको बुझाइ छ।

सुरुमा युरोप र अमेरिकामा देखिएको यस रोगबारे भारत लगायत अन्य दक्षिण एसियाली देशमा गत जुन/जुलाईमा नै चर्चा भएको थियो। बालबालिकाहरूको 'रहस्यमयी मृत्यु' भन्दै खबरसमेत सार्वजनिक भएको थियो त्यतिखेर। नेपालमा भने हालसम्म यो रोग हुन्छ भन्नेबारे उचित जानकारी नै छैन। तर काठमाडौं भित्रै यस रोगका बिरामीहरू देखिन थालेका छन्।

'थाहा नदिइ आक्रमण गर्ने भएकाले सामान्य लक्षण देखिएको अवस्थामै बालबालिका वा किशोरकिशोरीमा कोरोना भाइरसको परीक्षण गरिन आवश्यक छ,' डाक्टर भट्टराईले भने, 'लक्षण देखिँदा देखिँदै पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको खण्डमा एन्टिबडी टेस्ट गरिनुपर्छ।'

त्यसैले यस स्वास्थ्य समस्याको उपचारको पहिलो प्रक्रिया नै कोरोना भाइरसको एन्टीबडी टेस्ट र इन्फ्लामेसन अर्थात् सुजनको सूचक परीक्षण भएको उनको भनाइ छ।

यस्ता छन् पीएमआइएसका लक्षण

बालबालिकाका शरीरका आँखा, ओठ, जिब्रोलगायत अंगहरू राता हुनु र सुन्निनुले पीएमआइएस शंका गर्ने ठाउँ दिन्छ। त्यस्तै कोरोना भाइरस संक्रमणका अन्य लक्षणहरू अर्थात् अत्याधिक ज्वरो आउनु, शरीर थाक्नु वा आलस्य हुनु, चिड्चिडाहट बढ्नु आदि हो। सम्भावित पीएमआइएसका बिरामीहरूको शरीरमा राता दाग वा डाबर समेत देखिएका छन्। बिरामीलाई स्वासप्रस्वासमा समेत समस्या हुन्छ। टाउको अत्याधिक दुख्नु, खोकी लाग्नु, पेट दुख्नु, झाडापखला लाग्नु, घाँटी दुख्नु पनि अन्य लक्षण हुन्।

'बिरामीको रोग प्रतिरोधात्मक क्षमता अनुरुप यसका लक्षणहरू फरक देखिन सक्छन्,' डाक्टर भट्टराईले भने, 'यो सरुवा रोग भने होइन। त्यसैले कोभिड-१९ संक्रमण हुँदाजस्तो बिरामीलाई अलग्गै राखेर उपचार गर्न आवश्यक छैन।'

पहिचान हुन ढिला भएसँगै यसको उपचार भने जटिल र महङ्गो हुँदै जान्छ।

त्यसैले निरन्तर २४ घण्टाभन्दा बढी शरीरको तापक्रम उच्च भएमा वा स्वासप्रस्वासमा समस्या देखिएपछि बिरामीलाई अस्पताल पुर्‍याउन आवश्यक छ। त्यस्तै शरीरमा अस्वभाविक दाग वा सुजनसहित माथि उल्लेखित कुनै पनि लक्षण देखिएमा उपचार अनिवार्य बन्छ।

पीएमआइएसले शरीरको कुन अंग वा प्रणालीमा असर गर्छ टुंगो हुँदैन। त्यसैले मुटुसँगै, फोक्सो वा मिर्गौला सम्बन्धी समस्याको लक्षण देखिएमा पनि सतर्क रहनुपर्छ।

जति चाँडो उपचार भयो, त्यति नतिजा राम्रो हुने भएकाले जटिलता नहुँदै निदान गर्न सके हामीले बालबालिका तथा किशोर/किशोरीलाई यो खतरनाक रोगबाट बचाउन सकिन्छ।

यसले पार्नसक्छ दीर्घकालीन असर

इम्युन प्रतिक्रिया असन्तुलित हुँदा देखिने पीएमआइएस, समयमा पहिचान नहुँदा ललितपुरका १५ वर्षीय किशोर मृत्युको मुखमा पुगेर फर्किए। 'ढिला भए पनि उनको शरीरमा औषधि उपचारको प्रभाव राम्रो देखियो। तर, असरहरू छाल जसरी फर्कन् सक्छन्। त्यसका लागि सतर्क रहनुपर्छ। किनकि समयमा उपचार नहुँदा दीर्घकालीन असरहरू पनि उत्तिकै देखिन्छन्,' डाक्टर धर्मागतले भने।

यस रोगले बालबालिकाको स्वासप्रस्वासदेखि मुटु र मस्तिष्कमा गम्भीर असर पार्ने उनको तर्क छ। जति चाँडो उपचार प्रकिया अघि बढायो त्यति चाँडो निदान उनले बताए।

को हुन् डाक्टर धर्मागत् भट्टराई?

डाक्टर धर्मागत भट्टराई नेपालको पहिलो पेडीयाट्रिक इम्युनोलोजिस्ट एवं र्‍यूमाटोलोजिस्ट अर्थात् बाल रोग प्रतिरोध तथा बाथजन्य रोग विज्ञ हुन्। उनले भारतको पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च (पीजीआइ), चण्डिगढबाट डीएम गरेका हुन्। उनले त्यहीँबाट पेडीयाट्रिक विषयमा एमडी गरेका हुन्।

क्लिनिकल इम्युनोलोजी मानिसको शरीरको रोग प्रतिरोधात्मक प्रणाली अध्ययन गर्ने शास्त्र हो। त्यस्तै पेडीयाट्रीक र्‍यूमाटोलोजी बालबालिकाको बाथजन्य रोग सम्बन्धी विज्ञान हो। यसले इम्युन-डीसरेगुलेसनका कारण शारीरिक प्रणालीमा सिर्जना हुने समस्या र तिनमा निहित अङ्गहरुको बिरामीको विज्ञान हो।

दक्षिण एसियाली देशमध्ये पेडीयाट्रिक क्लिनिकल इम्युनोलोजी एवं र्‍यूमाटोलोजीमा डीएम गराइने पीजीआइ चण्डिगढ पहिलो शैक्षिक संस्था हो। जसका कारण भारतमा क्लिनिकल इम्युनोलोजी एवं र्‍यूमाटोलोजीबारे दशक अघि नै उपचार साथै सचेतना बढ्यो।

'तर, नेपालको हकमा चिकित्सा क्षेत्रकै लागि पनि यो नौलो विषय हो। म यसै क्षेत्रमा काम गर्छु भन्ने उद्देश्यले नेपाल आएको हुँ', डाक्टर भट्टराईले पहिलोपोस्टसँग भने।

नेपालमा व्याप्त – बालबालिकालाई बाथजन्य रोग लाग्दैनन् र बाथजन्य भनेकै जोर्नी सम्बन्धी समस्या हो भन्ने भ्रम चिर्न चाहन्छन्। र, यस बाथजन्य रोगसँग जोडिएका अन्य समस्या निदानमा सक्रिय रहन चाहन्छन्। डाक्टर भट्टराईले हाल ओम अस्पतालमार्फत् बिरामीहरूलाई सेवा दिइरहेका छन्।

'हालसम्म समस्या पहिचान नभएका र उपचारका लागि भारत जान तयार तीन बिरामीको उपचार सुरु गरेको छु। अब कोही पनि नेपालमा उपचार नपाएकै कारण बाहिर जान नपरोस् भन्नु मेरो प्रमुख लक्ष्य हो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell